प्रधानमन्त्री पुष्पकमल दाहालले आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री दाहालले गत माघ १६ गते सोमबार सम्पन्न मन्त्रीपरिषद बैठकमा मन्त्रीहरुलाई सो निर्देशन दिनु भएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले जानकारी दिए।
बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले संसदलाई बिजनेश दिने सन्दर्भमा पनि प्रधानमन्त्रीबाट सो निर्देशन आएको स्पष्ट पारे। मन्त्री किरातीले सो सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मन्त्री र मन्त्रालयका सचिवहरुबीच छलफल गरिएको बताए।
उनले भने, ‘भर्खरै हामीले सम्पन्न गरेको क्याबिनेट बैठकमा संसदलाई विजनेश दिने सन्दर्भमा आ आफ्नो मन्त्रालयमा परेको विधेयकलाई तपाईहरुले छिटोभन्दा छिटो पठाउनु भनेर प्रधानमन्त्रीले निर्देशन गर्नु भएको छ। त्यसमा हामी सबै लागि राखेका छौं।’
मन्त्री किरातीले संसदलाई विजनेश समेत दिनुपर्ने भएकाले सबै मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयमा थाति रहेका विधेयकहरुलाई अघि बढाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि बताए।
प्रकाशित: १८ माघ २०७९ १३:३९ बुधबार