६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादीको साथ पाउनेमा कांग्रेस आशावादी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको परिणाम आफूअनुकूल हुनेमा आशावादी बन्दै गएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सत्ता साझेदार दलहरूबीच बढ्दै गएको अविश्वास र तिक्ततासँगै कांग्रेस नेताहरू नयाँ राष्ट्रपति आफ्नै पार्टीको बन्नेमा आशावादी देखिएका हुन्।  

कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेलगायत दलको समर्थनमा दाहाल प्रधानमन्त्री भएका हुन्। कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर माओवादीसँग बिग्रिएको सम्बन्ध सुधार प्रयास थालेको थियो। प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिने कांग्रेस निर्णयलाई गठबन्धनको ठुलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि ढोक्सो थापेको रूपमा व्याख्या गर्दै आएका छन्।  

दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिए पनि विपक्षी बेञ्चमा बसेको कांग्रेसले राजनीतिक परिस्थिति आफू अनुकूल बन्दै गएको विश्लेषण गर्न थालेको छ। पार्टीको पक्षमा परिस्थिति निर्माण हुँदै गएको जनाउँदै कांग्रेसका एक नेताले भने, ‘दुवै पार्टी (कांग्रेस र माओवादी केन्द्र) बीच केही अविश्वास र संशय बाँकी छन्। तिनलाई हटाउने र मिलेर अघि बढ्ने प्रयास भइरहेको छ। कांग्रेसले अघि सारेको उम्मेदवार राष्ट्रपति बन्नेतिर अवस्था सोझिएको छ।’  

दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेस राष्ट्रपतिमा आफूले उठाउने उम्मेदवारलाई समर्थन गर्ने माओवादी निर्णयको प्रतीक्षामा छ। ‘माओवादीले अब निर्णय लिन ढिला गर्नु हुन्न भन्ने हाम्रो बुझाइ छ,’ कांग्रेस पदाधिकारीसमेत रहेका ती नेताले भने्, ‘माओवादी निर्णय आएपछि बल्ल पार्टीबाट राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्ने विषयमा छलफल हुन्छ।’

कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन्। दाहाल दलबाहिरको व्यक्तिलाई राष्ट्रपतिका रूपमा अघि सार्ने पक्षमा रहेको निकटहरूको दाबी छ। ‘एमालेले भनेकै उम्मेदवारलाई राष्ट्रपति बनाउने अवस्था छैन,’ प्रधानमन्त्री दाहाल निकट एक नेताले भने, ‘सकेसम्म स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाइयो भने दलीय हितका आधारमा निर्णय हुँदैन भन्ने हो।’  

सत्ता गठबन्धनको ठुलो घटक एमालेले राष्ट्रपति आफूले पाउने, प्रधानमन्त्री र प्रतिनिधिसभा सभामुख आलोपालो गर्ने समझदारीअनुरूप पहिलो आधा कार्यकालका लागि दाहाल प्रधानमन्त्री भएको दाबी गर्दै आएको छ। माओवादीसँग गत पुस १० गते यस्तो समझदारी भएपछि दाहाल प्रधानमन्त्री नियुक्त भएको एमाले दाबी छ।  

कांग्रेसले राष्ट्रपतिमा नेता रामचन्द्र पौडेललाई अघि सार्ने अड्कल काटिएको छ। राष्ट्रपतिका लागि कांग्रेसभित्र पौडेलसँगै कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, दमननाथ ढुंगानाको नाम चर्चामा छ। तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस नेतृत्वमा माओवादी केन्द्रसहितको गठबन्धन निर्माणमा पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।  

सोही गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा पौडेल उभिएकाले माओवादी केन्द्रका साथै तत्कालीन गठबन्धनका शीर्ष नेताहरू उनीप्रति लचिलो रहेको निकटहरूको दाबी छ। पार्टीको सक्रिय राजनीतिमा नरहेको व्यक्तिलाई राष्ट्रपति बनाउने माओवादी अडान कायम रहे कांग्रेसले ढुंगानालाई अघि सार्नसक्ने नेताहरू बताउँछन्।  

कांग्रेस सभापति शेरबहादुर देउवा पनि राष्ट्रपतिमा जान इच्छुक रहेको निकट स्रोतको दाबी छ। पार्टीका शीर्ष नेताहरूको बैठकमा देउवालाई राष्ट्रपतिमा अघि सार्ने अनौपचारिक छलफल भएको जानकारी दिँदै स्रोतले भन्यो, ‘हामीले हुनेभए अघि बढ्नुस् भन्यौं तर उहाँले होइन, होइन भन्नुभयो।’ सभापति देउवामा राष्ट्रपति बन्ने चाहना भने रहेको दाबी गर्दै स्रोतले भन्यो, ‘पार्टी जिम्मा लगाउने मान्छे उहाँले पाउनुभएको छैन।’ पार्टी सभापति पद कुनै कारणले रिक्त भए वरिष्ठ उपसभापति कार्यवाहक सभापति हुने र ६ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था विधानमा छ। देउवा राष्ट्रपति भए कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काको काँधमा पुग्ने छ। ‘आफूपछिको नेतृत्व खड्का वा आफूनिकट नेतामा जान्छ भन्नेमा देउवा आस्वस्त हुन सक्नुभएको छैन,’ निकट एक नेताले भने, ‘आफ्ना लागि मात्र होइन, टिमका लागि पनि उहाँ राष्ट्रपतिको जिम्मेवारीमा जाने जस्तो देखिँदैन।’ पार्टी शीर्ष तहका नेताहरू पनि देउवा राष्ट्रपतिका लागि तयार भए ठिकैछ भन्ने तहमा पुगेको जानकारी दिँदै निकट एक नेताले भने, ‘तर राष्ट्रपति बन्न हुन्न भनेर सुझाउनेहरू पनि धेरै छन्।’

माओवादीभित्र राष्ट्रपतिका लागि अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरासहितका नेताको नाम चर्चामा छ। तर उसले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई अघि सार्ने अनुमान गरिएको छ। राष्ट्रपतिमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि चर्चामा छ। माओवादीसँग पुस १० गते भएको समझदारी कार्यान्वयनको पक्षमा रहेको एमालेभित्र सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, विष्णु रिमालसहितका नेता राष्ट्रपतिका आकांक्षी छन्।

प्रकाशित: २५ माघ २०७९ ००:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App