आयोन विशाल सापकोटा
कक्षा: ६, युलेन्स स्कुल, ललितपुर
कोभिड–१९ बाट ३ लाख भन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना लागेपछि मर्ने भन्दा निको हुने संभावना बढी छ । हालसम्म विश्वमा २० लाख भन्दा बढी मानिस निको भइसकेका छन् । यसले संसारमा सबैभन्दा बढी अमेरिकामा प्रभाव पारेको छ । धेरै आफन्तहरू अमेरिकामा भएकाले पिर लागिरहन्छ ।
नेपालमा पनि यो रोगको प्रभाव बढ्दै छ । बिरामीले खोक्दा, हाछ्युँ गर्दा अर्को मानिसमा सर्छ । त्यसैगरी रोग लागेका मानिसले प्रयोग गरेका समान जस्तो रूमाल, कागजात, खेलौना, भाँडाकुँडा, पैसा आदि छुँदा पनि सर्न सक्छ । भाइरस सार्न हाम्रो शरीरको हातले मुख्य काम गर्छ । भाइरस हातको माध्यमबाट नाक, मुख हुँदै शरीर भित्र प्रवेश गर्छ र श्वासनली र फोक्सोमा पुगेर असर गर्छ ।
लकडाउनले मेरो मजा लुटेझै लाग्छ । फेरी सोच्छु जीवनभन्दा ठूलो त रमाइलो होइन नि । अनि लकडाउन सँधै रहने पनि त होइन ।
हालसम्म यसको दबाई र खोप पत्ता लागेको छैन । आफैँले सफाइमा ध्यान दिने, साबुनपानीले हात धोइरहने, अनावश्यक सामान नचलाउने, भिडभाडमा नजाने, माक्स लगाउने, बेलाबेलामा स्यानीटाइजर प्रयोग गरिरहने, कसैको धेरै नजिक नजाने, पाहुना बनेर नजाने र आफ्नोमा पनि पाहुना नबोलाउने जस्ता काम गरेमा यसबाट बच्न सकिन्छ ।
लकडाउन
मानिसले आफूलाई सुरक्षित स्थानमा बन्दगरी राख्ने काम नै लकडाउन हो । परिवार मात्र बसेमा भाइरस आउन पाउँदैन । भाइरस हावामा उडेर नआउने भएकाले विरामीको नजिक नजाने, जानै पर्दा सावधानी अपनाएर माक्स लगायत सुरक्षा सामान लगाएर जाने ।
नेपालमा लकडाउन गरिएको २ महिना भयो । यसको कतै राम्रो पालना गरिएको छ भने कतै लापरवाही पनि भएको छ । कतै ज्ञान नपुगेर त कतै जानीजानी लकडाउनलाई वेवास्ता गरिएको पाइन्छ ।
एउटा टोलको मान्छे अर्को टोलमा खेल्न जाने, माक्स नलगाइ साँझबिहान हिँड्ने, मुख नछोपी खोक्दै, हाछ्युँ गर्दै हिँड्ने गरेको पनि देखिन्छ । अरूले गल्ती गरे पनि आफूले सावधानी अपनाइ लकडाउन पालना गर्दा बच्न सकिन्छ ।
विद्यार्थीमा परेको प्रभाव
कोभिड–१९ को असर सबैलाई परेको छ । म भर्खर १२ बर्ष लागेको विद्यार्थी भएकाले अनुभव लेख्दैछु । मलाई फुटबल, ब्याडमिन्टन खेल्न मनपर्छ । कक्षामा साथीसँग जिस्कन, हँसाउन, ब्रेक टाइममा यताउता कुद्न झनै रमाइलो लाग्छ । पोहोर मोबाइल र ट्याबलेट धेरै चलाउँदा आँखा कमजोर भएर पावर चश्मा लगाएदेखि मोबाइल र ट्याबलेट चलाउन छाडेको थिएँ । अहिले त चलाउन मन पनि लाग्दैन । बरू आँखाको पावर बढाउन दैनिक सागसब्जी, गाजर र मेवा खाने, बिहानै हरियो दुवोमा हिँड्ने, बोटबिरूवाका हरिया पात हेर्ने, चिसो पानीले आँखामा छम्किने जस्ता काम गर्दै आएको थिएँ । जसको कारण आँखाको पावरमा सुधार भइरहेको छ ।
लकडाउनले दैनिक रूटिन नै बिगारिदिएको छ । दिनको ४–५ घण्टा ल्यापटपमा बसेर अनलाइन कक्षा पढ्नुपर्छ । कतिपय गृहकार्य पनि अनलाइनमै गर्नुपर्छ । आफ्नै कोठामा एक्लै पढ्दा लास्टै बोर लाग्छ । जिस्कने साथी पनि हुँदैनन् । ब्रेक टाइममा खेल्न र कुद्न पनि पाइन्न ।
कोभिड–१९ र लकडाउनले मेरो मजा लुटेझै लाग्छ । फेरी सोच्छु जीवन भन्दा ठूलो त रमाइलो होइन नि । अनि लकडाउन सँधै रहने पनि त होइन । अहिले पढ्दै नपढि बसियो भने पछि पढ्न मन लाग्दैन । त्यसैले अनलाइन कक्षा सुरु गरिएको होला । त्यो सोचेर फेरी खुशी हुन्छु ।
चाँडै कोभिड–१९ को महामारी सकियोस । अचेल मैले निम्न काम गर्दै आएको छु । प्यारा साथीहरूलाई पनि यस्तै गर्न आग्रह गर्छु ।
दिनहुँ नुहाउँछु ।
साबुन पानीले २÷२ घण्टामा मिचिमिचि हात धुन्छु ।
बेलाबेलामा स्यानीटाइजर लगाउँछु ।
घरबाट बाहिर निस्किन्न ।
छिमेकी घरका दादा, दिदीसँग खेल्छु । उहाँहरू पनि लकडाउन भएदेखि बाहिर कतै निस्कनु भएको छैन ।
उहाँहरूकोमा जानुभन्दा अगाडि र फर्केर आएपछि पनि हातमुख धुन्छु र स्यानीटाइजर लगाउँछु ।
कक्षामा बस्दा बाहेक सकेसम्म ल्यापटप र कम्प्युटर चलाउँदिन ।
बिहान १ घण्टा र बेलुकी २ घण्टा परिवारसँग खेल्छु ।
परिवारसँग दिनको १ गेम चेस, लुडो, बाघचाल वा क्यारामबोर्ड खेल्छु ।
दिउँसोको चिया पकाएर घरका सबैलाई खुवाउँछु ।
भिडभाडमा जान्न ।
दैनिक रूपमा कागती पानी, फलफूल र सागपात खान्छु ।
लेज, कुरकुरे, विस्कुट, चकलेट खान पनि विस्तारै कम गर्दैछु ।
दिनमा ८–१० गिलास पानी पिउँछु ।
कहिलेकाहीँ नयाँनयाँ किताब पनि पढछु ।
राती सुत्ने बेलामा दैनिकी लेख्छु ।
अन्त्यमा, कोभिड–१९ ले मलाई धेरै ज्ञान पनि दिएको छ । बाबा सधैं भन्नुहुन्छ, ‘लकडाउन खुलेपछि मस्ती गर्न पनि अहिले शरीर र मनलाई स्वस्थ्य राख्नुपर्छ ।
प्रकाशित: ११ जेष्ठ २०७७ ०९:५८ आइतबार