२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारमा भाग खोज्दै जसपा

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुनका लागि सम्मानजनक पद बाँडफाँट हुनुपर्ने सर्त राखेको छ। जसपाको मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले नीति तथा कार्यक्रम र शक्तिको बाँडफाँटको विषयमा सहमति नभए बाहिरबाटै सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहितका पदमा एमाले र माओवादी केन्द्रले भागबन्डा गरेपछि जसपाले उपराष्ट्रपति, उपसभामुखसहित प्रदेशसम्म सम्मानजनक भाग खोजेको छ।  

जसपा प्रवक्ता मनिष सुमनले सत्ता गठबन्धनका प्रमुख घटकले ल्याउने प्रस्तावका साथै न्यूनतम साझा कार्यक्रमका आधारमा सरकारमा सहभागिताका विषयमा निर्णयमा पुग्ने जानकारी दिए। ‘अहिले नै यही पद चाहिन्छ र हुनुपर्छ भन्ने होइन र छैन,’ उनले भने, ‘तर सम्मानजनक शक्ति बाँडफाँट त हुनैपर्छ। सरकारको नेतृत्व गर्ने दलबाट कस्तो प्रस्ताव आउँछ, त्यसअनुसार निर्णयमा पुग्छौं।’  

माओवादीले उपराष्ट्रपति लिने तयारी गरेका बेला जसपाले उक्त पद दाबी गरेको छ। उसले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउन चाहेको छ। यादव उपराष्ट्रपति भएपछि रिक्त हुने बारा २ बाट अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्न चाहन्छन्। प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ बाट प्रतिस्पर्धा गरेका यादव जनमत पार्टी अध्यक्ष सिके राउतसँग पराजित भएका थिए। सरकारको नेतृत्व गरेको माओवादी भने जसपालाई उप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउने तयारीमा छ।  

जसपाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलसँग पार्टी एकीकरणका लागि नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता गर्न ३ सदस्यीय टोली पनि गठन गरेको छ। यो वा त्यो दल भन्ने केही नभएको बताउँदै पार्टी प्रवक्ता सुमनले नागरिकसँग भने, ‘विचार, कार्यक्रम र मन मिल्नै सबै दलसँग पार्टी एकता र सहकार्यका लागि हामी खुला छौं।’ श्रेष्ठ नेतृत्वको समितिमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य छन्।  

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने निर्णय जसपाले गरेको छ। संघीय परिषद् र केन्द्रीय सदस्यहरूको भूमिकाबारे छानबिन गर्न भने जसपाले शिवलाल थापा मगरको संयोजकत्वमा देवबहादुर दुरा, बालकिशोर यादव, अशोक लगरवार र प्रमिला यादव रहेको समिति गठन गरेको छ। समितिलाई माघसम्मको समय दिएको छ।  

जसपाले पार्टी अधिवेशनका लागि अध्यक्ष यादवको संयोजकत्वमा श्रेष्ठ, चेम्जोङ, सुशीला श्रेष्ठ, थापा मगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी रहेको समिति गठन गरेको छ।

प्रकाशित: २० पुस २०७९ ०१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App