१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सभापतिको कार्यशैलीबाट पार्टी ठिक ढंगले चलेन: पौडेल

नेपालगन्ज–नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा समग्र कार्यकर्ताको नेता बन्न अझै नसकेको आरोप लगाएका छन्। कैलाश मानसरोवर तिर्थयात्रामा जाने क्रममा नेपालगन्ज आइपुगेका पौडेलले सोमबार कार्यकर्तालाई सम्वोधन गर्दै भने, ‘निर्वाचित भएपछि मैले देउवा जिलाई  समग्र कार्यकर्ताको नेता बन्न सक्नुहोला भनेर शुभकामना दिएको थिए, तर उहाँले ठिक उल्टो काम गर्नुभयो।’

पार्टी सभापतिको कार्यशैलीले काँग्रेस आलोचित भएको बताए। सभापति देउवाको कार्यशैलीका कारण पार्टी ठिक ढंगले नचलेको वरिष्ठ नेता पौडेलले भनाइ थियो। संविधान कार्यान्वयन, स्थानीय निकाय र सरकार सञ्चालनका विषयमा पार्टीको धारणा आउन नसकेको भन्दै पौडेलले भने, ‘हामीले पटक–पटक केन्द्रीय समिति बैठक बोलाउन सम्झाइरहेका छौं, तर उहाँले सुन्नु भएको छैन।’ संविधान संशोधनका विषयमा बजारमा धेरै कुरा आएको बताउँदै यसमा नेपाली काँग्रेसले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने उनको भनाइ छ।

पौडेलले थपे, ‘केन्द्रीय समिति बैठक बोलाएर यस्ता विषयमा छलफल गर्नुपर्नेमा पार्टी सभापति गुटगत राजनीति गर्दै हुनुहुन्छ ।’ नेता पिच्छे बेग्ला बेग्लै धारणा आएपछि कार्यकर्ता अलमलमा पर्ने र देश नै अलमलमा पर्ने पौडेलले बताए।

राजनीतिक संक्रमण यथावत रहेकाले संविधान कार्यान्वयनको अवस्था निकै जटिल रहेको उनले औंल्याए। ‘मधेसी दलले संविधानलाई स्वीकार गरेको अवस्था छैन, उनीहरुको माग सम्वोधन गरेर बाटो सहज बनाउनुपर्नेछ,’ पौडेलले भने, ‘संविधानले नै व्यवस्था गरेको स्थानीय तह, प्रादेशिक र केन्द्रीय तह पुनःसंरचनाको कुरा पनि लथालिंग छ, यसले गर्दा संविधान कार्यान्वयन अवस्था जटिल छ।’ अघिल्लो सरकारले बनाएको स्थानीय तह पुनःसंरचना आयोगले ल्याएको मापदण्डले जनतामा खैला बैला मच्चाएको पौडेलको भनाइ थियो।

हिमाल, पहाड र तराई क्षेत्रका लागि निर्धारण गरिएको मापदण्ड व्यवहारिक नभएको उनले जिकिर गर। ‘होचुवाको आधारमा मापदण्ड बनाइयो, कँही नभएको जात्रा हाँडी गाउँमा भनेझै संसारमा कही नभएको कुरा हामी कहाँ लागू गर्न खोजिँदैछ, यसले जनतालाई झनै अप्ठ्यारो स्थिति सिर्जना भएको छ।’ स्थानीय तह पुनःसंरचना आयोगको मापदण्डका विषयमा तराई र हिमाली क्षेत्रका बासिन्दाले आपत्ति जनाइरहेको बताउँदै वरिष्ठ नेता पौडेलले अगाडि भने, ‘लोकतन्त्र र संघीयतामा यस्तो गर्नु ठिक होइन, मैले त सुरु देखि नै यसमा मतभेद जाहेर गर्दै आएको हुँ।’
संघीयता लागू गर्ने नाममा जिल्ला टुक्र्याउनु पनि गम्भिर गल्ती भएको उनले बताए। राष्ट्रका समस्या समाधान गर्ने भन्दापनि सत्ताको खेल बढी हुन थालेको भन्दै पौडेलले चिन्ता व्यक्त गरे। ‘राष्ट्रका समस्याप्रति कोही गम्भिर भएनन्, सत्ताको तानातानले देश बर्बादतिर गयो,’ उनलेभ भने। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि राष्ट्रको सम्पत्ती दुरुपयोग हुने खतरा बढेको बताए।

‘भर्खरै मात्र शान्ति मन्त्रालयमार्फत १६ अर्व रुपैयाँ झिकेर माओवादीले कार्यकर्तालाई बाँड्न खोज्दैछ,’ पौडेलले भने, ‘हामीले दाहाललाई प्रधानमन्त्री मानेका छौं, तर उहाँले हाम्रो शर्त मान्ने कि नमान्ने?’ काँग्रेसबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरु ट्वाल्ल परेर हेर्ने बाहेक अरु उपलब्धि गर्न नसकेको नेता पौडेलले बताए ।

आफ्ना परिवारका सदस्य, आफन्त, स्वकीय सचिव तथा अंगरक्षकसहित आइतबार बेलुका नेपालगन्ज आइपुगेका पौडेल सोमबार बिहान हुम्ला प्रस्थान गरेका छन्। काँग्रेस बाँके सभापति किरण कोइरालाका अनुसार वरिष्ठ नेता पौडेल असोज १२ गते कैलाश मानसरोवर दर्शन गरी नेपालगन्ज फर्किने कार्यक्रम छ।

 

प्रकाशित: १० आश्विन २०७३ ०५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App