५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कास्कीः कहिले घण्टीको, कहिले अरुको पालो

राष्ट्रिय स्वतन्त्र पार्टीसँग मूलधारका दलको लुकामारी

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा मुख्य राजनीतिक दलले संचारमाध्यममा ठुलो रकम खर्चेर विज्ञापन गर्दै आफ्नो दल र उम्मेदवारका लागि मत मागे। घरदैलोमा पनि समूह बनाएर दल र उनीहरुका कार्यकर्ता परिचालित भए। शीर्ष नेता बोलाएर ठुला सहरमा भेला र आमसभा गरे। प्रचारप्रसारको तामझाम हेर्दा चुनावी परिणाममा ठुला दल मानिएका कांग्रेस, एमाले र माओवादीको मुख्य हिस्सा रहने गरि चर्चा चलाईयो।  

तर, चुनावपछिको मतगणनाको अहिलेसम्मको अवस्थाले भने ठुला भनिएका दललाई अहिले निकै नै ठुलो दवाव आइपरेको छ। निर्वाचनपछिका दुइदिनसम्मको मतगणनाको अवस्थाले मूलधारका दललाई नै माथ खुवाउने गरि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिँदा सर्वत्र चर्चा छ। पाँचमहिना अघि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले देशैभर माहोल तताएको छ। यतिसम्मकी चुनावी प्रचारप्रसार पनि उत्तिसारो नभएको ठाउँमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले नै अग्रता लिएको छ । त्यसको उदाहरण हो–कास्की।

राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीका तीनवटै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार उठाएको थियो। कास्की १ मा राजु राई, २ मा माधवप्रसाद कँडेल र ३ मा योगराज पौडेललाई उम्मेदवार बनाएको थियो। तीनवटा मध्ये कास्की २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरु मूलधारका दल भन्दा अगाडि छन। मतगणनाका क्रममा बेलाबेला मूलधारका दल भन्दा अघिपछि भइरहँदा मतगणनास्थलमा रोमाञ्चकता छाएको छ। मूलधारका दलकै अघिपछि पर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मत पाएका छन्। अघिपछि पर्दा पनि मतान्तर ज्यादै नै न्यून हुने गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग मतसंख्याको आधारले अहिले लुकामारी चलिरहेको छ।

कास्की बाहेक छिमेकी जिल्ला स्याङजामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारप्रसार केही बढि थियो। अरुतिरको तुलनामा कास्कीका प्रचारप्रसार कम भएपनि मतदाताले मूलधारका दललाई नपत्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले यो आकारमा मत पाएका पार्टीका गण्डकी प्रदेश सदस्य तथा कास्की–२ को निर्वाचन परिचालन समितिका संयोजक विकास भुर्तेलले बताए। ‘राष्ट्रिय स्वतन्त्र पार्टीले संचारमाध्यममा विज्ञापन गरेको होईन, घरदैलोमा समय दिएको हो। तर, सबैतिरको प्रचारप्रसारले साथ दिँदा कास्कीले पनि गति लिन सक्यो,’ भूर्तेलले भने, ‘स्याङजामा प्रचारप्रसार गरिएको हो। कास्कीमा घरदैलो मात्र भएको हो । घरदैलोको भरमा पनि यो आकारमा मत आयो।’  

उनका अनुसार पार्टीले निर्वाचनको क्रममा संचारमाध्यममा विज्ञापन त गरेन नै भएका गतिविधिको समाचार पनि संचारमाध्यमले उत्तिसारो प्रकाशित–प्रशारित गरेका थिएनन। ‘हामीलाई कसैले पत्याएको थिएन। तर, मतदाताले पत्याए। त्यही नै ठूलो कुरा हो,’ उनले भने। भूर्तेलको विश्लेषणमा जनअपेक्षा अनुसार अरु दलले काम गर्न नसक्दा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई फाइदा पुगेको हो।

‘जनताले मूलधारका दलको विकल्प चाहेका थिए। मूलधारका दलमा परिवतर्न चाहेका थिएन। तर, ती दलले जनताको परिवर्तनको चाहना बुझ्ने आँट गरेनन,’ उनले भने, ‘दलको जनमतको कदर नगर्दा यो अवस्था आएको हो।’ मतदाताले उम्मेदवार नै चिन्न नपाएको अवस्थामा पनि यो पटकका लागि विश्वास गरेको उनले बताए। ‘कतिपयलाई त घण्टी चुनाव चिन्हबारे पनि थाहा थिएन,’ उनले भने ‘उम्मेदवारको त कुरै छाँडौं।’

मतदाता पनि पुरानो ढर्राका चुनावी नारा र घोषणापत्रले दिक्क भएपछि बाध्य भएर विकल्प खोज्दा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीमा मत दिन पुगेको बताउँछन्। ‘खासमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आम मतदाताको अपेक्षा अलि बढी नै भएको हो। मूलधारका दलले जब जनमतको वेवास्ता गरे, मतदातामा निराशा छाउँदा यो अवस्था आएको हो,’ पोखराको एउटा निजी विद्यालयमा अध्यापनरत शिक्षणक भन्छन, ‘वर्षाैदेखिको राजनीनिमा दोहोरिइरहेका मूलधारका दलका नेता र उनीहरुका आश्वासन देखेर मतदाता वाक्क भएका थिए । केही नयाँ होला की भनेर म आफैले पनि स्वतन्त्र पार्टीलाई मत दिन पुगे।’  

ती शिक्षकको बिचारमा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले उत्तिसारो प्रचारप्रसार गरेको थिएन। तर, सामाजिक सञ्जालमा भने राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गरेका पूर्वसञ्चारकर्मी रवि लामिछानेको चर्चा चुलिएको थियो। त्यसमा पनि घण्टी चुनाव चिन्हले धेरैको मत तानेको उनले बताए। ‘मसँग राष्ट्रिय स्वतन्त्र पार्टीका कोही पनि उम्मेदवार मत माग्न आएका थिएनन, तर, सामाजिक सञ्जालभर प्रचारप्रसार घण्टीको थियो। त्यही भएर मेरो मन पनि बदलिएको हो,’ ती शिक्षकले भने, ‘स्थानीयतहको चुुनावदेखि नै मतदाताले मूलधारको राजनीतिमा परिवर्तन र यूवा पुुस्ताको खोजि गरिरहेको थियो । त्यही भएर अहिले केही परिवर्तन देखिएको हो। यो अरु दलका लागि पनि सिकाई हो।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नै अहिले आफुले मत पाउँदा दंग छन। राष्ट्रिय स्वतन्त्र पार्टीका कास्की–२ का उम्मेदवार माधवप्रसाद कँडेल भन्छन, ‘अरु दलको प्रतिश्पर्धामा आउनेमा विश्वस्त थिए, त्यही अनुसार मत पाएका छौ। नयाँ पार्टी हो। कार्यकर्ता यत्ति होला भन्ने आँकलन थिएन। तर, सबैको सहयोगले यो अवस्था आएको हो।’ उनले अरु दलमा ब्यापक बेथिति देख्दा मतदाताले परिवर्तन खोजेको र त्यो परिवर्तन आवश्यक पनि रहेको उनले बताए।  

राजनीतिक विश्लेषक कपिलमणि दाहालका विचारमा चुनावमा कहिलेकाँही अप्रत्याशित परिणाम आउने गर्छ। नेपालको सन्दर्भमा हरेक पटकको निर्वाचनमा एउटा फरक शक्ति विकल्पमा देखिने गरेको छ। २०४७ मा जनमोर्चाको यस्तै अवस्था थियो। २०६४ मा माओवादी प्रति बढी मत खस्नुको कारण पनि विकल्प खोज्दा रहेको उनले बताए। 

‘अहिले पनि मतदाताले विकल्प खोजेका हुन। भईरहेको अभ्यासमा सन्तोष नभएपछि परिवर्तनका लागि मत दिएका हुन्,’ दाहाल भन्छन, ‘नयाँ दलमा भोट हाल्ने विकल्प छ भन्ने लाग्यो भने यस्तो खालको परिणाम आउँछ।’ दाहालको बुुझाईमा अघिल्लो पटकको चुनावमा माओवादी र एमाले मिल्दा चुनावी परिणामपछि राम्रो होला भन्ने सोचेका मतदाताले त्यो अनुसार पाएनन। अहिले कांग्रेस र माओवादी मिल्दा पनि विश्वास नलागेकोले विकल्प खोजिएको हुनसक्छ।

‘यो एउटा लहर पनि हो। मैले यतिसम्म भेटे की भोट खसाल्न जान थालेका वृद्ध बुबाआमाको मतदाता परिचयपत्र हातमा लिएर छोराछोरीले घन्टीमा भोट हाल्न दवाव दिए,’ उनले भने, ‘वृद्ध बुबाआमा अरु दललाई भोट खसाउने मुडमा थिए। तर, छोराछोरीले घन्टीमा भोट हाल्न दवाव दिए। घन्टीमा भोट खसाउने भए मात्र परिचयपत्र दिने नत्र नदिने भनेर अडान कसे। त्यसपछि बाबुआमा बाध्य भए।’ सामाजिक सञ्जालमा व्यापक हुँदा पनि त्यसको प्रभाव परेको उनी बताउँछन।

‘विदेशमा रहेका युवाले घरमा फोन गरेर अभिभावकलाई घन्टीमा भोट हाल्न लगाए,’ उनले भने, ‘छोराछोरीको दवाव अभिभावकले अस्वीकार गर्न सकेनन।’ समानुपातिक प्रणालि पनि भएका कारण यो पटक भोट स्वतन्त्र पार्टीतर्फ मत गएको पनि उनको अनुमान छ। ‘प्रत्यक्षमा आफ्नो दललाई र समानुपातिकमा स्वतन्त्रलाई दिने भन्ने सबैतिर हल्ला फैलियो,’ उनले भने।

अहिलेको चुनावी परिणामले मूलधारका दललाई सचेत बनाएको उनी बताउँछन। ‘दलहरु सचेत हुनुपर्छ भन्ने हो। यो समुहको राजनीनिक अनुभव छैन। तर, मतदाताले पत्याएका छन्। पुराना दलप्रतिको विकर्षणले गर्दा पनि यो अवस्था आएको हो,’ उनले भने, ‘एकै व्यक्तिलाई बारम्बार भोट दिँदा पनि असन्तोष चुलिएको रहेछ। पुरानालाई मात्र कति भोट दिने भन्ने सोचाँई पलायो।’ केही महिना अघि भएको स्थानीय तनहको चुनावमा स्वतन्त्रका उम्मेदवारले जितेको र काम गरेको देख्दा पनि अहिले स्वतन्त्र दलप्रति आकर्षण बढाएको हुनसक्ने राजनीतिशास्त्रका प्राध्यापक समेत रहेका दाहालले बताए।  

प्रकाशित: ६ मंसिर २०७९ १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App