केनिशा अधिकारी कक्षा: ७
सेन्ट जेभिर्यस स्कुल,ललितपुर
कोरोना भाइरसबाट बच्न हामी लकडाउनमा छौं । घरमै कुँजिएर बस्दा वाक्क त लाग्छ । तर पनि हामीले यो समयको सदुपयोग गर्नुपर्छ । मैले घरमा केही खेल खेल्नुका साथै योग, व्यायाम गर्ने र पढ्ने गरेकी छु ।
हरेक जन्म दिनमा हजुरबुवा र हजुरआमाबाट पाएका कथाका किताव यतिवेला दोहो-याएकी छु । मलाई मनपर्ने किताव मध्ये अकबर र बीरबलका कथा पनि एक हो । हरि खनालले लेखेको किताबका १०८ मध्ये ४ कथा ‘विरबलको खोजी’, ‘को बुद्धिमान’, ‘आफै खिस्स’ र ‘चोरको खुट्टा काट’ मलाई एकदम मनपर्छ ।
‘बीरबलको खोजी’ भन्ने कथा अलिक फरक र रमाइलो छ । सधै विरबल निकै चलाख देखिने यो कथा उल्टो छ । यसमा अकबर चलाख हुन्छन् । यसै त अकबर र बीरबलका कथा रमाइला हुन्छन भने यो कथा अझ बढि रमाइलो छ । किनकी हराएको बीरबल पत्ता लगाउन अकबरको उपाय रोचक छ ।
पोल्ने घाममा विना छाता गाउँ डुलेर दरबार आउनेलाई उपहार दिइनेछ । विना छाता बाहिर निस्कन सकिँदैनथ्यो । तर, एक जना टेवुल ओढेर दरबार पुगे । त्यो देखेर अकबरले बीरबल त्यही घरमा हुनुपर्ने भन्दै त्यहाँ पुगे र वीरबललाई भेटे । किनकी यत्तिको दिमाग लगाउन सक्ने बीरबल नै हो भन्ने अकबरले बुझिहाले । यहाँ बीरबल पछि परेको थाहा पाएँ । यो कथाको शिक्षा भनेको बुद्धि सबैको हुन्छ त्यसको उपयोग कसरी भन्ने झै लाग्यो ।
लकडाउनमा घरमै कुँजिएर बस्दा वाक्क त लाग्छ । तर पनि हामीले यो समयको सदुपयोग गर्नुपर्छ ।
‘को बुद्धिमान’ शिर्षक कथा पनि रमाइलो छ । यहाँ अकबरको सालो र बीरबलको छोरालाई प्रतियोगितामा सामेल गराइन्छ । उनीहरुलाई पालैपालो दरबार नजिकै एक झुपडीमा ब्याउन लागेको कुकुरलाई हेर्न पठाइन्छ । फर्केपछि दुवैलाई एउटै प्रश्न सोधिन्छ । अकबरको सालोले कुकुर ब्याए नब्याएको मात्र हेरेको र अन्य कुरा थाहा नभएको बताउँछन् । तर वीरबलको छोरो बावा जत्तिकै चलाख भएकाले उसले सोधिएका सबै प्रश्नको उत्तर दिन्छन् । वीरबलको छोराले कुकुर ब्याएको, कति बच्चा, कस्तो रंगका उत्तर दिन्छ । रानीको लहलहैमा लागेर वीरबल भन्दा सालो पो तेजिलो छ कि भन्नेमा वीरबलले मेरो स्वाँठ छोरानै काफी भनेका थिए । जस्तो वाबा उस्तै छोरा भन्दै इनाम पाएको र रानीको मुख रातो भएको पढ्दा आफन्त नै गतिला देखिन्छ भन्ठान्नु गलत हो भन्ने सन्देश पाएँ ।
‘आफै खिस्स’ भन्ने कथा हँसाउने खालको छ । यसमा अकबरले एउटा भोजमा वीरबरलाई उल्लु बनाउँछु भन्दा आफंै उल्लु बनेका हुन्छन् । उनले आफूले खाएको खजुरको बियाँ वीरबलतिर राख्दै सबैलाई देखाउँदै कसले कति खजुर खायो भन्ने बियाँको थुप्रो हेर्दा नै थाहा हुन्छ । वीरबलले कुरा बुझे अनि भनिहाले, ‘कसले खजुर खाँदा वियाँ छुट्टयाउँछ र कसले वियाँ समेत खान्छ भन्ने पनि त देखियो ।’ वियाँ नै सहित खजुर खाएको कुराले राजा हिस्स परे । अरुलाई खिसी गर्दा त्यो जालमा आफू पर्छु कि भनेर सोच्न आवश्यक छ ।
‘चोरको खुट्टा काट्’ भन्ने कथा सन्देशमुलुक छ । यहाँ वीरबलले चोर बुद्धिमान तरिकाले पत्ता लगाउँछन् । गाउँको माझमा रहेको मन्दिर भित्रका देवताको शिरमा लगाएको सुनको ढक्कन चोरी भयो । दरबारले सुन चोरिएको थाहा पायो । राजाले सिपाही पठाएर सबैतिर छानविन गर्न लगाए । तर, चोर पत्ता लागेन । वीरबलले मन्दिर वरपरका सबैलाई दरबारमा बोलाए । अनि सबैलाई खुट्टा तेर्साएर बस्न लगाए । सिपाहीहरू तरबार लिएर उभिए । सबै खुट्टा पसारेर बसिरहेका बेला एक्कासी बीरवलले चोरको खुट्टा काट् भनेर कराए । एउटाले हत्त–पत्त खुट्टा तान्यो । यसरी चोर पनि पत्ता लाग्यो र सुन पनि फिर्ता आयो । बुद्धिको उपयोगबारे चर्चित कथा हो यो ।
ट्यावलेट, मोवाइल, आइप्याडमै घोप्टिनुको अलवा किताव पढौं, बुद्धि बढाऔं, ज्ञानी बनौं है साथी हो ।
प्रकाशित: ८ वैशाख २०७७ ०२:४९ सोमबार