लघुकथा
– लक्ष्मण अर्याल
“कतिको दिम् ?” सानीले कान्छालाई भनी ।
“दिदी, आज नयाँ वर्षको पहिलो दिन । आज जे गरयो बर्सैभर त्यही गरिरनुपर्छ रे । भो, खान्न आज ।” कान्छाले मन बाँधेरै यति बोल्यो ।
“त्यसो भा तँ किन आको त भट्टी ।” सानीले रिसाएर भनी ।
“नियाँस्रो लाग्यो ।”
“कसको ?”
“खै ।” ङिच्च हाँस्यो कान्छो ।
“मनले मागेको छ तेरो । खा । तर आज म उधारो दिन्न । आज उधारो दिए बर्सैभर कारोबार उधारामा चल्छ भन्छन् ।” सानी भन्छे ।
कान्छाले घर सम्झियो । आमा बिरामी छिन् । विक्रमेकी आमाले छाडेर गैहाली । ऊ गएको पनि आज दश महिना भयो । फर्केर आउली भन्ने लाग्याथ्यो तर आइन । निठुरी रहिछ । ऊ बारम्बार सम्चार पठाउँथी — रक्सी छोड् अनि आउँला । कान्छाले रक्सी छाड्न के पो गरेन र — पशुपतिको आर्यघाट पुगेर बोत्तल बगायो, दाइकी जुम्ल्याहा छोरीलाई टीका लाएर कसम खायो तर ...... ।
सानीले भनी, “के सोचेको ? खा । सोच्नेले खाँदैन, खानेले सोच्दैन ।”
कान्छाको एक मनले भन्यो, “विक्रमेकी आमा वचनकी पक्का छ, फर्केर आउँछे, नखा ।”
रक्सीको सुगन्ध कान्छाको नाकैमा बसाएर उड्यो । मन बाँधिराख्न सकेन उसले । यही कमजोरी छ उसको — खायो । आमाले फरियाका टुप्पामा बाँधेर राखेकी सय रुपियाँको पनि सत्यानाश भयो । कान्छाले भन्यो, “दिदी, तिमीले कर गरेर पो । अब बर्सैभर विक्रमेकी आमा आउन्न ।”
सानीले भनी, “रक्सी खानै पर्ने कस्तो बानी तेरो । मैले त खाखा भनेर आफ्नै स्वार्थका लागि भनेकी । आज ग्राहक धेरै भए बर्सैभरि कारोबार चल्छ ।”
हजुरआमा भन्नुहुन्थ्यो , “ तँ त रक्सी खान्छस् अनि जान्छस् । तँ जस्ता ग्राहक बढाउन सके ... । तँ सुधो गाईलाई के था — रक्सी मात्र बेचेर यो घर चलेको छ र ।”
प्रकाशित: २९ जेष्ठ २०७७ ०६:०६ बिहीबार