प्रमुख राजनीतिक दलहरू बिहीबार रातिसम्म नयाँ राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने ठोस समझदारीमा पुग्न सकेका छैनन्। एमालेको समर्थनमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै बनेको नयाँ सत्ता गठबन्धनमा अविश्वास चुलिए पनि अर्को समीकरण बन्न सकेको छैन।
नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच बुधबार साँझ भएको भेटमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघिकै पाँच दलीय गठबन्धन ब्युँताउने समझदारी बनेको दाबी गरिएको थियो। अन्य दलहरूसँगको छलफलपछि बिहीबार साँझ बस्ने पाँच दलको बैठकमा नयाँ सहमति गर्ने नेताहरूले बताएका थिए। तर बिहीबार पाँच दलको बैठक बस्न सकेन।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बिहीबार नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) सँग दुईपक्षीय र बहुपक्षीय छलफल गरे। साँझ कांग्रेस र एमालेबाहेक माओवादी केन्द्र, नेकपा एस र जसपाको बैठक बस्यो। बैठकले कांग्रेस र एमालेसँग कुरा गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको छ। दाहालले शुक्रबार बिहान कांग्रेसका नेता र दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्नेछन्।
‘छलफल चलिरहेको छ, फाइनल भइसकेको छैन। भोलि एमाले अध्यक्षसँग पनि भेट्छु,’ जसपा र नेकपा एसका नेतासँगको बैठकपछि तत्कालीन नेकपा ब्युँताउने हो कि पाँचदलीय गठबन्धन भन्ने सञ्चारकर्र्मीको प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘त्यस्तो केही टुंगो भएको छैन। सबैको सबैसँग छलफल भइरहेको छ।’
पछिल्लो समय दाहाललाई भेट्न बालुवाटार धाउँदाधाउँदै ओली हैरान भएका छन्। दाहालको दोहोरो चरित्रका कारण पनि ओली रुष्ट छन्। तर ओली माओवादी केन्द्र पुस १० गतेको सहमति छाडेर कांग्रेससँग मिल्न नजानेमा ढुक्क छन्। उनले बिहीबार आयोजित एक कार्यक्रममा यस्तै आशयको अभिव्यक्ति दिए। माओवादी केन्द्र, जसपा र नेकपा एसले शुक्रबार दाहालले ओलीसँगको छलफल गरेपछि कांग्रेससहित चार दलको बैठक बस्ने समझदारी गरेका छन्। कांग्रेससँगको छलफलपछि मात्र राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने समझदारी भएको दाबी एक नेताले गरे। कांग्रेससमेतको समर्थनमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सार्ने तीन दलको मोटामोटी तयारी छ। कांग्रेस नेकपा एसका अध्यक्ष नेपाललाई दाहालपछिको सरकारको नेतृत्व दिनेगरी राष्ट्रपति आफूले लिने पक्षमा छ। तीन दलीय बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले शुक्रबारको छलफलपछि मात्र नयाँ गठबन्धन बन्ने वा नबन्ने निर्धारण हुने दाबी गरे। ‘भोलि (शुक्रबार) हामी तीन दल र कांग्रेसबीच छलफल गर्ने सहमति भएको छ,’ श्रेष्ठले पत्रकारसँग भने, ‘त्यसपछि नयाँ गठबन्धन बन्छ कि बन्दैन भन्ने तय हुन्छ।’
नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले दलीय छलफल जारी रहेकाले ठोस सहमति भइनसकेको बताए। दाहालले बिहीबार नेकपा एसका अध्यक्ष नेपालसहितका नेतासँग संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गरेका थिए। त्यसक्रममा पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने, तत्कालीन नेकपालाई निरन्तरता दिनेलगायत विभिन्न विकल्पमा छलफल भयो। दाहालले जसपा अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा नेकपा एसका अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए पनि आफ्नो दलको समर्थन रहने बताएका थिए। यादवले उपराष्ट्रपति आफ्ना दलले पाउनुपर्ने दाबी पेस गरेका थिए।
कांग्रेस र सत्ता साझेदार एमालेले मुलुकमा विकसित राजनीतिक घटनाक्रम र राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन आआफ्ना दलको बैठक बोलाएका छन्। पुरानो पाँचदलीय गठबन्धन ब्यँुताएर नयाँ राष्ट्रपति आफ्नो पक्षमा पार्न चाहेको कांग्रेसले शनिबार बिहान ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
एमालेले पनि शनिबार बिहान नै सचिवालय बैठक बोलाएको छ। पुस १० गते भएको सहमतिअनुसार सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष दाहाल कांग्रेस नेतृत्वको पुरानो गठबन्धन ब्युँताउन लागेको चाल पाएपछि नयाँ रणनीति बनाउन एमालेले सचिवालय बैठक बोलाएको हो। राष्ट्रपति चुनावका लागि शनिबार नै उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ।
एमाले अध्यक्ष ओलीले पार्टी एकताको सर्तसहित नेकपा एसका अध्यक्ष नेपाललाई भेटेर राष्ट्रपति बन्न प्रस्ताव गरिसकेका छन्। प्रधानमन्त्री दाहालसँगको भेटमा पनि ओलीले नेपाल वा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन्। ओलीको प्रस्तावपछि नेकपा एसका नेताहरू आन्तरिक र दलीय छलफलमा सक्रिय छन्।
यसैक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेकपा एसका अध्यक्ष नेपालबीच बिहीबार छलफल भयो। छलफलका क्रममाा नेपालले तत्कालीन नेकपा (हालको एमाले र माओवादी केन्द्र मिलेर बनेको ) लाई ब्युँताउन प्रस्ताव गरेका थिए। पोखरेलसँग भेट्नुअघि नेपालले प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका थिए। नेपालले दलीय सहमति भए आफू राष्ट्रपति बन्न तयार रहेको दाहालसँग बताएका थिए। नेपाल राष्ट्रपति भए उनले नेतृत्व गरेको नेकपा एसलाई एमालेमा मिसाएर ओलीले फेरि आफूलाई अप्ठेरोमा पार्ने दाहालको आशंका छ। सोही आशंकालाई चिर्न दाहाल र नेपालको सहमतिमा नेकपा ब्युँताउनुपर्ने प्रस्ताव एमालेसमक्ष राखिएको स्रोतको दाबी छ।
प्रकाशित: १२ फाल्गुन २०७९ ००:२३ शुक्रबार