भक्तपुर–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुख बाहेक अन्य महत्वपूर्ण पदमा जान सक्ने गरी संविधान संशोधनको तयारी भइरहेको जनाएका छन्। रफत सञ्चार क्लबले बुधबार गरेको साक्षात्कारमा मधेसमा दुई प्रदेशसहित बिभिन्न मागलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी भइरहेको जनाए।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच अबको तीन महिनाभित्र एकीकरण हुने उनले जनाए। उनले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डासहित पार्टी एकीकरण हुन लागेको जनाए। पार्टी एकीकरणसँगै पदीय बाँडफाँड समेत मिलिसकेको भन्दै आफू निर्देशन समितिको राष्ट्रिय अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष कमल थापा निर्देशक समितिको निर्णय कार्यान्वयन गर्ने पार्टी अध्यक्ष बन्ने उनले जनाए।
जबराले पुरानै संरचना अनुरुप स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै यसो नगरे स्थानीय निकायको निवार्चन नहुने ठोकुवा गरे । उनले स्थानीय निकायको निर्वाचनपछि मात्र स्थानीय तहको पुर्नसंरचना गर्नुपर्नेमा जोड दिए । पुनर्निर्माणलाई गति दिन पुननिर्माण प्राधिकरण प्रमुख परिवर्तन आवश्यक रहेको उनको जोड छ ।
प्रकाशित: १ मंसिर २०७३ ०८:५१ बुधबार