७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस संसदीय दल: देउवा निश्चित, इतरमा अलमल

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बन्ने भएका छन्। बुधबार बिहान हुने निर्वाचनमा दलको नेताका लागि देउवाले उम्मेदवारी दिने निश्चित भए पनि संस्थापन इतरबाट को उम्मेदवार बन्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन। पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा गठन भएको निर्वाचन समितिले संसदीय दलको निर्वाचन कार्यतालिका प्रकाशन गरेलगत्तै संस्थापन इतरका नेताहरू उम्मेदवार टुंगो लगाउन छलफलमा जुटेका थिए।

संस्थापन इतर समूहबाट को उम्मेदवार बन्ने र कसलाई बनाउने भन्ने टुंगो मंगलबार बिहान पुनः बस्ने बैठकले मात्र लगाउनेछ। संस्थापन इतरबाट संसदीय दलको नेतामा पार्टी नेता शेखर कोइराला वा महामन्त्री गगनकुमार थापामध्ये एकजना उम्मेदवार बन्नेछन्। प्रतिनिधिसभा निर्वाचनकै बेला आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै भोट मागेका थापाले आफैं दलको उम्मेदवार बन्ने बताउँदै आएका छन्।  

कांग्रेस संसदीय दलको अहिलेको अंकगणित हेर्दा संस्थापन पक्षका उम्मेदवार तथा पार्टी सभापति देउवा नै हाबी हुने निश्चित छ। पार्टीभित्रको आन्तरिक शक्तिसंघर्षका साथै १५औं महाधिवेशनबाट नेतृत्व आफ्नो पक्षमा ल्याउने रणनीतिमा रहेका थापा दलको नेतामा प्रतिस्पर्धा गरेर इतर पक्षको नेतामा आफूलाई स्थापित गर्ने पक्षमा छन्।  

१४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा रहेका नेता कोइराला पनि इतर पक्षको नेतृत्व गर्ने पक्षमा छन्। सम्पन्न महाधिवेशनबाट नेतृत्वमा पुग्न असफल कोइराला आगामी महाधिवेशनबाट कांग्रेसको मूल नेतृत्वमा पुग्न सकिनेमा आशावादी छन्। त्यसका लागि उनी इतर पक्षको नेतृत्व र कमान्ड आफैंमा कायम गर्न चाहन्छन्। त्यसकारण उनी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने आन्तरिक तयारीमा छन्। दलको नेतामा थापालाई अघि सार्दा इतर पक्षको नेतृत्व उनैले गर्ने सन्देश जाने भन्दै एक नेताले भने, ‘सम्भवतः शेखर कोइरालाले नै दलको नेतामा प्रतिस्पर्धा गर्नुहुन्छ होला।’ इतर पक्षबाट को उम्मेदवार बन्ने भन्ने विषय शेखर कोइरालामै निर्भर रहने उनीनिकट एक नेताले बताए। ‘चुनाव हार्ने नै होे, गगन (गगनकुमार थापा) ले जिद्दी पनि गरे भनेर शेखर कोइरालाले छाडे मात्र उहाँ (गगन) उम्मेदवार बन्नुहुन्छ,’ उनले भने।

महामन्त्री थापा पनि आफैं उठ्ने तयारीमा रहँदा इतर पक्षबाट दुई उम्मेदवार हुने सम्भावना देखिएको भन्दै निकटहरूले कोइराला र थापा दुवैलाई मिलेर एकजना मात्र उम्मेदवार बन्न सुझाएका छन्। १४औं महाधिवेशनमा पनि साझा उम्मेदवार दिन नसक्दा पार्टी नेतृत्व लिनबाट इतर पक्ष चुकेको भन्दै ती नेताले भने, ‘अहिले पनि त्यस्तै अवस्था आउन सक्छ। हामी त्यसलाई रोक्न चाहन्छौं।’ इतर पक्षबाट एउटा मात्र उम्मेदवार हुँदा संस्थापन पक्षका केही सांसद देउवाविरुद्ध उभिन सक्ने आकलन गरिएको छ। त्यस्तो अवस्थामा ३२/३४ सांसद आफ्नो पक्षमा हुने आकलन गर्दै इतरका एक नेताले भने, ‘दुई उम्मेदवार बनेको अवस्थामा त्यति संख्या पनि देउवाविरुद्ध नपुग्न सक्छ।’

प्रतिनिधिसभामा ८९ सदस्य रहेको कांग्रेस संसदीय दलका नेतामा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका देउवाले पार्टीका सबै सांसदलाई टेलिफोन गरेर मत मागिसकेका छन्। निर्वाचन समितिले सोमबार मतदाता नामावली प्रकाशन गर्दै मंगलबार दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दिने कार्यक्रम छ। दिउँसो ३ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने समितिले जनाएको छ। ५ गते नै उम्मेदवारको दरखास्तउपर दाबी–विरोध, उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। मतदानका लागि पुस ६ गते बिहान ८ बजेदेखि १० बजेको समय निर्धारण गरिएको छ।

प्रकाशित: ५ पुस २०७९ ००:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App