८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

जनयुद्धमा ज्यान गुमाएकालाई राष्ट्रिय शहिद घोषणा गर्छौं: प्रधानमन्त्री दाहाल

गोरखाको बारपाक सुलिकोट स्थित ताकुकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाल।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकालाई राष्ट्रिय शहिद घोषणा गरिने बताएका छन्।

शहिद दिलबहादुर रम्तेलको २८ औँ स्मृती दिबसको अवसरमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रममा उनले भने ‘जनयुद्ध र जनआन्दोलनका सबै शहिदहरुलाई राष्ट्रिय शहिद घोषणा गरेर राजपत्रमा प्रकाशित गर्ने सोच बनाएको छु।’ यो पनि उनीहरुप्रतिको सम्मान हुने उनले बताए।  

२०६४ सालमा प्रधानमन्त्री हुँदा राष्ट्रिय शहिद घोषणा गरेपनि राजपत्रमा प्रकाशित नभएको बताउँदै उनले त्यतीबेलाको माईन्यूट खोजेर पत्ता लागेपछि राजपत्रमा नामावली प्रकाशित गरिने बताए।  

त्यसअघि प्रधानमन्त्री दाहालले भने, 'अहिले पहिलो पटक फागुन १ गतेलाई जनयुद्ध दिबस मनाउने भनेर नेपाल सरकारबाट निर्णय भएको छ शहिद, बेपत्ता योद्धा प्रति यो एउटा सम्मान हो।’

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित विधेयक पारित भएपछि शहिद तथा बेपत्ता, घाइतेहरुलाई परिपुरण दिन, बालबच्चाको भरण पोषण, स्वास्थ्य उपचारको ब्यवस्थाले केही मलम पट्टी लाग्ने उनले बताए।

‘पहिल्यै हुनुपथ्र्यो,सपना ढिलै भएपनि पुरा हुँदैछ’ प्रधानमन्त्री दाहालले भने ‘ढिलै भएपनि प्रक्रिया अघि बढ्दैछ, यसको नेतृत्वगर्ने अवसर मेरै पालामा अहिले प्राप्त भएको छ, देशभरीका युद्ध पीडितका लागि यो खुसीको कुरा हो।’

गोरखाबाट निर्वाचित भएर प्रधानमन्त्री भएपछि यस ठाउँका जनतालाई पहिलो पटक भेट्न पाएकोमा खुसी बाँड्दै उनले चुनावी अभियानका क्रममा गरिएको बाचा पुरा गर्ने आश्वासन दिए।  

सडक कालोपत्रे गर्ने, बूढीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउने, बेनिघाट—लार्के सडक निर्माण गर्ने, उत्तर दक्षिण करिडोर, पालुङटार एरपोर्ट संचालन, रबर उद्योग संचालन लगायतका विषय आफुलाई स्मरण भइरहेको उनले बताए।

‘जिल्लाभरका सबै पालिका प्रमुखहरु, जनप्रतिनिधिहरुलाई तत्काल गर्नुपर्ने काम, मध्येकालीन र दिर्घकालीन ठुला परियोजना के मा ध्यान दिनुपर्छ ति परियोजनालाई लिपिवद्ध गरेर ल्याउनुभयो भने गोरखा जिल्लालाई ठुलो अवसर छ’ प्रधानमन्त्री दाहालले भने। यस्तो अवसर सँधै प्राप्त नहुने बताउँदै उनले सबैले मिलेर यो अवसरको सदुपयोग गर्नुपर्ने बताए। प्रधानमन्त्री, उपप्रधानमन्त्री गोरखाकै भएको स्मरण गराउँदै उनले यस्तो बताएका हुन्।

आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा दुई महिना नबित्दै सुधारको संकेत देखिएको दावी उनले गरे। केही ठूला परियोजना र शुसासन मार्फत प्रधानमन्त्रीको तेस्रो कार्यकाल इतिहासमा सम्झने खालको गर्न लागेको उनले बताए।  

बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा दिलबहादुर रम्तेलका आमा चरिमाया रम्तेल र बुबा सेते रम्तेल लगायत परिवारलाई प्रधानमन्त्री दाहालले दोशल्ला ओढाएर सम्मान गरेका थिए। २०५२ साल फागुन १४ गते १० वर्षको उमेरमा नेपाली सेनाले चलाएको गोली लागेर मृत्यू भएको थियो। सुर्यज्योती माविका शिक्षक बिरबहादुर गुरुङलाई नेपाली सेनाले गिरफ्तार गरेपछि विद्यार्थीले प्रर्दशन गरेका थिए। उक्त प्रर्दशनमा प्रहरीले गोली चलाउँदा रम्तेलको मृत्यू भएको थियो।

माओवादीले दिलबहादुर रम्तेललाई प्रथम शहिदको रुपमा सम्मान गर्दै आएको छ।  

प्रकाशित: १४ फाल्गुन २०७९ ०८:२१ आइतबार

पुष्पकमल दाहाल