२९ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

बाह्र दिनपछि सूर्यको दर्शन गर्दै बाह्रामचाः (फोटो फिचर)

नेवार समुदायले जन्मदेखि मृत्युसम्म विभिन्न संस्कार गर्ने गर्दछन्। त्यसमध्येको एक संस्कार हो बाह्रा तय्गु अर्थात् गुफा राख्नु। नेवार कन्यालाई रजस्वला नहुँदै १२ दिनसम्म सूर्यको मुख नदेखाई अँध्यारो कोठामा लुकाइराख्ने चलनलाई बाह्रा वा गुफा राख्ने भनिन्छ।

बाह्राका क्रममा १२ दिनसम्म उज्यालो नछिर्ने बन्द कोठामा बस्दा नेवार कन्याले आफ्नो शारीरिक तथा मानसिक परिवर्तन, मनोवैज्ञानिक जिज्ञासा, प्रजनन स्वास्थ्य र यौनसँग सम्बन्धित आधारभूत ज्ञान, व्यक्तिगत सरसफाइ, गृहस्थी जीवन, पारिवारिक दायित्वलगायत धर्म र संस्कारसम्बन्धी ज्ञान प्राप्त गर्छन्। रजोवतीअघि नेवार कन्यालाई बाह्रा राखिन्छ र यसलाई नेपाली भाषाभाषीहरू गुफा राख्ने वा गुफा पस्ने पनि भन्छन्। 

बाह्राको १२औं दिन बिहान सबेरै सूर्योदयअघि नै बाह्रामचालाई स्नान गराई चोखीनिती गरिन्छ। घरका अरू सदस्यले पनि स्नान गरी चोखीनिती गर्छन्। घर पनि लिपपोत गरिन्छ। बाह्रामचालाई सौन्दर्य प्रशाधनले दुलहीजस्तै सिँगारिन्छ। त्यसपछि विधिपूर्वक बाह्रामचालाई बन्द कोठाबाट बाहिर निकाली अनुहार छोपेर घरको कौसीमा अथवा घरको पिखालखु द्यः (कुमार) अगाडि उभ्याइन्छ।यसरी सूर्यदर्शनको काम सम्पन्न गर्छन्। सूर्यदर्शनअघि नै अन्यत्र पुरुषतिर दृष्टि नपरोस् भनेर तामा वा पित्तलको भाँडो राखिएको पानीमा सूर्यको छायाँ हेर्न लगाइन्छ। त्यसपछि सूर्यको दर्शन गराइन्छ। सूर्यदर्शन र सूर्यपूजाका लागि बाह्रामचालाई ज्वालान्हायकँ (धातुको विशेष ऐना) र सिन्हःमु (टीकादानी) दिइन्छ।

 यी सबै क्रियाकलाप गर्न/गराउन घरकी ज्येष्ठ महिलाको अहं भूमिका रहन्छ। सूर्यदर्शन र सूर्यपूजापछि बाह्रासंस्कार पूरा भएको मानिन्छ। बाह्रा निकाल्ने क्रममा नजिकको गणेश मन्दिरको दर्शन र पूजा गर्ने प्रचलन पनि कहीँकतै पाइन्छ। सूर्यदर्शनलाई कसैकसैले सूर्यसँगको विवाह भन्ने गरेका छन्। सूर्यलाई कन्यादान नगरिएको र सूर्यको दर्शन मात्रै भएकाले यो सूर्यविवाह नभएको जानकार नेवारहरूको भनाइ छ। बाह्रा पिकायेगु (बाह्रा निकाल्ने) दिनमा घरमा भोजको आयोजना गरी नातागोता तथा आफन्तलाई खुवाउने चलन पनि छ।

प्रकाशित: १८ मंसिर २०७८ ०९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App