१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

१३ मन्त्रीका १३ निर्देशन

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकारमा नेपाली कांग्रेसका तर्फबाट थपिएका १३ नयाँ मन्त्रीले शुक्रबारै पदभार ग्रहण गरी मातहत कर्मचारीलाई निर्देशन दिएका छन्। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि सबै मन्त्रीले आफ्ना मन्त्रालय पुगेर माताहत कर्मचारीलाई प्राथमिकताका कार्यक्रममा हस्ताक्षर गर्दै निर्देशन दिए।

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै शान्तिमन्त्री सीतादेवी यादवले जनतामा महसुस हुने गरी द्वन्द्वबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण गर्न निर्देशन दिइन्। ढिलासुस्ती र अपारदर्शिताले लोकतन्त्रलाई कुरुप बनाएको भन्दै त्यसतर्फ सजग रहन पनि आग्रह गरिन्।

'लोकतन्त्रमा सानो ठूलो भन्ने केही हुँदैन र त्यसैले परिणाम प्राप्ति हुने गरी कामप्रति चनाखो हुनुहोला,' उनले निर्देशन दिँदै भनिन्, 'कहीँकतै पनि ढिलासुस्ती र अपारदर्शिता हुनुहुँदैन।'

स्वास्थ्यमन्त्री गगन थापाले जनचासोका दुई विषयमा निर्णय गर्दै निर्देशन दिए। सबैभन्दा पहिला मन्त्री थापाले वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण प्रतिवेदन गलत हुने गरेको विषयमा छानबिन गर्न विशेषज्ञ समिति गठन गर्ने निर्णय गर्दै दोषीलाई कारबाही गर्न निर्देशन दिए। समितिमा स्वास्थ्य मन्त्रालयले तोकेको राजपत्रमा अंकित प्रथम श्रेणीको चिकित्सक अध्यक्ष रहनेछन्। मेडिकल काउन्सिलका एक चिकित्सक, श्रम तथा यातायात मन्त्रालयका कानुन अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष वा प्रतिनिधि र वैदेशिक रोजगारीबाट फर्किएको मध्येबाट एक जना सदस्य रहनेछन्।

उनले कानुनविपरीत जथाभाबी खुलेका औषधि पसललाई कारबाही गर्न पनि निर्देशन दिएका छन्। मन्त्री थापाले दर्ता नभएका औषधि पसललाई सुरुमा एक महिनाभित्र दर्ताको समय दिने र त्यो अवधिमा पनि दर्ता प्रक्रियामा नआउनेलाई कारबाही गर्न निर्देशन दिएका हुन्।

पदभार ग्रहणपछि मन्त्री थापाले आफूले कुनै गल्ती नगरी काम गर्ने र गल्ती गर्न खोज्नेलाई सहयोग पनि नगर्ने बताएका छन्। उनले आफू अहिलेको पुस्ताको प्रतिनिधि भएकाले आफूले गलत गरे सिंगो पुस्तालाई अन्याय हुने र आफूप्रतिको विश्वास पनि गुम्ने भएकाले कुनै गल्ती नगरी काम गर्ने बताए।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले कार्यभार सम्हाल्दै भूकम्पपछिको पूनर्निर्माणको मूल्यांकन र अनुगमनका लागि ५ वटा क्षेत्रीय कार्यालय गठन गर्ने निर्णय गरेका छन्। मन्त्री केसीले पहिलो चरणमा चारवटा कार्यालय गठन गर्ने र त्यसपछि एउटा थप्ने निर्णय गर्दै पुनर्निर्माणका कामलाई उच्च प्राथमिकतामा राख्दै काम गर्न निर्देशन दिएका छन्।

भूकम्पपछिको कामलाई केन्द्रबाट सोझै हेर्न अलिकति गाह्रो पर्ने भएकाले त्यसलाई विकेन्द्रित गर्न ५ वटा क्षेत्रमा नै कार्यालय गठन गर्नुपर्नेमा आवश्यकता देखिएको उनले बताए। यस्तै, मन्त्री केसीले वास्तविक सुकुम्बासीलाई जनता आवास कार्यक्रमअन्तर्गत कार्ययोजना बनाउन पनि निर्देशन दिएका छन्।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले उपलब्ध स्रोतसाधनको बढीभन्दा बढी उपयोग गरी परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन्। उनले मन्त्रालय मातहत सबै कार्यबारे नियमित रुपमा आफूलाई जानकारी गराउन पनि निर्देशन दिएका छन्।

पदभार ग्रहणपछि मन्त्री महतले राजदूत नियुक्त गर्न बाँकी देशमा छिट्टै राजदूत पठाउनेसमेत जानकारी दिए। उनले दुई छिमेकी देश भारत र चीनबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउनेतर्फ पहल गर्ने पनि बताए।

रक्षामन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, अखण्डता र नेपाली जनताको सुरक्षामा केन्द्रित रहेर काम गर्न निर्देशन दिएका छन्। उनले संविधान र कानुन कार्यान्वयनमा नेपाली सेनाबाट महत्वपूर्ण भूमिका निर्वाह भएको भन्दै संगठनलाई आधुनिकीकरण गर्ने, सुदृढ तुल्याउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

वाणिज्यमन्त्री रोमी गौचन थकालीले राजनीतिक आस्थाका आधारमा कसैमाथि विभेद नगरी काम गर्न निर्देशन दिएका छन्। उनले विशेषज्ञता हासिल गरेका कर्मचारीलाई प्राथमिकता राखेर काम अगाडि बढाउने भन्दै काम गर्ने समूहको नेतृत्वलाई कमजोर नबनाउने प्रतिबद्धता गरे।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले सार्वजनिक सेवालाई जनमुखी बनाउन समुदायमा आधारित उद्योगलाई प्राथमिकता दिएर कार्यक्रम तथा नीति तयार पार्न निर्देशन दिए।

वन तथा भू संरक्षणमन्त्री शंकर भण्डारीले वन मन्त्रालयअन्तर्गतका विभागको संरचना व्यवस्थित गर्न निर्देशन दिए।

श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले रीतपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। उनले वैदेशिक रोजगार क्षेत्रमा निःशुल्क टिकट र प्रवेशाज्ञा व्यवस्था गरिएको विषय विवादमा परेकाले यस विषयमा अध्ययन गरेर ठोस निर्णय गर्ने बताए।

सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कसैले पनि आग्रह र पूर्वाग्रही नराखी काम गर्न निर्देशन दिए। उनले आफ्नो कार्यकालमा क्षमताका आधारमा कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरिने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई एक साताभित्र सुधार गर्न निर्देशन दिए। विमानस्थलको शौचालयको दुरवस्था र 'लगेज' व्यवस्थापनलाई सुधार गर्दै विमानस्थललाई सफा बनाउन मन्त्री शाहीले निर्देशन दिए।

सिँचाइमन्त्री दीपक गिरीले प्युठान, दाङ, बाँके, बर्दिया, सुर्खेत, सिन्धुपाल्चोक, सुनसरी लगायत जिल्लाका पहिरो तथा बाढीपीडितको समस्या समाधान गर्न एकजुट भएर लाग्न कर्मचारीलाई निर्देशन दिए। उनले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै सबैलाई अनुशासनमा रहेर काम गर्न पनि निर्देशन दिए।

नवनियुक्त गरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले सहकारीको अवधारणाअनुसार जनताको सेवालाई लक्ष्यमा राखेर गाउँ गाउँमा सहकारी पुर्‍याउन कर्मचारीलाई निर्देशन दिए।

प्रकाशित: ११ भाद्र २०७३ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App