काठमाडौं– सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित आत्मकथा ‘जंगे–बुद्धे’ मंगलबार सार्वजनिक भएको छ।
पुस्तक राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी र स्रष्टा अभि सुवेदीले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
अंग्रेजले सारा संसार जित्दासमेत नेपालले आफ्नो स्वतन्त्रता जोगाएको भन्दै राष्ट्रकवि घिमिरेले भने, ‘नेपालको जो स्वाभिमान छ, त्यसलाई जोगाउनुपर्छ ।’
नेताहरुले बुद्धि पु¥याएर अखण्डता सुरक्षित राख्नुपर्ने घिमिरेले बताए । ‘देशका लागि काम गर्दा उत्तेजनामा आएर गर्नु हुँदैन । मनमोहबाट होइन । झुक्ने काम पनि नगरौं । मिलेर बसौं,’ घिमिरेले भने, ‘बुद्धि पु¥याएर नेताहरुले देशको सार्वभौमिकतालाई सुरक्षित गर्नुपर्छ ।’
देश गणतन्त्रमा गइसकेकाले राजा–महाराजाले गरेको कामको मात्र इतिहासले काम नगर्ने भन्दै कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले श्रेष्ठको किताबले जनताको इतिहासलाई अघि ल्याएको बताए ।
‘अब फलानो मल्ल राजाले फलानो मन्दिर बनाएका थिए भन्ने इतिहासले काम गर्ने छैन । जनताको इतिहास, बोलेको कुरा चाहियो,’ जोशीले भने ।
कार्यक्रममा स्रष्टा सुवेदीले जंगे पिलरलाई विम्ब बनाएर श्रेष्ठले इतिहास लेखेको बताए ।
संसारमा सीमा बन्ने र मेटिन काम निरन्तर रुपमा भइरहेको बताउने सुवेदीले भने, ‘सुगौली सन्धिपछि निर्माण भएको हाम्रो सीमा छ । त्यसमा राजनीतिक, कानुनी, ऐतिहासिक, इगो विषयमा इतिहास बनेको छ,’ सुवेदीले भने ।
पुस्तकले नेपालको स्वतन्त्रताको खाँबोका रुपमा रहेको जंगे पिलरलाई समाएको भन्दै उनले थपे, ‘जुन विम्बको प्रयोग गर्नुभएको छ, त्यसलाई इतिहासको त्यो खाँबोलाई राम्रोसँग समाउनुभएको छ ।’
जंगे पिलर भएको स्थानमा नेपाल र भारतबीच कुनै समस्या नभएको पुस्तकमा उल्लेख छ । सुगौली सन्धिपछि १ लाख ३७ हजार ९ सय ७४ वर्ग किलोमिटरमा खुम्चिएको नेपालमा जंगबहादुर राणाले नयाँ मुलुकका रुपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको ९ हजार २ सय ७ वर्ग किलोमिटर भूभाग थप्दै अहिलेको आकारमा ल्याएका थिए ।
‘विद्रोहीलाई सघाएपछि अंग्रेजले दिएको नयाँ मुलुकसँगै दक्षिणतर्फको सीमामा जंगबहादुरले पिलर लगाएर नेपालको सीमा छुट्ट्याएका थिए,’ लेखक श्रेष्ठले भने ।
यसअघि नेपालको सिमाना, सिमाना संग्राम, भारत–नेपाल सीमावर्ती बाँध, सिमानाको ज्ञान, बोर्डर म्यानेजमेन्ट अफ नेपाल लगायत कृति प्रकाशित भइसकेका छन् । उनको नेपालको सिमाना नामको कृतिले मदन पुरस्कार जितेको थियो ।
प्रकाशित: २६ श्रावण २०७३ ०२:५३ बुधबार