६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कार्यकर्तालाई बाँडियो पैसा

काठमाडौं- सरकारले राज्यको ढुकुटीबाट आफूनिकट ४४ कार्यकर्तालाई जथाभाबी रकम बाँडेको खुलेको छ। असोज २ को मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा सत्तारुढ कांग्रेस–माओवादी केन्द्रनिकट ४४ कार्यकर्तालाई ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म बाँडिएको हो।

प्रधानमन्त्री कार्यालय स्रोतअनुसार त्यस दिन आर्थिक सहायताका नाउँमा एक करोड रुपैयाँभन्दा बढी रकम बाँडिएको थियो। यसअघि पूर्वराष्ट्रपति रामवरण यादवको उपचारका लागि ६० लाख रुपैयाँ उपचार खर्च र उनकी छोरीलाई कूटनीतिक राहदानी दिलाएकोमा पुष्पकमल दाहाल सरकारको आलोचना भएको थियो।

सरकारले बिनामापदण्ड नेता, पहुँचवाला व्यक्ति र कार्यकर्तालाई रकम बाँड्ने गरेको भन्दै कार्यविधि बनाएर मात्रै सहायता वितरण गर्न व्यवस्थापिका संसद्को अर्थ समितिले दिएको निर्देशनसमेत मन्त्रिपरिषद्ले उल्लंघन गरेको छ। कार्यविधि बनाउन महिनौंअघि दिएको निर्देशनसमेत सरकारले अहिलेसम्म पालना गरेको छैन।

सरकारले रकम वितरण गर्नुको आधारसमेत खुलाएको छैन। मन्त्रिपरिषद् स्रोतअनुसार कम आर्थिक अवस्था भएका नागरिकलाई सरकारले उपचार खर्च दिँदा बिल र भर्पाईलाई आधार बनाउनुपर्ने भए पनि त्यसलाई समेत नखुलाई सिधै यो व्यक्तिलाई यति रकम दिने भन्ने प्रस्ताव पेस भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नमिल्ने भएकाले मन्त्रिपरिषद्बाटै निर्णय गराएर सहायता प्रदान गरिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए।

असोज २ को निर्णयअनुसार आर्थिक सहायताका रुपमा जनही ५ लाख रुपैयाँ पाउनेमा लक्ष्मी सुनार, भक्तिप्रसाद पाण्डे, अर्जुन महर्जन, गोपालप्रसाद कुर्मी, धीरेन्द्रकुमार सिंह, भरतमणि सिटौला र फिरोज आलम छन्।

यसैगरी, ३ लाख पाउनेमा सनिता पाण्डे, मेघबहादुर गिरी, रत्न बुढा, बाबुराम पुरी, कुमार पुन र समिर (यज्ञ) घिमिरे छन्।

२ लाख रुपैयाँ पाउनेमा रामकृष्ण श्रेष्ठ, केेशवराज ज्ञवाली, तुलरूपा ढकाल, श्यामनारायण गोसार्र्इं र केदारप्रसाद पन्त छन्। उजेकीकुमारी नेपाली, हर्कबहादुर बुढा, प्रेम विश्वकर्मा, रमिला दाहाल, हरिप्रसाद खनाल, फुले कुमाल, अजबहादुर शाही, डिलबहादुर शाही, जित बस्नेत, निर्मला भण्डारी, गंगा विक, बद्रीप्रसाद देवकोटा, इन्द्रबहादुर खत्री, गीता पोखरेल, यज्ञप्रसाद सुवेदी र तिलकप्रसाद न्यौपाने पनि २ लाख सहायाता पाएका छन्।

आर्थिक सहायताका रुपमा एक लाख रुपैयाँ पाउनेमा भारतप्रसाद देवकोटा, बिनबहादुर सिंह, विजयकुमार यादव, सुशील श्रीवास्तव, लोकबहादुर शाही र हरिबहादुर रोकाय छन्।

यसैगरी, राजकिशोर मण्डल, रामप्रसाद ढकाल, पदमराज जैसी र गुणाकर चटौतले ५० हजार रुपैयाँ आर्थिक सहायता पाएका छन्।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव यादव कोइरालाले आर्थिक अवस्था कमजोर भएकालाई रकम उपलब्ध गराइएको बताए। 'गृहले आर्थिक स्थिति कमजोर भएका व्यक्तिलाई उपचार खर्च उपलब्ध गराउन मन्त्रिपरिषद्मा सिफारिस गरेअनुसार सरकारले निर्णय गरेको हो,' कोइरालाले भने। के आधारमा सिफारिस गरियो भन्ने आधार भने उनले खुलाएनन्।

वर्षमा डेढ अर्ब सहायता

अर्थ मन्त्रालयस्रोतका अनुसार उपचार र आर्थिक सहायताका नाउँमा मात्र राज्यकोषबाट वार्षिक डेढ अर्ब रुपैयाँ खर्च हुन्छ। तीमध्ये अधिकांश रकम नेताको उपचार, तिनका नाउँमा खोलिएका प्रतिष्ठान र पार्टीनिकट अधिकांश कार्यकर्तालाई जान्छ। एक महिनापहिले पनि सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई अमेरिकामा उपचार गराउन ६० लाख रुपैयाँ दिएको थियो। त्यसबाहेक विभिन्न प्रतिष्ठान र नेताका नाउँमा पनि करोडौं रकम राज्यले बेहोर्दै आएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले मन्त्रालयले आ–आफ्नै तरिकाले उपचार खर्च र आर्थिक सहायता प्रस्ताव मन्त्रिपरिषद्मा लगेर निर्णय गराउने हुँदै सबै सहायताको अर्थ मन्त्रालय जिम्मेवार नहुने बताए। 'सबै मन्त्रालयले आफैंले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय गराउछँन् र आफ्ना नेता, कार्यकर्ता कसलाई दिनुपर्ने हो, दिन्छन्,' प्रवक्ता पौडेलले भने, 'सम्बन्धित मन्त्रीले निर्णय गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने हुँदा सबै सहायताको जिम्मेवार अर्थ मन्त्रालय हुँदैन।'

विपन्न नागरिकका लागि उपचार खर्च दिने कानुनी व्यवस्था भए पनि त्यही निहुँमा मन्त्रीहरुले मन्त्रिपरिषद्मै प्रस्ताव लगेर आफूनिकट नेता–कार्यकर्तालाई रकम बाँड्ने चलनै बसेको छ।

'मन्त्रिपरिषद्बाट निर्णय गराएपछि त्यसलाई अख्तियारले छानबिन गर्न मिल्दैन,' प्रधानमन्त्री कार्यालयकै एक सचिवले भने, 'मन्त्रीले जस्तो प्रस्ताव लगे पनि त्यो रोक्ने हिम्मत कुन कर्मचारीले गर्न सक्छ? त्यसैले विपन्नलाई आर्थिक सहायता भनिए पनि मन्त्री र पावर निकट जो छ, त्यसैले रकम पाउँछ।'

अघिल्लो वर्ष यही शीर्षकमा पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई १ करोड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड २६ लाख, पूर्वप्रधानन्यायाधीश रामकुमार साह ५० लाख ३९ हजार, पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोला ५० लाख र पूर्वसांसद रामनाथ ढकाललाई ३२ लाख

रुपैयाँ दिइएको थियो। यसैगरी अघिल्लो वर्ष नै सहायता रकम पाउनेमा पूर्वगृहमन्त्री गोविन्दराज जोशी २७ लाख, पूर्वप्रधानमन्त्री तुलसी गिरी २५ लाख, पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी ५० लाख, पूर्वराज्यमन्त्री महेन्द्र यादव ७ लाख ८८ हजार, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द ५ लाख र पूर्वअर्थमन्त्री रामशरण महत २ लाख ८३ हजार रुपैयाँ छन्।

प्रकाशित: १४ आश्विन २०७३ ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App