प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्न आइतबार देशभरि मतदान भयो। सोही क्रममा ललितपुरका विभिन्न मतदानस्थल र केन्द्रमा भेटिएका मतदाताहरू स्थापित दलहरूसँग असन्तुष्ट देखिए।
पटकपटक निर्वाचित जनप्रतिनिधिले दैनिक जीवनसँग जोडिएका तथा वर्षाैंदेखि भोग्दै आएका सडक, खानेपानी लगायत समस्यालाई सम्बोधन नगरिदिएको भन्दै उनीहरूले पुराना दलप्रति निराशाजनक अभिव्यक्ति दिएका हुन्। ठुलाठुला अपेक्षा नभए पनि पुराना दलबाट जनप्रतिनिधि बनेकाहरूले जनताका समस्याप्रति चासो राख्न छाडेपछि आफूहरूको मन बदलिएको उनीहरूले बताए।
धापाखेलका किसन महर्जन ललितपुर क्षेत्र नम्बर ३ का मतदाता हुन्। उनले यसपटक नयाँ दललाई भोट हालेको बताए। ‘नयाँ दलले काम गर्ने तरिका पनि नयाँ नै हुन्छ। त्यसैले यसपटक नयाँलाई नै भोट दिएँ,’ उनले भने। नयाँ दलले बिदेसिएका युवाबारे केही सोच्छन् कि भन्ने आशा आफूले राखेको उनको भनाइ थियो। ‘नयाँ दलले जितेपछि दैनिक हजारौंको संख्यामा विदेशतिर पलायन हुन बाध्य युवालाई स्वदेशमै अवसर सिर्जना हुन्छ कि भन्ने अपेक्षा छ,’ उनले भने।
विगतमा पुराना दललाई पटकपटक भोट दिएर निर्वाचित गराए पनि केही परिवर्तन नआएको गुनासो उनले गरे। क्षेत्र नम्बर ३ कै मतदाता सविन महर्जनले पनि यसपटक नयाँ दल रोजेको बताए। नयाँ दलले केही गर्छ कि भन्ने आशा आफूमा रहेकाले त्यसैैका पक्षमा मतदान गरेको उनको भनाइ थियो।
‘हाम्रा व्यक्तिगत चाहना वा आकांक्षा केही छैनन् तर सिंगो देश र हरेक गाउँठाउँको विकास हुनु जरुरी छ,’ उनले भने। यसअघि विकल्प नभएकाले पुरानै दललाई भोट हाल्नुपर्ने बाध्यता रहेको बताउने महर्जनले यसपटक भने नयाँ दल र नयाँ अनुहार रोज्न पाउने विकल्पको सदुपयोग गरेको बताए।
‘यसअघिका निर्वाचनमा बुढापाकालाई नै जबर्जस्ती भोट हाल्नुपथ्र्यो, अहिले नयाँ सोच भएका उम्मेदवार भएकाले केही गर्छन् कि भन्ने आशा जागेको छ,’ उनले भने। उनले परिवर्तनका लागि पुराना दलको विकल्प खोज्नुपर्नेमा जोड दिए।
ललितपुर क्षेत्र नम्बर २ का मतदाता नील शाक्य नयाँ दलसँग नयाँ ‘भिजन’ हुने भएकाले आफ्नो रोजाइमा परेको बताउँछन्। पाटन डौबहाल निवासी उनी नयाँ दलले नयाँ तरिकाले काम गर्नेमा विश्वस्त छन्। ‘नयाँ दल र नयाँ जनप्रतिनिधिले गर्ने कामलाई पक्कै पनि धेरैले रुचाउनेछन्,’ उनले भने।
यसअघि आफूहरूले जिताएर पठाएका उम्मेदवारले केही काम नगरेको ठहर उनको छ। कतिपय मतदाता राजनीतिक दल र नेताहरूप्रति वितृष्ण बढेका कारण मतदान प्रक्रियामै सहभागी नभएको उनले बताए। उनले नयाँ दलहरूका एजेन्डा जनताका समस्यालाई सम्बोधन गर्ने खालका भएको दाबी गरे। ‘नयाँ दलहरूले शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषयलाई प्राथमिकतामा राखेका छन्। जनताले खोजेका कुरा यस्तै त हुन्। त्यसैले नयाँ दलप्रति हाम्रो विश्वास जागेको हो,’ उनले भने।
शाक्यले जनताको मत लिएर जित्ने उम्मेदवारलाई जनतासँगै जोडिएर काम गर्न सुझाए। विकास निर्माणसँगै अन्य सुधारका विषयमा पनि नेताहरूले ध्यान दिनुपर्ने आवश्यकता उनले औंल्याए। नयाँ दलले गरिब, मजदुर र दुःखीका समस्या समाधान गरोस् भन्ने अपेक्षा आफूले राखेको उनले बताए।
ललितपुर क्षेत्र नम्बर २ पाटनका मतदाता आनन्दभक्त अमात्यले भने आफूले नयाँ र पुराना दुवैखाले दलका उम्मेदवारलाई मिलाएर मतदान गरेको सुनाए। ‘कुनै एउटा दल विशेषलाई मतदान गर्नैपर्छ भन्ने दबाब र प्रभावमा म परिनँ। उम्मेदवार हेरेर नयाँ र पुराना दुवै दललाई भोट हालें,’ उनले भने।
अमात्य यसअघिका निर्वाचनमा विभिन्न दलका उम्मेदवारहरू घरदैलो गर्दै भोट माग्न आउने गरे पनि यसपटक त्यस्तो अवस्था नदेखिएको बताउँछन्। यसपालि चुनावी प्रचारप्रसार नै कम भएको ठम्याइ उनको छ। यसपटक दलहरूले मतदातालाई भोट हाल्नसमेत नसिकाएको र प्रचार पनि कम गरेकाले मतदाताको उत्साहमा पनि कमी आएको महसुस आफूलाई भएको उनले बताए।
उनी नयाँ पुराना दुवैखाले दललाई भोट हाले पनि परिवर्तनका लागि नयाँ दल उदाउनुपर्ने पक्षमा आफू रहेको उनले बताए। ‘अब नयाँ दल नै आउनुपर्छ। यसअघि पुराना दललाई मात्र भोट दिएर हामीले दुःख पायौं। काम केही भएको होइन,’ उनले भने। अहिलेका जनताले सुधार चाहेको बताउँदै अमात्यले नयाँ दलबाट देशको विकास भएको हेर्ने रहर आफूमा रहेको बताए।
ललितपुर १ का केही मतदाताले भने नयाँ दलका उम्मेदवारबारे पर्याप्त जानकारी नहुँदा पुराना दलकै उम्मेदवारलाई मतदान गरेको बताए। ‘नयाँ दल र नयाँ उम्मेदवारले जितुन् भन्ने हाम्रो पनि चाहना थियो तर उम्मेदवार चिन्न नसक्दा पुरानैलाई भोट हाल्न बाध्य भयौं। नयाँ दलका उम्मेदवार न त भोट माग्न आए न कुनै परिचित अनुहार नै भेट्टायौं,’ मतदान दिएर बाहिरिँदै गरेका उनीहरूले भने। क्षेत्र नम्बर १ बज्रबाराहीका मतदाता सञ्जय देउलाले पनि यसपटक पुरानै दललाई भोट हालेको बताए। पुराना दलका उम्मेदवारलाई जिताएर पठाएपछि मात्र विकास हुन सक्ने तर्क उनले गरे।
क्षेत्र नम्बर १ का अर्का मतदाता तारा देशार पनि पुरानो दललाई भोट दिएको बताउँछिन्। ‘पुराना उम्मेदवार चिनेजानेका छन्। नयाँलाई जिताएर पठाए पनि उनीहरूले काम नै गर्छन् भन्ने के ग्यारेन्टी छ र ? जितेपछि फर्केर आएनन् उनीहरूलाई खोज्न कहाँ जाने?’ उनले भनिन्। पुरानालाई भोट दिएर जिताएपछि काम नगरे घरमै गएर गाली गर्न सकिने उनले बताइन्।
ललितपुर क्षेत्र नम्बर १ कै मतदाता रहेकी सन्तानेश्वरकी ८० वर्षीया चञ्चला खड्का भने पुराना र नयाँ दल कसैसँग आशावादी देखिइनन्। पहिले सबैले आशा देखाउने निर्वाचित भएपछि कसैले काम नगर्ने उनी बताउँछिन्। ‘सबै उम्मेदवार उस्तै हुन्, कसैले गर्ने केही होइनन्,’ उनले भनिन्।
आफूले मतदान अधिकार प्रयोग गरे पनि उपयुक्त उम्मेदवारलाई भोट दिन नपाएको गुनासो उनले गरिन्। उनी अब जितेर जाने सांसदले आफ्नो गाउँठाउँको विकास गरिदिउन् भन्ने चाहन्छिन्। आफ्ना छोराछोरी तथा नातिनातिनाहरू अवसर नपाएर बिदेसिनुपरेको देख्दा दुःख लाग्ने गरेको उनले बताइन्। उनी स्वदेशमै रोजगारीको अवसर सिर्जना होस् भन्ने पनि चाहन्छिन्। उनी विदेशमा भएका आफ्ना छोराछोरीलाई उतैबाट मतदान प्रक्रियामा सहभागी हुने व्यवस्था नगरेको भन्दै असन्तुष्ट पनि देखिइन्।
उनीसँगै भेटिएकी ७० वर्षीया शान्ति खड्काको गुनासो पनि चञ्चलाको भन्दा भिन्न छैन। ‘भोट माग्ने बेलामा घरघरमा पानी, ग्याँस ल्याइदिने भनेर आशा देखाउँछन्। जितेर गएपछि फर्केरै आउँदैनन्। महँगीले आकाश छोएको छ तर कसैले वास्ता गर्दैनन्। अब जितेर जाने उम्मेदवारले यस्ता कुरामा ध्यान दिउन्,’ उनले भनिन्।
प्रकाशित: ५ मंसिर २०७९ ०२:०१ सोमबार