६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

रवि लामिछाने मुद्दामा आजै फैसला आउन सक्ने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा आजै फैसला सुनाउने सम्भावना छ। श्रोतका अनुसार न्यायाधीशहरूले आज नै फैसला सुनाउने तयारी गरिरहेका हुन्। अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन्।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेविरूद्ध परेको  रिटमा सुनुवाइ सकिएको छ। 

आज लामिछानेका तर्फबाट केही वकिलले बहस गरेका थिए भने रिट निवेदकका वकिलले जवाफी बहस गरेका थिए।

यसअघि बुधबार इजलासमा सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। यो विवादको आज अन्तिम सुनुवाइ हो।

इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा रहेका छन्।

लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।

संवैधानिक इजलासले पुस ६ गते  सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा पुस २२ गते दुवै पक्षको छलफल गरेको थियो। उक्त इजलासले माघ ११ गतेका लागि पूर्ण सुनुवाइको पेशी तोकिएको थियो।

रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको थियो। दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्।

अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा रबि लामिछानेले पार्टी दर्ता गरी पदाधिकारी रही उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको थियो। रिटमा रबि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको थियो।

प्रकाशित: १३ माघ २०७९ ०९:२६ शुक्रबार

रवि लामिछाने