अब मेरो यात्रा सिमजुङतिर अनि साथीको ताकुमाझतिर मोडियो। केही किलोमिटरको पिच बाटो कटाउन त त्यस्तो गाह्रो भएन तर जब कच्ची बाटो सुरु भयो, आफ्नो जन्मप्रति पछुतो लाग्न थाल्यो। जेट प्लेन चढेर आएको मलाई ट्र्याक्टरमा कोचेर त्यसमाथि अर्को साथीलाई थिच्न लगाएर खाल्डैखाल्डा भएको बाटोमा यात्रा गराउनेसँग कम्ता रिस उठेन! हाम्रो फोटो र भिडियो खिच्नेहरूलाई चाहिँ राम्रै मोटरको व्यवस्था गरिदिएको देख्दा डाहा नलागेको पनि होइन। तर आफ्नो कर्मै खोटो भनेर चित्त बुझाएँ। चनौटेमा सिमजुङ र ताकुमाझ जाने बाटो छुट्टिने रहेछ। हल्लिँदै र थिचिँदै चनौटे पुगेपछि मेरो र साथीको यात्रा छुट्टियो र आ–आफ्नै बाटो लागियो। आफूमाथि बसेको साथी झर्ने भएपछि छुट्टिने दुःखभन्दा पनि हल्का हुने खुसीले रमाएँ।
चनौटेपछि आएको एउटा खोलामा मोरो ट्र्याक्टर ड्राइभरले यस्तरी हुइँक्यायो कि खोलाको पानीले निथ्रुक्कै पार्योच। ढोडेनी भन्ने ठाउँबाट बारपाक र सिमजुङ जाने बाटो छुट्टिने रहेछ। ढोडेनीबाट सिमजुङका लागि उकालो लाग्दा साँझको छ बज्न लागेको थियो। कालो बादलबाट पानी झर्न हतारिँदै थियो। मभन्दा अगाडि फोटो र भिडियोग्राफर चढेका दुई मोटर थिए। ढोडेनीबाट अलि माथि जानेबित्तिकै अप्ठ्यारो बाटो फेला परिहाल्यो। एउटा मोटर त दुःखले कट्यो भने अर्कोको केही सिप लागेन। म चढेको ट्र्याक्टरले तान्ने कोसिस गर्दागर्दै पानी दर्किहाल्यो। त्यसपछि म र एउटा मोटर चढेकाहरू फर्केर ढोडेनी बस्नुपर्ने अवस्था आइलाग्यो।
अर्को मोटर रातो माटोमा फिलिली चिप्लिएपछि त्यसमा चढेकाहरू गाउँतिर बास मागेर रात कटाएको भोलिपल्ट भेट भएपछि थाहा भयो। सानो मोटर सिमजुङ जान नसक्ने भएपछि त्यसमा चढेका सबै हिँडेर अनि मलाई चाहिँ ट्र्याक्टर जाने ठाउँसम्म त्यसैमा पठाउने भए। ट्र्याक्टर जान नसक्ने ठाउँका लागि मलाई बोक्न १० जनाजति भरिया पनि खोजिहाले। हिजोसम्म राम्रो मोटर चढेकाहरू आज उकालोमा पसिना काढ्दै झोला बोकेर हिँडेको देख्दा मलाई कम्ता आनन्द लागेन। त्यो आनन्द पनि धेरै बेर टिक्न दिएनन्, एक घन्टा नहिँड्दै सबै आएर मैमाथि बसिहाले। के गर्ने पुर्पुरा नै खोटो भएपछि कसको के लाग्छ!
उकालोको यात्रा पनि कम डरलाग्दो थिएन। रातो माटोमा पानी परेर चिप्लो भएको बाटोमा ट्रयाक्टरको ठूलो चक्का फिनिनी घुमेर पछाडि सर्दा त सात्तै उडेको थियो। ट्र्याक्टरले तान्न नसकेको ठाउँमा सबै मिलेर ठेलेको देख्दा यिनीहरूले मलाई जसरी भए पनि पुर्या उँछन् भन्नेमा ढुक्क थिएँ। वर्षायामको कच्ची बाटोले गर्दा बिचरा ट्र्याक्टर ड्राइभरले धेरै दुःख पायो। जेहोस्, दुःख–सुःख झेल्दै झन्डै तीन घन्टाको यात्रापछि ससाना दुई–तीन पसल भएको ठाउँमा ट्र्याक्टर रोकिनासाथ गाउँलेहरूको तालीले स्वागत गरेको देख्दा यात्रा सकियो भनेर ढुक्क भएँ। त्यो ढुक्क पनि धेरै बेर टिकेन। एकै छिनमा मैमाथि चढेर आएका भरियाहरूले नाम्लो लगाउँदै, झल्ट्याङझुल्टुङ पार्दै बोकेर फेरि उकालो लागे। भर्खरैसम्म ममाथि चढेकाहरू माथि आफैं चढ्न पाउँदा अलिकति भए पनि बदला लिएजस्तो लाग्यो आफूलाई। झन्डै आधा घन्टाजति तिनीहरूको बुई चढेर गएपछि भूकम्पले चर्काएको एउटा घर नजिक लगेर मलाई पछारे। अबचाहिँ निश्चिन्त भएँ, मेरो ठाउँ यही हो भनेर। एक छिनको सुस्ताइपछि मेरो जन्मकुन्डली हेर्दै मेरो छताछुल्ल भएको रूपलाई खुसी हुँदै आकार दिन थाले स्थानीय र स्वास्थ्य चौकीका कर्मचारीहरूले। एक घन्टाजतिमा म पूर्ण रूपले तयार हुँदानहुँदै पानी दर्किन थालिहाल्यो। सबैले मलाई सहारा ठानेर मभित्र शरण लिए। मचाहिँ बर्सातको आनन्द लिँदै लागेको हिलो–मैलोहरू पखाल्न लागेँ।
अर्को दिन रातभरिको पानीले पखालिएर नवविवाहिता दुलहीजस्तै म टिलिक्क परेर बसेको थिएँ। मलाई हेर्ने गाउँलेहरूको लोभी नजर देख्दा आजचाहिँ म साँच्चै राम्रो भएछु जस्तो लाग्यो। बिहान ८ बजेतिर स्वास्थ्य चौकीका कर्मचारीहरूले हरियो पर्दा, सुत्केरी सुताउने खाट अनि धेरै दबाई लिएर आए र ती सबै सामान मभित्र सजाउन थालेपछि थाहा भयो— यहाँ भूकम्पले त्रसित बनेका गर्भवती महिला र बालबालिकाहरूको सेवाको लागि आएको रहेछु।
भूकम्पले पीडित यो दुर्गम गाउँमा मेरो उपस्थितिले गर्भवती महिला र बालबालिकाको अनुहारमा छाएको खुसी देखेपछि आफू 'टेन्ट'को जन्म लिएर यहाँ आइपुगेकोमा गर्व लाग्न थालेको छ। यात्राका सबै दुःख पनि बिर्सिएको छु। अब मेरो आश्रयमा धेरै शिशुहरूले नयाँ जीवन पाउनेछन्।
प्रकाशित: २९ श्रावण २०७२ २२:१७ शुक्रबार