५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

छठसम्म संविधान संशोधन नभए समर्थन फिर्ताः अध्यक्ष यादव

काठमाडौं– संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाललाई अवसर भएको भन्दै त्यतिबेलासम्म संविधान संशोधन नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।

मोर्चाले अहिले नै सरकारलाई कुनै अल्टिमेटम नदिएको दाबी गर्दै अध्यक्ष यादवले भने, ‘हामीले सरकारलाई अल्मिटेम दिएका छैनौं, प्रधानमन्त्री स्वयम्ले नै संविधान संशोधनको लागि छठसम्मको म्याद तोक्ने काम गर्नुभएको छ, हामीले तोकेका छैनौं, तर उहाँ छठसम्म पनि उहाँले गर्नुभएन भने हामी गठबन्धनको बैठक बसेर यसबारेमा निर्णय गर्छौं।’

शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै यादवले प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर धेरैपटक मिति घोषणा गरे पनि अहिलेसम्म संशोधन प्रक्रिया नै अघि नबढाएकोले यसपटक भने छठ अन्तिम मिति होस् भन्ने कामनासमेत गरे।
‘बकबक बोलेर मात्रै हुँदैन, उनले बोले बमोजिम छठ अब अन्तिम मिति होस्, यो राज्यले मौका नगुमाओस्,’ उनले भने, ‘हामीले मुलुकलाई निकास दिनको लागि नै तीन बुँदे सम्झौता गरेका थियौं।’

यद्यपी यादवले मधेशी मोर्चासँग काँग्रेस र नेकपा माओवादी केन्द्रले गरेको तीन बुँदे सम्झौता अहिलेसम्म पूरा नभएको गुनासो पोखे। उनले सरकारले अहिलेसम्म मन्त्रिपरिषद्को बैठकबाट गर्न सक्ने सामान्य काम समेत नगरेको आरोप लगाए।
पछिल्लो समय संविधान संशोधन, महाअभियोगको प्रस्ताव, चुनावलगायतका विषयहरु प्याकेजमै गर्नेबारे चर्चा भएको उल्लेख गर्दै यो प्रस्तावलाई मोर्चाले पहिल्यै नै अस्विकार गरिसकेको बताए । उनले भने, ‘यो प्रस्ताव धेरै पुराना कुरा हो, यसलाई गठबन्धनले पहिले नै अस्विकार गरिसकेको छ।’

उनले मधेशी, आदिवासी, जनजाति, थारु, महिला, अल्पसंख्यकलगायतका अधिकार स्थापित गर्नको लागि संविधान संशोधन अनिवार्य भएकोले त्यतातिर सरकारले विलम्ब नगरीकन कामकारवाही अघि बढाउनुपर्ने बताए। यादवले थपे, ‘तर किस्तामा गर्ने कुरा हामीलाई स्विकार्य छैन, हामी मान्दैनौं।’

अब के गर्ने भन्ने कुरा सरकारको हातमा भएको उल्लेख गर्दै यादवले भने, ‘मुलुकलाई निकास दिने कुरा अब सरकारको हातमा छ, हामीले त धैर्यता देखाईरहेका छौं ।’ उनले संविधान संशोधनको नाममा संशोधन हुने कुरा अब आफुहरुलाई मान्य नहुने समेत चेतावनी दिए ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने हल्लामा कुनै सत्यता नभएको उनको दाबी थियो । ‘छठसम्म पनि संविधान संशोधन भएन र महाअभियोगको प्रस्ताव देखाएर ओझेलमा पार्ने काम भयो भने हामी आन्दोलनमा जान्छौं, तर त्यो भन्दा पहिले गठबन्धनको बैठक बस्छ, बैठकले नै निर्णय गर्छ।’ यद्धपी उनले आन्दोलनमा गैसकेपछि सरकारलाई दिएको  समर्थन स्वतः फिर्ता हुने स्पष्ट पारे ।

प्रकाशित: १२ कार्तिक २०७३ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App