मन्जु ज्ञवाली
‘परीक्षा सकिएपछि कहाँकहाँ घुम्न जाउँला भनेर योजना बनाएको सबै चौपट भयो । न परीक्षा दिन पाइयो न घुम्न जान । यो कोरोना भाइरसले गर्नु गरयो । सारा विद्यार्थीको भविष्य अन्यौलमा पारेर..!’ डब्बुले मोबाइलमा गेम खेल्दै आमासँग गुनासो पोख्यो ।
डब्बुकी आमा सरिता टिभीमा समाचार हेरिरहनुभएको थियो । उहाँले छोरालाई सम्झाउँदै भन्नुभयो, ‘के गरोस् त सरकारले पनि ? यस्तो महामारीमा जोखिम मोल्ने कुरा पनि त भएन ! देखेनौ ? युरोप र अमेरिका जस्ता शक्तिशाली मुलुकले लापर्बाही गर्दा कति मान्छे मरे । अझै मरिरहेका छन् । नेपालमा यस्तो स्थिति भयो भने त केही उपाय छैन । न जनशक्ति छ न उचित स्रोत साधन । यसको सही उपाय भनेको नै लकडाउन हो । जे गरयो ठीकै गरयो छोरा ।’
‘परीक्षा सकेर लकडाउन गरेको भए भैहाल्थ्यो नि ! अब त पढ्न पनि मन लाग्दैन ।’ डब्बुले झोक्किँदै भन्यो ।
‘ज्यान रहे परीक्षा त पछि दिए पनि हुन्छ । महामारी फैलियो भने त सबै सखाप हुन्छन् नि । देशमा संक्रमण फैलिन नदिन संसारभरिका देशले लकडाउन गरिरहका छन् । यो त अवस्था हेरेर निर्णय गर्ने कुरा हो नि ।’
‘कुरा नबुझेको कहाँ हो र आमा दिक्क लागेर पो ...।’ डब्बुले आमाको कुरामा समर्थन जनायो । ‘दिक्क त हामीलाई पनि लागेको छ नि । के गर्ने त ? यही टिभीमा समाचार हेर्नेबाहेक केही गर्न सकिएन । यत्ति भन्दै आमाले टिभीको च्यानल फेर्नुभयो ।
‘भो दिक्क नमान । यो समय तिमीलाई थप अध्ययन गर्र्ने अवसर हो ।’
‘हैन, केको अवसर हो त्यस्तो ? आमाछोराको बडा गफ चलिरहेको छ त ?’ झोलामा दूधको प्याकेट र तरकारी बोकेर डब्बुका बाबा नविन आइपुगे ।
‘ए छिट्टै आउनुभयो त तपाई ? आज पूरा दिन ड्युटी छ भन्नुभएको हैन र ? आज केही लफडा भयो र ? टिभीमा त बाटामा हिँडेका मान्छेलाई प्रहरीले लाठीचार्ज गरयो भनेर समाचार आइरहेको छ त ।’
‘हो त्यै लफडा भएर आज इमर्जेन्सी मिटिङ गर्नु परयो । मिटिङ सकेर आएको । लकडाउनका बेला मानिसलाई कसरी घरभित्रै राख्ने भन्ने विषयमा छलफल थियो । अनि बैनी खै त ?’ नविनले छोरातिर हेर्दै भने ।
म यहाँ छु बाबा !’ पुक्कु दौड्दै आएर बाबासँग टाँसिन खोजिन् ।
छोरी नजिकै आएको देखेर नविनले भने, ‘मलाई नछोऊ ! भर्खरै बाहिरबाट आएको । नुहाएको छैन भाइरस सर्न सक्छ ? अँ साँच्चि त्यो तरकारी र दूधको प्याकेट पनि राम्ररी सेनिटाइज्ड गरेर मात्र राख्नुपर्छ है । त्यसमा पनि कोरोना आएको हुनसक्छ ।’ नविनले भर्खरै ल्याएको झोलातिर देखाउँदै भने । आमाले झोला सफा गर्न थाल्नुभयो । नविन बाथरुमतिर छिरे ।
‘खै ले मोबाइल आफू मात्रै खेल्छ !’ पुक्कुले डब्बुको हातबाट मोबाइल खोस्न खोजिन् तर सकिनन् । ‘आमा हेर्नुस् न दाइले मोबाइल दिन्न’ पुक्कु ठुस्स पर्दै आमानिर गइन् ।
‘कहाँ गएर आयौ ? बाहिर नजाऊ भनेको हैन ? जाऊ हातखुट्टा राम्रोसँग साबुनपानीले धोएर आऊ ।’ फोनमा कुरा गर्दा गर्दै सरिताले भनिन् ।
‘कहाँ जानु नि ? बाहिर कोही पनि खेल्न मान्दैनन् । खाली कोरोना ! कोरोना ! कोरोना । घरभित्र कोरोना ! घरबाहिर कोरोना ! मलाई त यो कोरोनाको नाम सुन्नेबित्तिकै रिस उठिसक्यो । देख्न पाए त किचीमिची पारिदिन्थें !’ पुक्कुले दाँत किटकिट्याउँदै भनी, ‘भन्नु न आमा कहिले खुल्छ लकडाउन ?’
‘हत्तेरिका एकैछिन् हल्ला नगर न । म हजुरआमासँग कुरा गरिरहेकी छु । उता जाऊ एकैछिन ।’ सरिताले झर्किंदै भनिन् ।
सरिताले मोबाइलको स्पीकर खोलेर टेबलमा राखेर झोला सफा गर्दै गर्न थालिन् । उनी आफ्नी आमासँग कुरा पनि गरिरहेकी थिइन् ।
‘हो बाहिर ननिस्कनुहोला । बूढाबूढी र सुगर प्रेसरका रोगीलाई छिटो संक्रमण हुन सक्छ ।’ फोनमा व्यस्त आमाले पुक्कुलाई ध्यान दिनुभएन ।
‘अब गर्दा गर्दा बाटामा हिँड्नेलाई कोरोनाले लखेट्छ भन्न बेर छैन । हाम्री आमा पनि !’ पुक्कु आफ्नै सुरमा बोल्दै थिई ।
तीन हप्ता भैसकेको थियो लकडाउन भएको । स्कुल, कलेज र कार्यालयहरू बन्द थिए । डब्बु र पुक्कु पनि घरभित्रै थिए । डब्बुका बाबा नविनले घरभित्रै बसेर पढ्ने र गर्न सकिने कामको रुटिन बनाइदिएका थिए । रुटिनअनुसार पढ्ने, लेख्ने, चित्र कोेर्ने तथा आफ्नोे जिम्माको अन्य घरायसीे काम गर्थे । जे होस् उनीहरूले पनि व्यावहारिक सीप पनि सिक्न थालेका थिए ।
आफ्नोे घरभित्र अनुशासन कायम राखे पनि घरबाहिर कतिपय मान्छेले लकडाउनको उल्लङ्घन गरिरहेका थिए । जिम्मेवार पदमा रहेका नवीनलाई यो कुराले चिन्ता थपेको थियो । लकडाउनलाई कसरी प्रभावकारी बनाउने भनेर छलफल पनि चलेको थियो । अन्तर्राष्ट्रिय सुरक्षा निकायले कस्तो अभ्यास गरिरहेका छन् भनेर उनले जुममार्फत भिडियो कन्फे्रन्स पनि गरिरहेका थिए ।
‘बाबा भन्नुस् न, यो लकडाउन कैले खुल्छ के ? हजुर त इन्सपेक्टर हो नि । खोलिदिनु न लकडाउनसकडाउन । हामी खेल्न जानै पाएनौं ।’ पुक्कुले आफ्नोे बाबासँग गुनासो गरी ।
छोरीको कुरा सुनेर नवीनले मुस्कुराउँदै भने, ‘लकडाउन भनेको नै घरभित्रै बस । बाहिर ननिस्क भनेको हो । कोरोनाको संक्रमण नफैलियोस् भनेर यसो गरेको हो । केही दिनपछि खोलिहाल्छ नि !’
‘अँ साँच्चि के छ रे धनगढीतिरको खबर ? आमासँग कुरा गरेको हैन भर्खरै ?’ नविनले सरितातिर हेर्दै भने ।
‘के हुनु नि ? इन्डियाबाट मान्छेहरू हूलका हूल बाँधेर आका छन् रे । तिनैले कोरोना सार्ने भए भनेर आमा आत्तिदै हुनुहुन्थ्यो । आइसोलेसनमा राखेका मान्छे पनि भागेर हिँड्या छन् रे । मान्छेको चेतना बरै !’ सरिताले चिन्तित हुँदै भनिन् ।
‘मान्छेको जात भनेर नमान्ने । जे गर्न हुन्न भन्यो त्यही गर्न तम्सिन्छ । केही कामै नभए पनि बाटामा लखरलखर हिँड्छन् । झन् साँझ पाँच बजेपछि त मान्छेको लर्को । यिनलाई लकडाउन भनेको घरभित्रै बस्नु भनेको हो भन्ने कुरा बुझाउन कस्तो गाह्रो । कसरी ठेगान लाउने होला ?’ नवीन आफ्नै सुरमा बोलिरहेका थिए, ‘बाहिर ननिस्क भनेर माइकिङ गरियो । लठी देखाएर तर्साउन पनि खोजियो । हुकले समात्ने तरीका पनि अपनाइयो । जेजे गरे पनि बाटोे छलेर निस्कन छाड्दैनन् ।’
‘यहाँ आफ्नो नानीलाई घरभित्र राख्न गाह्रो छ । तपाई दुनियाँलाई ठेगान लाउने कुरा गर्नुहुन्छ । नहिँडुन पनि कसरी यतिका दिन भैसक्यो । ज्यालामजदूरी गरेर खाने मान्छेलाई झन् कति गाह्रो भएको होला ? अब त कोरोनाभन्दा पनि भोकले मर्ने धेरै हुन के बेर ? कुनै योजना बनाएको छैन र प्रशासनले ? सरिताले उल्टो प्रश्न गरिन ।
‘हाम्रो काम भनेको जनतालाई सुरक्षा दिने हो । अनावश्यक रूपमा भीडभाड गरेर हिँड्नेलाई घरभित्रै बस्न प्रोत्साहन गर्ने हो । अटेरी गर्नेलाई कारबाही गर्ने हो । उनीहरूलाई खानेबस्ने व्यवस्था अन्य निकायले गर्ने हो ।’ नविन अलि हतारोमा थिए ।
यतिबेर बाबाआमाका कुरा सुनिरहेको डब्बुले आँखा ठूल्ठूला पार्दै भन्यो, ‘बाबा, मसँग आइडिया छ । अटेरी गरेर बाटामा हिँड्ने मान्छेलाई घरभित्र हुल्ने तरीका ।’
‘अँ...कस्ताकस्ता कहाँ गए मुसा छोरा दरबार !’ भन्थे अब तैंले नै सक्ने भइस् । पुलिस प्रशासनले नसकेको काम...तैंले गर्छस् !’
‘कहिलेकाहीं ठूलाले नजानेको जुक्ति सानासँग हुन्छ के बाबा । म पनि कहाँ कम छु र ? पहिला पनि रोबोर्ट बनाएकै हुँ साथीसँग मिलेर । मेरो कुरा त सुन्नुस् पहिला ।’ डब्बुले बाबाको कानमै गएर आफ्नोे जुक्ति बतायो ।
यो देखेर आमाछोरी मुखामुख गरे । ‘हाम्लाई पनि भन न् के आइडिया हो त्यो ?’ सरिताले हाँस्दै भनिन् । पुक्कुले सुन्न खोजेझैं गरी । डब्बुले आफ्नोे योजना बताउन चाहेन ।
‘हुँदैन पहिला भन्यो भने त आइडिया चौपट हुन्छ । काम बनेपछि भन्ने हो ।’ पुक्कु खाना खाएर आफ्नै धुनमा खेल्न थाली । सरिता आफ्नोे कामतिर लागिन् ।
‘तिमी बनाउँदै राख । म जुममा भिडियो कन्फ्रेन्स सकेर आउँछु अनि हेरौंला ।’ यति भनेर नविन मिटिङतिर लागे । डब्बु आफ्नोे योजनातिर लाग्यो ।
डब्बु अनेक कुराहरूको खोज गरिरहन्थ्यो । रेडियो भित्रका चुम्बक निकालेर डाइनामो बनाउँथ्यो । दुइटा आलुका बीचमा तामाको तार जोडेर बत्ती बाल्थ्यो । कहिले अनेक थरी आवाज निकाल्ने गथ्र्यो । कुकुर भुकेको आवाज त दुरुस्तै निकाल्थ्यो । साथीहरूलाई तर्साउन माहिर थियो । यस्तैयस्तै रुचि भएकाले नविनले आफू तालीममा अमेरिका जाँदा डब्बुलाई ड्रोन ल्याइदिएका थिए । कहिलेकाही खुला चौरमा चलाउनेबाहेक अरू बेला त्यो चलाउन पाएको थिएन । क्यामेरावाला ड्रोन भएकाले अनुमतिविना चलाउन पाइँदैनथ्यो । त्यसैले पनि त्यो थन्केर बसेको थियो । डब्बुले त्यही ड्रोनको प्रयोग गर्ने विचार गरयो । उसले त्यसका लागि आवश्यक सामग्री जुटायो ।
त्यतिन्जेलमा नविनको मिटिङ पनि सकियो । उनी छोराछेउ आएर भने, ‘खै के बनायौ ?’
डब्बुले आफूले बनाएको योजना बाबालाई बेलिविस्तार लगायो ।
‘ओहो छोरा, तिम्रो र मेरो कुरा मिल्यो नि ! हामी पनि यसै विषयमा मिटिङ गरिरहेका थियौंं । अब यसैमा काम थाल्नुपर्छ ।’ दुवै त्यही काममा व्यस्त भए ।
साँझपख नविन र डव्बुले छतमा गएर ड्रोन उडाउन थाले । विभिन्न ठाउँमा पुलिसका आँखा छलेर मान्छे हिँड्न थालेका थिए । बिस्तारै भीडभाड बढ्न थाल्यो । त्यो सबै गतिविधि डब्बुको ड्रोनको स्क्रीनमा देखियो ।
नवीनले आफ्नोे वाकीटकीबाट आफ्नो कर्मचारीलाई सूचना गरे । ‘ल आफ्नोे मिसन थाल्नु ।’ उनले विभिन्न ठाउँमा तैनाथ भएका जवानहरूलाई काम अह्राइरहेका थिए ।
एकैछिनमा सडकमा अनौठा खालका कोरोनाजस्तै देखिने भूतका आकृतिहरू हातमा लौरो लिएर ‘घरभित्र जा !, घरभित्र जा !’ भन्दै मान्छेलाई लखेट्न थाल्ले । बाटामा हिँडिरेहेका मान्छेहरू डराएर भागाभाग गर्न थाले । केहीबेरमै सडक सुनसान देखियो । स्क्रीनमा हेर्दै बाबुछोरा भने पेट मिचीमिची हाँसिरहेका थिए । डब्बुको जुुक्तिले काम गरेकामा नविन दंग थिए । उनले छोरालाई स्याबासी दिए । ‘स्याबास् छोरा । तिम्रो जुक्तिले काम गर्ने भो ।’
नवीनले तत्कालै आफ्नो सहकर्मीलाई वाकीटकीमार्फत भने, ‘वेल डन दिनेश । यो तरीकाचाहिँ काम लाग्ने भो । ‘लातोँ कि भूत बातोँ से नही मान ते’ भनेको यही हो ।’ केहीबेरमै अनलाइन मिडिया तथा टिभी समाचारहरूले फुक्न थाले, ‘कोरोनाले अब रूप फेरिफेरि मान्छेलाई सताउन थालेको छ । कृपया घरबाट बाहिर ननिस्कौं ।’
साँझ टिभी हेरिरहेकी डब्बुकी आमाले चिच्याउँदै सबैलाई बोलाइन, ‘ए डब्बु, ए बाबा, ए पुक्कु, यहाँ हेर्न आऊ त, कस्तो समाचार आयो ?’
सबै दौड्दै टिभीछेउ पुगे । टिभीले समाचार फुकिरहेको थियो, ‘लकडाउनको बेला बाटामा लखरलखर हिँड्नेलाई कोरोना भूतले लखेट्यो । के यो साँचै कोरोनाले रूप फेरेर आएको हो वा कसैको चलाखी ! यो रहस्यमय छ । अनुसन्धान जारी छ । समाचार हेर्दै राख्नुहोला ।’
प्रकाशित: १७ जेष्ठ २०७७ २१:५८ शनिबार