coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चेतन अयडीको हत्यारा पक्राउको माग गर्दै एमाले बाजुरा सडकमा

जिल्ला प्रशासन कार्यालय अघि आयोजित एमालेको विरोध सभा। फोटो: नागरिक

विद्यार्थी नेता चेतन अयडीको हत्यारा पक्राउको मागसहित नेकपा एमाले बाजुराले चरणवद्ध आन्दोलन थालेको छ। २२ जना हत्या आरोपीका नाममा मुद्दा दायर गरिए पनि प्रहरी प्रशासनले पक्राउ नगरेपछि नेकपा एमालेले चरणवद्ध आन्दोलन थालेको हो।

पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरुकै अगुवाइमा जिल्ला व्यापी चरणवद्ध आन्दोलन सुरु गरिएको नेकपा एमाले बाजुरा सचिब भरत थापाले बताएका छन्। युवा विद्यार्थीले लगातार आन्दोलन जारी राखेका छन्। त्यसमा थप बल पुर्याउन र पीडीतलाई न्याय दिन एमालेले आन्दोलन थालेको सचिब थापाको भनाइ छ।

हत्या गरिएका विद्यार्थी नेता चेतन अयडीका आफन्तले दिएको किटानी जाहेरीमा उल्लेखित २२ जनालाई तत्काल पक्राउ गर्नु पर्ने माग नेकपा एमालेको छ। त्रिवेणी नगरपालिका ७ मा मंसिर ४ गते निर्वाचनका दिन भएको घटनाले बाजुराको सिंगो निर्वाचन प्रक्रिया नै अस्तव्यस्त बनेको छ।  

प्रहरी माथि आक्रमण प्रयास गरि बुथ कब्जा गर्ने युवाहरुको दस्ताको भीड नियन्त्रण र सुरक्षाका लागि प्रहरीले चलाएको गोली लागेर स्थानीय काँग्रेस कार्यकर्ता सन्जीव अयडीको घटना स्थलमै मृत्यु भएको थियो भने २ जना झडपमा परि घाइते भएका थिए। सोही दिन बुथ कब्जा गर्न रोकेको आरोपसहित अनेरास्ववियुका नेता चेतन अयडी माथि काँग्रेस कार्यकर्ताले आक्रमण गरेका थिए।  

सिंगो बुथ रोक्न अवरोध गरेको र गाउँमा फरक आस्थाको विचार सिद्धान्तलाई बढावा दिन खोजेको आक्रोशसहित घरमा लुकीरहेको अवस्थामा खाटमुनीबाट तानेर कुटीकुटी चेतन अयडीको हत्या गरिएको भिडियोले समेत देखाएको छ।  

तथ्य प्रमाणसहित पुष्टी गर्ने तमाम आधार भएर पनि प्रहरीले सत्ता शक्तिको बलमा हत्यारा पक्राउ नगरेपछि नेकपा एमाले चरणवद्ध आन्दोलनमा लागेको नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले बताएका छन्। आन्दोलनमा पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, प्रदेश सदस्य लालबहादुर ओली, पार्टी अध्यक्ष, सचिब, उपसचिवसहित नेता कार्यकर्ता सहभागि हुने गरेका छन्।

हत्यारा पक्राउ नगरेसम्म निर्वाचनका थप प्रक्रिया अघि बढ्न नदिने र आन्दोलन जारी राख्ने स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बताएका छन्। बाजुरामा स्थगीत भएको बुढीनन्दा नगरपालिका ५ को निर्वाचन मंसिर १० गते हुने भएको छ भने नेकपा एमालेले मान्छे मारेर, कुटपीट गरेर, घाइते बनाएर बुथ कब्जा गरिएका १७ वटा केन्द्रको पुन मतदानको माग गरेको छ।

सत्ता शक्तिको बलमा गरिएका सबै अवैध र अलोकतान्त्रीक गतिविधीकाविरुद्ध न्यायको आन्दोलन सुरु गरिएको स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बताएका छन्। हाम्रा मान्छेले मतदान गर्नै पाएनन्, प्रहरी स्वयम लागेर हाम्रा मतदान प्रतिनिधीलाई नै बाहिर पठाउने काम भयो, मत पेटीका शिल नगरेरै मार्तडी पुर्याएर अर्को बद्मासी भएको छ, यी सबै गल्तीहरुलाई सच्याउन निर्वाचन आयोग तयार हुनु पर्ने थापाको माग छ।

सयौंको संख्यामा एमाले नेता कार्यकर्ता सहभागि धर्ना तथा जुलुसमा नारा बाजीसहित प्रहरी प्रशासनको विरोध गरिएको छ। हत्यार पक्राउको मागसहित गरिएको आन्दोलनमा सहभागी ११ जना युवा विद्यार्थीलाई अभद्र व्यवाहारको नाममा मुद्दा लगाएर आन्दोलन कमजोर पार्ने षड्यन्त्र भइरहेकोले त्यसका लागि पनि एमालेले खबरदारी गरिरहेको बताएको छ।  

पक्राउ गरिएका ११ जनालाई बीना सर्त रिहाइको माग एमालेले गरेको छ। हत्यारा पक्राउ नगरिएसम्म अयडीको शव समेत नउठाउने अडान आफन्तको छ। शिक्षक, दलका नेतादेखि स्थानीय अगुवा भनिएहरुकै प्रत्यक्ष मिलोमतो र पूर्व तयारीमा हत्या गरिएको भएपनि प्रहरी प्रशासन संरक्षणमा लागिरहेको आरोप एमालेको छ।  

हत्यारा पक्राउ नभएसम्म कुनै प्रक्रिया अघि नबढाउने र आन्दोलनलाई थप शसक्त बनाउने चेतावनी एमालेले दिएको छ। विद्यार्थी संगठनले चारदिनदेखि जारी राखेको बाजुरा बन्दको कार्यक्रम फिर्ता लिएपनि शान्तिपूर्ण धर्ना जारी राख्ने नेकपा एमालेले बताएको छ।  

पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा सहीतका शिर्ष नेताहरु नै जिल्ला प्रशासन कार्यालय बाजुरा अघि धर्ना दिने गरेका छन्। विरोध सभासहित धर्ना र नाराजुलुसका गतिविधी जारी राख्ने रणनीतिमा नेकपा एमाले छ। नेकपा एमालेले सहायक प्रमुख जिल्ला अधिकारी र पत्रकार रामबहादुर दानीबीचको कुराकानीको जिम्मेवारी र जवाफ तत्काल दिन चुनौति दिएको छ।  

प्रकाशित: ९ मंसिर २०७९ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App