२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दाहाल र ओलीसँग यादव रुष्ट

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) पछिल्लो समय सरकारसँग असन्तुष्ट भएको छ। जसपा स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जसपाका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट भएका छन्। मन्त्रालय लगायत शक्ति बाँडफाँटमा जसपालाई बेवास्ता गरिएको यादवको बुझाइ छ। यादवले मन्त्रालय छनोटमा चित्त बुझाएका छैनन्। जसपा स्रोतले भन्यो, ‘यसकारण यादवले अहिलेसम्म सरकारमा जसपाबाट कसैलाई पठाएका छैनन्।’

प्रधानमन्त्री दाहालले जसपाका लागि वन तथा वातावरण मन्त्रालय तथा युवा तथा खेलकुद मन्त्रालय छुट्टयाएका छन्। यी दुई मन्त्रालयमा जान जसपा तयार भएको छैन। जसपा स्रोतका अनुसार जसपाले कम्तीमा एउटा विकासे मन्त्रालय मागेको थियो। तर विकासे मन्त्रालय दिन प्रधानमन्त्री तथा ओली तयार भएनन। जसपाका एक नेता भन्छन्, ‘विकासे मन्त्रालय नदिए पनि कम्तीमा उपराष्ट्रपति हामीले पाउनुपर्छ भन्ने हाम्रो अडान हो।

हामीलाई उपराष्ट्रपति दिन उहाँहरू (दाहाल/ओली) तयार हुनु हुन्न।’ जसपाका प्रवक्ता मनिष सुमनले अहिलेको गठबन्धनलाई सात दलीय गठबन्धन भन्न नमिल्ने बताउँदै भने, ‘अहिलेको गठबन्धनमा छौ कि छैनौ भन्नेमै हामी द्विविधामा परेका छौ।’

मन्त्रालय बाँडफाँट लगायत राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतका पदमा शक्ति बाँडफाँट गर्दा जसपालाई छलफलमा समेत नबोलाएको भन्दै सुमनले एमाले तथा माओवादीसँग आक्रोश पोखे। ‘अहिले हामी सत्तापक्षीय गठबन्धनमा छौं कि विपक्षी गठबन्धनमा छौं भन्ने भन्ने विषयमा हामी आफैंले खोजबिन गर्दैर्छौं,’ सुमनले भने, हामी एक थान मन्त्रालयको लागि सरकारमा जान तयार छैनौ।’ शक्ति बाँडफाँटमा अहिले जति सहमति सम्झौता हुन्छ, त्यो सबै दाहाल र ओली बीचमा मात्र हुने गरेको बताउँदै सुमनले भने, ‘हामीले त पत्रपत्रिका हेरेर मात्र निर्णय  थाहा पाउछौ।’

मन्त्रालय लगायत शक्ति बाँडफाँटमा सम्माजनक सहमिति भएपछि मात्र जसपा सरकारमा जाने उनको भनाइ छ। पछिल्लो समय जसपाका अध्यक्ष यादव नेकपा (एकीकृत समाजवादी)सँग एकीकरण प्रक्रियामा छन्। एकिकृत समाजवादी अहिले विपक्षी गठबन्धनमा छ। पार्टीका अर्का एक नेता भन्छन्, ‘पार्टी अध्यक्षको चाहना र चासो अहिले सरकारमा जानेभन्दा पनि माधव नेपालको पार्टीसँग एकीकरण गर्नतिर भएको देखिन्छ।’

प्रकाशित: १६ माघ २०७९ ०३:१९ सोमबार

पछिल्लो समय सरकारसँग असन्तुष्ट