नीति पछाई
कक्षा: ८, बुढानिलकण्ठ स्कुल, काठमाडौं
योग संसारभर लोकप्रिय छ । हिन्दू धर्मका अनुसार भगवान शिवद्वारा अनुसरण गरिएको पद्धती नै योग हो । विविध आसन, साधना आदिका माध्यमबाट मन, मस्तिष्क र शरीरलाई जोड्ने प्रक्रिया हो ।
अहिलेको खानपिन स्वस्थकर छैन । खानामा विषादिको प्रयोग छ । जसकारण रोग बढेका छन् । व्यस्तताका कारण मानसिक तनाव र शारीरिक अस्वस्थता बढ्दै गएको छ । यस्ता मानसिक समस्यालाई पछि पार्दै योगले स्वास्थ्यमा निकै फाइदा गर्छ । नियमित योग गर्नाले मानिसमा सद्भाव र शान्ति बढाउँछ ।
ध्यान एक मानसिक र आध्यात्मिक अनुशासन हो । त्यसैले योग र ध्यानको नियमित अभ्यासले निरोगी बनाउँछ ।
साथै योगले आत्मअनुशासन र आत्मजागरुकताको भावना विकास गर्छ । योगले हाम्रो शरीरलाई सुदृढ पार्ने र स्वस्थ्य बनाउने काम पनि गर्छ । शरीरमा उच्चस्तरको एकाग्रता हासिल गर्न सघाउनुका साथै हाम्रा भावनालाई स्थिर पनि राख्छ ।
योगले मानसिक स्पष्टता दिन्छ । थप रुपमा, यसले हामीलाई प्रकृतिसँग नजिक गराउँछ । यति मात्र नभएर, योग अभ्यास गर्दा नकारात्मक विचारबाट हामीले मुक्ति पाउँछौ र सकारात्मक सोच प्राप्त गर्न सक्छौं । त्यसैगरी ध्यान पनि शारिरीक र भावनात्मक रुप दुबैमा लाभदायक हुन्छ । ध्यान भनेको मनलाई घरमा ल्याउने अभ्यास हो । यसले हामी भित्र भएका कुराको परिचय दिलाउँछ ।
ध्यान एक मानसिक र आध्यात्मिक अनुशासन हो जसले हामीलाई दिमाग र आत्माको साथ काम गर्न सिकाउँछ ताकि हामी सजिलै देख्न नसकिने चिजको सही अर्थ देख्न सक्छौं । ध्यानले हाम्रो मनको नकारात्मक अवस्थाबाट शान्ति र शुद्धिकरण निम्त्याउँछ, जसले मानिसलाई निर्वाणमा पुग्न मद्दत गर्छ ।
तसर्थ, योग र ध्यान दुबैका धेरै फाइदा छन् । यसको नियमित अभ्यास गर्न सकियो भने औषधि बिना दीर्घ जीवन बाँच्न सकिन्छ ।
प्रकाशित: ३० जेष्ठ २०७७ १०:३१ शुक्रबार