१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘फास्ट ट्र्याक र चीन सम्झौता पालना हुन्छ'

काठमाडौं- नयाँ सरकारमा प्रधानमन्त्रीको रूपमा प्रस्तावित पुष्पकमल दाहालले चीनसँग भएको सम्झौता र फास्ट ट्र्याक नेपालले नै बनाउने निर्णय कार्यान्वयन हुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले दुवै निर्णय कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको जानकारी गराएका थिए। भेटमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा भएको सरकारले गरेको चीनसँग सम्झौता र फास्ट ट्र्याक नेपालले बनाउने भनेर गरेको निर्णय कार्यान्वयन हुन्छ कि हुँदैन भनेर जिज्ञासा राखेका थिए।

'यी निर्णय हामी पनि सरकारमा रहेको समयमा भएका हुन्, त्यसलाई कार्यान्वयन गर्न नयाँ सरकार प्रतिबद्ध रहनेछ,' अध्यक्ष दाहालसँग भेटमा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, 'चीनसँग भएका सम्झौता र फास्ट ट्र्याक नेपालले नै बनाउने निर्णय कार्यान्वयन हुन्छ।'

सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन लाग्दा दाहालले प्रधानमन्त्री ओलीसँग भेट गरेर औपचारिकता पूरा गरेका छन्। 'राष्ट्रपतिले दिएको समयसीमाभित्र के–के भयो भन्नका लागि मात्रै भेट भएको हो,' भेटमा सहभागी रहेका एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले नागरिकसँग भने, 'सहमतिको सरकारको ढोका त अस्तिनै बन्द भइसकेको हो। कांग्रेसले दुई ठूला दल सत्तामा नबस्ने सिद्धान्त नै बनाइसकेको छ।'

सहमतीय सरकार गठन गर्नका लागि राष्ट्रपति भण्डारीले दिएको समय आइतबार सकिँदैछ। सोमबारबाट बहुमतीय सरकार गठनका लागि प्रक्रिया सुरु हुन्छ। 'हामी अहिले पनि सहमतीय सरकार बन्नुपर्छ भन्ने पक्षमा छौं,' माओवादी नेता श्रेष्ठले भने, 'त्यसका लागि अध्यक्ष दाहालले सबै दलसँग छलफल गर्ने कांग्रेससँग भएको सहमतिअनुसार प्रधानमन्त्रीसँग भेट भएको हो।'

अहिले सहमतिको सरकार बन्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै श्रेष्ठले भने, 'प्रधानमन्त्रीले दुई कारण बनाउनुभएको छ– मेरो नेतृत्वमा कांग्रेस सरकारमा आएन र अर्को तपाईंहरू हामीलाई छाडेर जानुभयो।'

भेटमा प्रधानमन्त्रीले अध्यक्ष दाहाललाई के सन्दर्भमा भेट्न खोज्नुभएको हो भनी प्रश्न गरेपछि अध्यक्ष दाहालले राष्ट्रपतिबाट सहमतिको सरकार गठन गर्न दिनुभएको समयका बारेमा जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए।

'प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारबारे तपाईंको दल र तपाईंसँग सहकार्य गर्न खोज्ने नेपाली कांग्रेसको धारणा के हो भनी प्रश्न गर्नुभएको थियो,' दाहालले जारी गरेको प्रेस नोटमा भनिएको छ, 'प्रधानमन्त्रीले अध्यक्ष दाहाललाई भन्नुभयो– के नेपाली कांग्रेस पनि राष्ट्रिय सहमतिको सरकार गठनको पक्षमा उभिएको हो?'

त्यसपछि प्रधानमन्त्री ओलीले कांग्रेस राष्ट्रिय सहमतिका लागि तयार हो भने सबैभन्दा पहिला उसले आफ्नो धारणा सार्वजनिक रूपमा प्रस्ट्याउनुपर्ने बताएका थिए।

बैठकमा प्रधानमन्त्री ओलीले चैतमा सरकार परिवर्तन हुने सम्झौता गरेपछि चैतमै स्थानीय चुनाव कसरी हुन्छ भन्ने प्रश्न गरेका थिए। 'प्रधानमन्त्रीले नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाले छलफल गरी स्थानीय निकायको निर्वाचन चैतमा गर्ने सहमति गरेर आफू र आफ्नो पार्टीलाई निर्णय सुनाउन आउने अनि सहमतिको कुरा गर्ने भन्दै असन्तुष्टि जनाउनुभएको थियो,' दाहालले भने, 'प्रधानमन्त्री ओलीले अब बन्ने प्रधानमन्त्री चैतमा फेरिने र चैतमै निर्वाचन गर्ने कुरामा संगति नमिलेकाले निर्वाचन नै नगराउने षड्यन्त्र भएकोमा आशंका व्यक्त गर्नुभयो।'

भेटमा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री भीम रावल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रमुख सचेतक भानुभक्त ढकालको उपस्थिति रहेको थियो। माओवादीका तर्फबाट दाहाल र श्रेष्ठ सहभागी थिए।

प्रकाशित: १६ श्रावण २०७३ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App