इलाम क्षेत्र नम्बर १ मा नेकपा (एमाले) उम्मेदवार महेश बस्नेतले नेकपा (एकीकृत)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँगको अग्रता कायमै राखेका छन्। गत बुधबार राति स्थगित भएर आज बिहान सुरु गणनामा बस्नेतले १ हजार ५ सय ४६ मतको अग्रता कायम राखेका हुन्।
बस्नेतले ११ हजार ३ सय ९४ मत ल्याएका छन् भने खनालको ९ हजार ८ सय ४८ मत छ। अहिलेसम्म प्रतिनिधिसभाको यो क्षेत्रमा २६ हजार ३ सय ९४ मत गणना सकिँदा २५ हजार १ सय ९९ मत सदर र १ हजार १ सय ९५ मत बदर भएको छ। क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ।
यही क्षेत्रको प्रदेशसभा १ (१)मा नेकपा (एस)की उम्मेदवारले अग्रता लिएकी छिन्। उनले एमाले उम्मेदवार शोभा पराजुलीभन्दा ५ सय ८३ मतको अग्रता कायम गरेकी हुन्। लिम्बूले ५ हजार ९ सय २ र पराजुलीले ५ हजार ३ सय १९ मत ल्याएका छन्।
समानुपातिकतर्फ प्रतिनिधिसभामा एमालेको अग्रता छ। अहिलेसम्मको गणनामा एमालेले ९ हजार ६५ मत ल्याएको छ भने नेपाली कांग्रेसले ६ हजार २ सय १९ र नेकपा (एस)ले २ हजार ६ सय २३ मत ल्याएका छन्। प्रतिनिधिसभाको समानुपातिकमा अहिलेसम्म २३ हजार ६ सय ७५ मत गणना भइसकेको छ।
प्रदेशको समानुपातिकतर्फ पनि एमालेकै अग्रता छ। एमालेले ७ हजार ४ सय ८७ मत ल्याएको छ भने कांग्रेसले ४ हजार ६ सय ६५ र नेकपा (एस)ले १ हजार नौ सय ८१ मत ल्याएका छन्। प्रदेशसभातर्फ १८ हजार ५ सय ७१ मत गणना गरिसकिएको छ।
प्रकाशित: ९ मंसिर २०७९ ०६:०८ शुक्रबार