१ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

बैंककको नेपाली दूतावासले ४५ करोडका तीन घर किन्यो

काठमाडौं– थाईल्याण्डको बैंककस्थित नेपाली दूतावासले १५ करोड थाई भाट (करीव ४५ करोड नेपाली रुपैयाँ) मा आफ्नो नाममा घरजग्गा खरिद गरेको छ। बैंककको सुकुम्भित रोड–७१ को २७ नम्बरमा सानाठूला तीन वटा घरसहितको पौने ४ रोपनी जग्गा दूतावासले खरिद गरेको हो। बुधबार उक्त जग्गा नेपाली दूतावासको नाममा स्वामित्व हस्तान्तरण गरिएको छ।

‘कम्पाउण्डमा रहेका घरहरुमध्ये दुईतले मुख्य घरमा दूतावासको कार्यालय स्थापना गर्ने, एउटा सानो एक तले घरमा भिसा कार्यालय बनाउने,’ बैंककस्थित नेपाली दूतावासले बुधबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘अर्को घरमा एक जना कूटनैतिक कर्मचारीको निवास बनाउने योजना रहेको छ। यसबाट दूतावास आफ्नै भवनमा सञ्चालन हुने तथा घरभाडाबापत नेपाल सरकारले व्यहोर्दै आएको व्ययभार पनि कम हुनेछ ।’

घर जग्गामा रंगरोगन गरी दूतावासको आवश्यकता अनुसार संरचना मिलाई सकेसम्म छिटो दूतावास कार्यालय सार्ने योजना गरहेको विज्ञप्तिमा उल्लेख छ। ‘स्थापना भएदेखि नै दूतावास भाडाको घरमा बसिआएको छ। हाल दूतावास रहेको घर अत्यन्त जीर्ण अवस्थामा रहेको तथा दूतावास लगायत सबै कूटनैतिक कर्मचारीका निवास समेत भाडामा रहेकाले बैंककमा आफ्नै भवनको आवश्यकता धेरै अघिदेखि महसूस हुँदै आएको थियो,’ विज्ञप्तिमा घरजग्गा खरिद गर्नुको कारण खुलाइएको छ ।

घरजग्गा खरिदपछि दूतावासले घरभाडा व्ययभार कम हुने बताए पनि परराष्ट्र मन्त्रालय स्रोतका अनुसार तत्काल व्ययभार नघट्ने बतायो। बैंककस्थित दूतावास भवनको भाडास्वरुप सरकारले बार्षिक ६२ लाख रुपैयाँ बुझाउँदै आएको छ । आफ्नै घरजग्गा खरिद गरिएको भए पनि हाल दूतावास रहेको भवनलाई राजदूतको निवासको रुपमा प्रयोग गरिने हुँदा व्ययभार नघट्ने दाबी स्रोतको छ।

‘सरकारको व्ययभार झन् बढ्ने देखिन्छ। नयाँ घरजग्गा खरिद गरेपनि हाल दूतावास रहेको भवनपनि भाडामा लिने हुँदा घरभाडा घट्दैन, बरु बढाएको छ,’ स्रोतले भन्यो, ‘खरिद गरिएको नयाँ जग्गामा आवश्यकता अनुसारको भवन नबनाएसम्म सरकारको व्ययभार घट्दैन ।’

अहिले खरिद गरिएको नयाँ भवन पनि ४० बर्ष पुरानो रहेकोले ती घरको आयु छिट्टै सकिने भनाई स्रोतको छ।  

बैंककस्थित दूतावासले स्थानीय पत्रिकामा ४५ दिने टेण्डर आह्वान गरी नयाँ घरजग्गा खरिद गरेको स्रोतले बतायो।

प्रकाशित: १५ असार २०७३ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App