काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई तराई र आदिवासी जनजातिविरोधी पार्टीका रूपमा देखाउने संगठित र योजनाबद्ध प्रयास भइरहेको जनाउँदै त्यसविरुद्ध अभियान चलाउने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबारबाट सुरु सातौं केन्द्रीय कमिटी बैठक सुरुवात गर्दै अध्यक्ष ओलीले एमालेको विरोधमा संगठित र झुठको आधारमा प्रचार अभियान सुरु भएको दाबी गरे। 'साम्प्रदायिकता फैलाउने तŒवले जनजाति/आदिवासीविरोधी पार्टीको रूपमा प्रचार गर्ने गरेका छन्,' उनले भने। केन्द्रीय कमिटी बैठकपछि उक्त अभियान सुरु हुने उनले बताए।
अध्यक्ष ओलीले पार्टीको एकताबद्ध प्रयास र नेतृत्वका कारण मुलुकमा संविधान जारी भएकाले त्यसको कार्यान्वयनमा पार्टी सम्पूर्ण रूपमा परिचालित हुनुपर्ने बताए। 'निर्वाचन नगरी संविधान कार्यान्वयन हुन सक्दैन भन्ने बुझेरै यसमा आलटाल गर्ने कोसिस गरिएको छ, त्यसविरुद्ध पार्टी दृढतापूर्वक उभिन्छ, राष्ट्र, राष्ट्रियता र अग्रगमनलाई कमजोर बनाउने गरी आउने कुनै पनि प्रस्ताव पार्टीका लागि सह्य छैन,' उनले भने, 'हाम्रो पार्टी सिमलको भुवा होइन, लामो इतिहास भएको, सिद्धान्त र विचारमा आधारित पार्टी भएका कारण सुविचारित निर्णय गर्छ।'
उनले देशको पक्षमा उभिएको र कसैका सामु नझुकेका कारण आफ्नो नेतृत्वको सरकार ढालिएको दाबी गरे। 'प्रतिपक्षी भूमिकामा रहँदा समेत राष्ट्रप्रतिको हाम्रो भूमिकामा कुनै फरक पर्नेछैन। एकताबद्ध रूपमा पार्टीले सबै संकटको सामना गर्नेछ र मुलुकको अगुवाइ गर्नेछ,' उनले भने, 'राजीनामा दिनेक्रममा पनि भनेको थिएँ– प्रधानमन्त्रीबाट राजीनामा दिएको हो, जिम्मेवारीबाट होइन।'
बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ। त्यसपछि नौवटा समूहमा विभाजन गरेर प्रतिवदेनमाथि बिहीबारबाट छलफल हुनेछ। सात प्रदेश, केन्द्रीय विभाग र फा“ट गरी केन्द्रीय कमिटी सदस्यका नौवटा समूह छन्।
त्यसैगरी बैठकले अध्यक्षको राजनीतिक प्रतिवदेन, स्थानीय निकाय पुनःसंरचना (संख्या र सीमा), पार्टी प्रवेश गरेकाको व्यवस्थापन, प्रदेश संगठन कमिटी, सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन, स्थायी समितिका निर्णय अनुमोदन, केन्द्रीय आयोगको प्रतिवेदनमाथि छलफलको अजेन्डासमेत पारित गरेको छ।
प्रकाशित: ६ आश्विन २०७३ ०१:५० बिहीबार