२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

संघर्षको कथा ‘यात्रा जिन्दगीको’

पुस्तक

डा.पुष्करराज भट्ट

लेखक होमनाथ खनालको पहिलो कृति ‘यात्रा जिन्दगीको’ विएन पुस्तक संसार प्रालि, बागबजारबाट प्रकाशित भएको छ । यस कृतिमा लेखक होमनाथ खनालको जीवनका अनुभूति र अनुभवको संयोजन पाइन्छ । लेखकले आफ्नो जीवनमा घटेका घटनालाई कलात्मक किसिमले व्यक्त गरेका छन् । यस कृतिले लेखक होमनाथ खनालको जीवनका विभिन्न पाटाको उजागर गरेको छ । जीवनयात्रामा भोग्नुपरेका तीतामीठा अनुभवका साथै ती घटनासँग जोडिएका अनूभुतिलाई उनले सजीव किसिमले व्यक्त गरेका छन् ।

अहिले बजारमा विभिन्न आत्मसंस्मरणका कृति पाइन्छन् । ठूलाबडा, पदप्रतिष्ठा बोकेका मानिसमा पनि अहिले आफ्नो आत्मसंस्मरण लेख्ने वा लेखाउने चलन बढेको छ । अहिले पुस्तकको बजारमा यस प्रकारका  कृतिले ठाउँ पाएका छन् र यस किसिमका कृतिले प्रचारप्रसारमा पनि राम्रो स्थान पाएका छन् । हिजोका दिनमा साहित्यिक क्षेत्रका व्यक्तिले आफ्नो जीवनी लेख्ने, संस्मरणको कृति निकाल्ने गर्दथे । वर्तमानसम्म आइपुग्दा विभिन्न पेशाव्यवसायसँग सम्बन्धित मानिस पनि यसप्रकारका कृति लेख्ने र प्रकाशित गर्ने कार्यमा लागेका छन् । यस किसिमका कार्यले एकातिर आफ्नो जीवन इतिहास लेखिनुपर्छ भन्ने चेतना विकसित भएको छ भने नेपाली साहित्य क्षेत्रमा पनि उल्लेख्य योगदान पुगेको छ ।

 हरेक मानिसको इतिहास हुन्छ । त्यो इतिहासभित्र उसको जीवन बाँचेको हुन्छ । यसर्थमा एक मानिसको जीवनका संघर्ष एवं सफलताले नयाँ पुस्तालाई जीवनमा अघि बढ्ने मौका दिन्छ । यसर्थमा यस प्रकारका कृति लेखिनुपर्दछ ।  यात्रा जिन्दगीको एक सामान्य नेपालीको कथा हो । यो कथामा जोडिन्छन् उसका जीवनका उतारचढाव, हाँसोखुशी अनि पीडाका स्वर । जीवन भोग्नुपर्ने क्रममा बेहोरेका आँधीहुरी र जीवनको  उत्तरारद्धमा बुझेको जीवनका अनुभूतिको संसार ।  

लेखक होमनाथ खनाल एक सामान्य पहाडी गाउँमा जन्मेर हाल काठमाडौंवासी भएर, देशविदेश घुमफिर गरेर जीवनका अनेकन् अनुभूति सँगालेको एक सरदर नेपाली अनुहार हो । यो अनुहार संर्घषको तापबाट निस्केको हो, परिश्रमबाट निस्किेको हो र जीवनप्रतिको सकारात्मक सोचबाट निर्माण भएको हो । यस कृतिको प्रारम्भमा लेखकको किशोरावस्थाका घटनालाई प्र्रस्तुत गरिएको छ । किशोरावस्थमा पढाइका सन्दर्भ, साथीहरूसँगका सम्बन्ध, चोरी गर्नुपर्दाका सन्दर्भ आदिलाई व्यक्त गरिएको छ । सानैमा स्कुलमा शिक्षक भएको, आमाले पढने काममा लाग्नुपर्छ भनेपछि पढाइतर्फ ध्यानदिएको, घर छोडेर भागेको प्रसंगलाई व्यक्त गरिएको छ । यी घटनासँग जोडिएर लेखकले आफ्नो जीवनको अलमस्तीपन र मनमौजी स्वभावलाई प्रस्तुत गरेका छन् । एसएलसी पास गर्दासम्मका घटना यसमा आएका छन् ।

संघर्षको कथा ‘यात्रा जिन्दगीको’

लेखक होमनाथ खनालले एसएलसीपछि कामको खोजीमा गएको, विभिन्न ठाउँमा शिक्षक भएर कार्य गरेको र पैदलयात्रा गरेर विभिन्न भूगोलको यात्रा गरेको सन्दर्भलाई जोडेका छन् । किशोरावस्थामा नै पूर्वी पहाडका विभिन्न जिल्लामा गरेर काम गरेको, फरक जातिका मानिस र उनीहरूको संस्कृतिसँग भुलेको सन्दर्भ प्रस्तुत गरेका छन् । यसरी गर्ने भ्रमणका सन्दर्भमा प्रकृति चित्रण सजीव तरीकाले प्रस्तुत भएको छ । बाटाघाटामा भेटिएका मानिस र उनीहरूसँगको आत्मीयताका प्रसंगको प्रस्तुति पुस्तकको बलियो पक्ष हो । आफूले अध्यापन गराउने ठाउँमा मानिसहरूसँग आत्मीय सम्बन्ध राखेको, उनीहरूसँग घुलमिल भएर उनीहरूको संस्कृतिसँग एकाकार भएको, पढाउन जाने ठाउँ प्रेम भएको, पछि त्यो प्रेम असफल भएको प्रसंग प्रस्तुत गरेका छन् । धनकुटातिर पढाउन गएको बेला त्यहाँकी एक कन्यासँग प्रेम गरेर पछि उनैसँग भागी विवाह गरेको पाइन्छ । यसरी भागी विवाह गर्दा भएको जागीर छुटेको, कामको खोजमा भौंतरिएको, घरपरिवारबाट अलग हुनुपरेको घटना प्रस्तुत गरिएको छ । पछि जागीर लागेको, त्यो जागीर छोडेर अर्को ठाँउ अर्को जागीरमा लागेको, त्यो जागीर पनि छोडेर बसाईसराइ, व्यापार, प्राइभेट संस्थामा जागीर, घरको निर्माण, दुई बालबालिकाको जन्म, तिनको पढाइ, होस्टेल लगायतका प्रसंग पनि यस कृतिमा आएका छन् ।

आर्थिक अवस्था बलियो हुँदै जाँदा घरपरिवार एवं आफन्तसँग सम्बन्ध सुध्रेको, कामका सिलसिलामा काठमाडौं आइजाइ, कम्पनीको कामको जिम्मेवारीमा बढुवा, छोराछोरीको अध्ययन छोरा पढ्न विदेश गएको, छोरीको काठमाडौंमा पढाइ, विवाह, श्रीमती गायनमा चर्चित बन्दै जानु जस्ता घटना आएका छन् । यस कृतिमा लेखकले आफ्नो विदेश भ्रमण र यससँग सम्बन्धित घटनालाई समेत प्रस्तुत गरेका छन् । जीवनमा खोटाङ हुँदै पूर्वी पहाडका विभिन्न जिल्लामा शिक्षक बन्नु, शिक्षक हुँदै प्रेम र विवाह, पछिल्लो पुस्ताको आगमन, पूर्वी नेपालको प्रमुख ठाउँ इटहरीमा घर बनाउनु, त्यहाँ व्यापार लगायतका काम गर्नु, पछिल्लो समयमा काठमाडौंमा घर बनाएर बस्नु, विभिन्न संघसंस्थामा काम गरेर हाल आरामको जीवन बिताउनु उनका जीवनका विभिन्न घटना हुन् । यस कृतिमा लेखकको यायावरी जीवनलाई प्रस्तुत गरिएको छ । एक ठाउँमा अडेर नबस्नु, विभिन्न ठाउँमा पुग्नु, नयाँनयाँ अवसर र सफलताका निरन्तर क्रियाशील रहनु उनको जीवनको धनात्मक पक्ष रहेको छ । जीवनमा संघर्ष गरेर नै उनले आफ्नो स्थान बनाएको पाइन्छ । व्यक्तिगत जीवन सफल भए पनि प्रारम्भमा राम्रो सम्बन्ध भएको परिवारसँग अन्तरजातीय विवाहका कारण अलग हुन पुग्नु, लामो समय सम्वाद नहुनु उनका लागि पीडादायक अवस्था भए पनि पछि  सम्बन्ध सुधार हुनुले उनमा पीडा कम हुन पुग्छ । जीवनका  उत्तरारद्धमा श्रीमती एवं छोराछोरीको सफलतासँगै आफ्नो जीवनप्रतिको सन्तुष्टि उनको जीवनको महत्वपूर्ण पक्ष हो ।

कुनै समय गाउँमा मास्टर हुनुलाई ठूलो कुरा ठान्ने मानिस जीवनमा यातायात, सञ्चार लगायतका अनेकन् सुविधाको प्रयोग गर्दै देशविदेश पुग्नु, आफ्नो जीवनलाई सार्थक दिशामा डोरयाउनु र पछिल्लो पुस्तालाई पनि असल आमाबाबुको परिचय दिनुले उनको जीवन सफल एवं सार्थक भएर अघि बढेको देखिन्छ । यस कृतिमा एक सामान्य पहाडी गाउँको मानिसले हिमाल, पहाड एवं तराईको जीवन बाँच्नुका साथै देशविदेशका विभिन्न ठाउँ पुगेका छन् । यस कृतिमा लेखकको जीवनको प्रारम्भिककालका घटना जति आउनुपर्ने हो, त्यति आउन सकेका छैनन् । यसरी नै पुस्तकमा सम्वादको खासै प्रयोग छैन । आफ्ना अनुभूतिलाई सजीव र आकर्षक बनाउन सकेको भए त्यसले झन् सार्थकता पाउन सक्थ्यो । यति हुँदाहुँददै पनि यो एक पढ्नैपर्ने पुस्तक हो । एक आम मानिसले जीवनमा के कसरी संघर्ष गर्दछ र समाजमा आफूलाई प्रतिष्ठित बनाउन पुग्छ, यो कुरा जान्न यो पुस्तक पढ्नैपर्ने हुन्छ । 

प्रकाशित: ३१ जेष्ठ २०७७ ०५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App