२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

दाहालको व्यस्तताले पार्टीमा अलमल

काठमाडौं- पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि त्यसको असर नेकपा माओवादी केन्द्रको आन्तरिक संगठनमा परेको छ । दाहाल प्रधानमन्त्री भएपछि पार्टीभन्दा सरकार सञ्चालनमा व्यस्त हुनुपरेकाले संगठनका आन्तरिक काम प्रभावित भएका हुन् ।

सरकारी काममा दाहालकै व्यस्तताका कारण पार्टी एकीकरणलगत्तै गर्ने भनिएको राष्ट्रिय भेला हुन सकेको छैन । माओवादी हेडक्वार्टरले राष्ट्रिय भेलाका लागि दुई पटक मिति तय गरे पनि दाहालकै व्यस्तता देखाएर सार्दै आएको छ । जेठमा १० वटा कम्युनिस्ट घटकबीचको एकीकरणपछि बनेको माओवादी केन्द्रले माघमा गर्ने भनेको महाधिवेशन पनि स्थगित गरेको छ । महाधिवेशन स्थगित गरिए पनि अर्को मिति तोकिएको छैन ।

एकीकरणपछि पहिलोपटक भदौ १० र ११ गते बोलाइएको राष्ट्रिय भेला दाहालकै व्यस्तताका कारण कात्तिक १० र ११ गतेका लागि सारिएको थियो । पार्टी प्रवक्ता पम्फा भुसालले कात्तिक १० र ११ गतेका लागि बोलाइएको भेला  अध्यक्षको व्यस्तताले फेरि मंसिर २ र ३ गते सारिएको जानकारी दिइन् । ‘पार्टीको आन्तरिक व्यस्तताले सरकार सञ्चालनमा समस्या नहोस् भनेर कात्तिक १० र ११ गते बोलाइएको राष्ट्रिय भेला मंसिरमा सारिएको हो,’ भुसालले भनिन् । राष्ट्रिय भेलामा केन्द्रीय समितिमा रहेका दुई हजार चार सय, हेडक्वार्टर, सचिवालय सदस्य तथा केन्द्रीय सल्लाहकार गरी करिब तीन हजार सहभागी हुने छन् ।

उनका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाल यतिखेर संविधान संशोधन गृहकार्यमा धेरै व्यस्त हुनुपर्ने अवस्था सिर्जना भएको छ । ‘मधेसी, थारु, आदिवासीका गुनासा सम्बोधन गर्न छठ पर्वसम्म संविधान संशोधन गर्न घनिभूत छलफल आवश्यक छ,’ उनले भनिन्, ‘त्यसैले पार्टीको आन्तरिक बैठक सारेका हौं ।’ छठ पर्वसम्म संविधान संशोधन प्रक्रिया थाल्ने मनस्थितिमा प्रधानमन्त्री रहे पनि माओवादीभित्रै यसबारेमा पर्याप्त गृहकार्य हुन सकेको छैन । ‘संविधान संशोधनका लागि कम्तीमा २३ सदस्यीय  हेडक्वार्टरको एक मत हुनु पर्ने हो,’ एक हेडक्वार्टरका एक सदस्यले भने, ‘संशोधन गर्न प्रदेश सीमांकन फेरबदल गर्नैपर्ने देखिन्छ तर, संशोधन कसरी गर्ने भन्नेमा पार्टी उच्च तहमा रहने नै प्रस्ट छैनन् ।’

संविधानप्रति असन्तुष्टि राख्दै आएका मधेसी, थारुले सकेसम्म तराईमा दुई प्रदेश हुनुपर्ने र त्यसो नभए १ र ५ नम्बर प्रदेशको सीमांकन हेरफेर हुनुपर्ने बताउँदै आएका छन् ।

सरकार सञ्चालनमा व्यस्त हुनुपरेकाले अध्यक्ष दाहालले पार्टीको जिम्मेवारी वरिष्ठ नेतालाई दिनसके राम्रो हुने बताउँछन् माओवादीका केही नेता । ‘अहिले पार्टी हेडक्वार्टरदेखि सेल कमिटीसम्मका तह अपूर्ण छन्,’ एक नेताले भने । ३३ सदस्यीय पार्टीको उच्च निकाय हेडक्वार्टरमा हाल २३ सदस्य छन् । त्यस्तै ९३ सदस्यीय सचिवालयमा ८२ जना छन् । केन्द्रीय समिति भने बैठक बस्नै नसक्ने गरी दुई हजार चार सय जनाको बनाइएको छ । 

महाधिवेशन गर्न सके भद्दा सांगठनिक संरचना चुस्त हुने कार्यकर्ताको अपेक्षा छ । प्रवक्ता भुसालले अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदासम्म महाधिवेशन पनि गर्न नसकिने बताइन् । संशोधनपछि चुनावी अभियान

माओवादी केन्द्र छठसम्म संविधान संशोधन प्रक्रिया सुरु गर्ने र संशोधनपछि चुनावी अभियानमा लाग्ने तयारीमा छ । ‘राष्ट्रिय भेला मंसिर २ र ३ गते सार्नुको कारण पनि संविधान संशोधन गृहकार्यमा व्यस्त हुनुपरेकाले हो,’ पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘संविधान संशोधनपछि पार्टी चुनावी अभियानमा लाग्ने छ ।’

आज संसद्लाई सम्बोधन

‘ब्रिक्स आउटरिच’ सम्मेलनमा भाग लिएर सोमबार फर्किएका प्रधानमन्त्री दाहालले बुधबार व्यवस्थापिका– संसद्लाई सम्बोधन गर्ने भएका छन् । पार्टी प्रवक्ता भुसालका अनुसार ब्रिक्स सम्मेलनमा दुई छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी जिङपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भएको छलफलबारे प्रधानमन्त्री दाहालले संसद्लाई जानकारी गराउने कार्यक्रम छ ।

 

प्रकाशित: ३ कार्तिक २०७३ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App