६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ताप्लेजुङका ६ सांसद: भट्टराई र मेन्याङवो बाहेक संसदमा सबैको पहिलो अनुभव

ताप्लेजुङलाई कार्य क्षेत्र बनाई राजनीति गरिरहेकामध्ये प्रतिनिधि तथा प्रदेशसभा बनेका छ जना मध्ये दुई बाहेक संसदमा सबैको नयाँ अनुभव हुने भएको छ। प्रतिनिधिसभामा निर्वाचित एमालेका योगेशकुमार भट्टराई र प्रदेशसभा सदस्यमा निर्वाचित एमालेकै तिलकुमार मेन्याङवो बाहेक अरु ४ जनाका लागि संसदको उपस्थिति पहिलो अनुभव हुने छ।

एमाले सचिव भट्टराई २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट पहिलो पटक प्रतिनिधिसभामा पुगेका थिए। एमाले पोलिब्युरो सदस्य मेन्याङवो २०५६ सालको आम निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका सांसद भएका थिए। त्यसपछि उनी संसदीय फाँटमा थिएनन्। यसपटक भट्टराई दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने प्रतिनिधिसभाको अनुभव लिइसकेका मेन्याङवोका लागि प्रदेशसभामा भने पहिलो अनुभव हुने छ। उनी यसपटक ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित नेपाली काँग्रेसका खगेनसिंह हाङगामको जनप्रतिनिधिको पहिलो अनुभव नै प्रदेशसभा सदस्यको रुपमा हुने छ। उता समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी एमाले केन्द्रीय सदस्य उर्मिला थेबे र काँग्रेसका पूर्व जिल्ला सभापति तथा महाधिबेशन प्रतिनिधि लिलादेवी बोखिम तथा प्रदेशसभा सदस्य बनेकी जनता समाजवादी पार्टीका निर्मला तावा लिम्बूका लागि संसदमा पहिलो अनुभव हुने छ।

थेबे २०७४ सालको स्थानीय तहको निर्वाचनबाट सिरिजङ्गा गाउँपालिका वडा नं १ को वडाध्यक्ष बनेर ५ वर्षे कार्यकाल पूरा गरेको अनुभव छ। २०७४ सालमा ताप्लेजुङका ६१ मध्ये २ वटा वडाका वडाध्यक्षमा महिला निर्वाचित भएका थिए। ति मध्ये थेबे एक थिइन् भने फुङलिङ नगरपालिका वडा नं ५ बाट भीमादेवी ओझा वडाध्यक्ष बनेकी थिइन्। ओझा अहिले फुङलिङ नगरपालिकाको उपप्रमुख छन्।

२०७० सालको संबिधानसभाको निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ बाट एमालेका भूपेन्द्र थेबेसंग डेढसय कम मतान्तरले पराजित भएकी बोखिम २०७४ सालको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा एमालेका बलबहादुर साम्सोहाङले निर्वाचन जित्दा दोस्रो पटक पराजित भएकी थिइन्। ताप्लेजुङबाट प्रतिनिधिसभामा समानुपातिकतर्फबाट दुईजना सांसद बन्ने मौका पाउँदा एमालेकी थेबे र काँग्रेसकी बोखिम पहिलो पटक संसद यात्रा तय गरेका छन्।

पहिचानको आन्दोलनको एक अगुवा हुँदै जसपाको राजनीतिमा आएकी नेतृ निर्मला १ नं प्रदेश सभामा जसपाको एक्लो तर‘निर्णायक’सदस्यको रुपमा रहेकी छन्। रोचक त के छ भने ९३ सदस्यीय प्रदेशसभामा प्रदेश सरकार बनाउन ४७ सदस्य चाहिन्छ। यसअघि गठबन्धनमा रहेका एमाले,राप्रपा र जसपा मिल्दा त्यो संख्या पुग्छ,यसका लागि निर्मला निर्णायक हुनेछन्। राप्रपाले एमाले गठबन्धन छाडेको अवस्था बाहेक उनी काँग्रेस–माओवादी र नेकपा एससहितको गठबन्धनमा समेत उनी निर्णायक नै हुनेछन्।  

प्रकाशित: ५ पुस २०७९ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App