२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

समानुपातिकतर्फ बाग्मतीमा कुन दललाई कति सिट?

निर्वाचन आयोगले बाग्मती प्रदेशमा समानुपातिकतर्फ दलहरूले पाउने सिट बाँडफाँड गरेको छ। आयोगले मंगलबार राति प्रदेशतर्फ १.५ प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूले पाउने सिट सङ्ख्या टुंगो लगाएको हो।

बाग्मतीमा प्रत्यक्ष सिट जितेका सात राजनीतिक दलले नै समानुपातिकबाट सिट थपेका छन्। आयोगको बाँडफाँड अनुसार प्रत्यक्षमा तेस्रो बनेको एमालेले समानुपातिकमा सबैभन्दा बढी सिट पाएको छ। उसले समानुपातिकमा १४ सिट जितेको छ।

प्रत्यक्षमा पहिलो बनेको कांग्रेसले समानुपातिकमा दोस्रो बढी १२ सिट हात पारेको छ। माओवादीले ७, राप्रपाले ६, नेकपा एकीकृत समाजवादीले २, नेपाल मजदुर किसान पार्टीले २ र हाम्रो नेपाली पार्टीले १ सिट जितेका छन्। 

बाग्मतीमा खसेको मतको १९ लाख ३७ हजार १८ सदर मत गणना भएको थियो। जसअनुसार एमालेले ५ लाख ९४ हजार ५ सय २१ मत पायो। कांग्रेसले ४ लाख ९४ हजार २ सय ६१ मत पाउँदा माओवादीले २ लाख ८५ हजार २ सय ७६ मत ल्यायो। त्यस्तै राप्रपाले २ लाख ७५ हजार ५ सय ६२, नेमकिपाले ६८ हजार ७ सय ९६ , एकीकृत समाजवादीले ६८ हजार १ सय १ र हानेपाले ४७ हजार ८ सय ८३ मत प्राप्त गर्‍यो।

कांग्रेस पहिलो दल, गठबन्धनलाई स्पष्ट बहुमत 

समानुपातिकसँगै कांग्रेस बाग्मती प्रदेशको ३७ सिटसहित सबैभन्दा ठुलो दल बनेको छ। उसले प्रत्यक्षमा २५ सिट जितेको थियो। दोस्रो दल बनेको एमालेको २७ सिट पुगेको छ। एमालेले प्रत्यक्षतर्फ १३ सिटमा जित हासिल गरेको छ। प्रत्यक्षमा १४ स्थानमा जितेको माओवादी २१ सिटसहित तेस्रो पार्टी बनेको छ।

प्रत्यक्ष र समानुपातिकसहित राप्रपा १३, समाजवादी ७, नेमकिपा ३ र हानेपाले सिट सङ्ख्या २ पुर्‍याएका छन्। प्रत्यक्ष र समानुपातिक जोड्दा पनि बाग्मतीमा एउटै दलले बहुमत पुर्‍याउन सकेनन्। यहाँ एकल सरकार गठनको सम्भावना छैन। मिलीजुली सरकार बनाउन दलहरू बाध्य भएका छन्।

कांग्रेस–माओवादी–समाजवादी गठबन्धनको भने स्पष्ट बहुमत पुगेको छ। उनीहरूको पक्षमा ६५ सिट छ। कुल १ सय १० सदस्यीय बाग्मती प्रदेशमा ५६ सिट बहुमत सङ्ख्या हो।

प्रकाशित: २० मंसिर २०७९ १६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App