१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘सदन सरकार बनाउन र गिराउन व्यस्त: बाढी डुबान र पहिरोले जनता बिचल्ली’

काठमाडौँ-निरन्तरको अविरल वर्षाले देशभरका विभिन्न भूभाग डुबान र  पहिराको उच्च जोखिम परेका हुँदा स्थानीय समुदायलाई उद्धार गर्न र  बाढीपहिराले पुर्याएको जनधनको क्षति, उद्धार तथा राहतका बारेमा  सदनलाई जानकारी गराउन सांसदहरुले सरकारसित  माग गरेका छन्।

व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा उनहरुले सदन सरकार गिराउन र बनाउन व्यस्त रहेको भन्दै बाढीपहिरो, डुबानपीडित जनतालाई सरकारले उद्धार गर्नु त परै जावोस् राहत पुर्याउन समेत ध्यान नदिएको गुनासो गरे।

सभामुख ओनसरी घर्तीसित समय लिई सांसदले बाढीपीडित जनताले एक मुठी चामल, नुन, त्रिपाल देऊ भन्दा पनि सरकारको उपस्थिति नरहेकामा आपत्ति जनाए।  बाढी, डुबानपीडित जनतालाई राहत दिन सरकारलाई रुलिङ गर्न समेत उनीहरूले माग गरेक छन्।

सांसद रामकृष्ण यादवले तराईका अधिकांश जिल्ला डुबानमा परेकाले डुबान तथा बाढीपीडितलाई सरकारले राहत पुर्याउन  नसकेको आरोप लगाए। सांसद वैजनाथ चौधरीले सिरहा र सप्तरीका सबै भूभाग डुबानमा परेको हुँदा सरकारले उद्धार तथा राहत पुर्याउन नसकेको बताए।

सांसद शिवकुमार मण्डलले नवलपरासीको जिल्ला सदरमुकाम परासीमा बाढी पसेको हुँदा हजारौँ जनता बिचल्ली परेको जानकारी दिए।

सांसद डा सुबोधकुमार पोखरेलले संविधान कार्यान्वयनमा प्रमुख दलका शीर्ष नेताले ध्यान जानुपर्छ भने। सांसद वृजेशकुमार गुप्ता र डिम्पलकुमारी झाले तराईका भूभाग बर्सेनि डुबानमा पर्छ भन्ने सरकारलाई जानकारी हुन्छ तर पूर्वतयारी केही हुँदैन भने। सांसद डिल्लीराज काफ्लेले सरकारले बाढीपहिरोपीडित जनतलाई राहत र  उद्धारमा  ध्यान दिनुपर्छ भने ।

सांसद भरतकुमार साहले रुपन्देही जिल्लामा तिनाउ नदीमा आएको बाढीका कारण धेरै गाउँ डुबानमा परेको बताउँदै बिचल्लीमा परेका बाढीपीडितलाई राहत दिन माग गरे।

सांसद गणेशकुमार पहाडीले सिन्धुली जिल्लामा हालैको वर्षात्ले  पहिरो जाँदा एक जनाको मृत्यु भएको बताउँदै अन्नभण्डारको क्षेत्रका रुपमा रहेका महाभारत र चुरे क्षेत्रमा नदी नियन्त्रण गर्न सरकार र सदनको ध्यानाकर्षण गराए। 

सांसद सकलदेव सुतियारले सप्तरी जिल्लाको गोबर गाँडागाउँ पूरै डुबानमा परेको हुँदा  उद्धारमा सरकारको ध्यान जाओस् भने। सांसद क्रृषिकेश पोखरेल, नरसिंह चौधरी र  अशोककुमार मण्डलले सरकारले बाढीपहिरो र डुबानको समस्या समाधान गर्नका लागि पूर्वतयारीमा ध्यान दिन नसक्दा बर्सेनि यस्ता समस्या आउने गरेको बताए। 

सांसद हरिप्रसाद नेपालले कालीगण्डकीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा उच्च जोखिममा परेको तर्फ सरकारको ध्यानाकर्षण गराए। सांसद दिलशोभा पुन र सीताराम महतोले बाढीपहिरो र  डुबानपीडितलाई राहत पुर्याउन माग गरे । रासस

प्रकाशित: ११ श्रावण २०७३ ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App