८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सेनाले देशको एकीकरणदेखि हालसम्म खेलेको भूमिका सराहनीय छ: प्रधानमन्त्री दाहाल

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन गरेका छन्।

सेना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘ऐतिहासिक परिवेश र परिदृश्यको सूक्ष्म निगरानी तथा विश्लेषण गर्दै देशको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताको रक्षाका लागि नेपाल र नेपालीपनको पहरेदारको रूपमा स्थापित भएको यस सङ्गठनले देशको एकीकरणदेखि हालसम्म खेलेको भूमिका तथा योगदान सराहनीय छ।’

कठिन परिस्थितिमा समेत नेपाल र नेपालीका हितमा पुर्‍याएको योगदानले सेनाको महत्व र सार्थकतालाई मुखरित गरेको उल्लेख गर्दै उनले विकास निर्माण, अन्तर्राष्ट्रिय शान्ति, पर्यावरण संरक्षण, विपद् व्यवस्थापन, निर्वाचन सुरक्षा, खेलकुदमा आर्जन गरेको ख्याति, प्रदर्शन गरेको वीरता र अपनाएको व्यावसायिकताको प्रशंसा गरेका छन्।

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाका सकलदर्जालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

स्थापनाकालदेखि नै नेपाली सेनाले निष्ठा र इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्दै आएको बताउँदै उनले देशको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने सिलसिलामा जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि सेनाले प्रदर्शन गरेको अविचलित अनुशासन, निष्ठा र बलिदानका गाथाको स्मरण गरेका छन्।

रक्षामन्त्री उप्रेतीले सन्देशमा भनेका छन्, ‘सेनाको गौरवशाली सङ्गठनको साङ्गठनिक सुदृढीकरण, जनशक्तिको विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा प्रविधिको उच्चतम प्रयोगलगायतका क्षेत्रमा समयानुकूल आधुनिकीकरण र क्षमता विकास गर्न अत्यावश्यक छ। सुखी नेपाली र समृद्ध नेपाल राष्ट्रिय अभियानको पदचापमा  सेनाको भूमिका महत्वपूर्ण रहनेछ।’

उनले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गर्दै आइरहेको र  बदलिँदो परिस्थितिमा सुरक्षा चुनौती र सेनाको भूमिकाबारे आफू जानकार रहेको उल्लेख गरेका छन्।

यसैबीच, सेनाले महाशिवरात्रि तथा सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सवका अवसरमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षार्थ योगदान पु¥याउने सबैमा शुभकामना व्यक्त गरेको छ। नेपाली सेनाले आज आफ्नो स्थापना दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ। सोही उपलक्ष्यमा काठमाडौँको टुँडिखेलमा राष्ट्रपतिको प्रमुख आतिथ्यतामा महाशिवरात्रि बढाइँसहितको विशेष कार्यक्रम हुँदैछ।

प्रकाशित: ६ फाल्गुन २०७९ ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App