भुन्टी खरायो एक्लै बस्थी।बिहे भएको थिएन। एक दिन बजार घुम्न जाँदा एउटा भाले खरायोसँग भेट भयो। दुवैका आँखा जुधे।
‘तिम्रो नाम के हो ?’ खरायोले सोध्यो।
‘भुन्टी’ उसले लजाउँदै भनी र मुस्कुराई।
‘मेरो नाम भुन्टे हो’ खरायोले पनि परिचय दिँदै प्रस्ताव राख्यो, ‘नाम पनि मिल्ने रैछ। के हामी साथी बन्न सक्छौं ?’ भुन्टेको कुरा सुनेर भुन्टी निकै खुसी भई। नजिकैको पसलमा सँगै बसेर दुवै जनाले खाजा खाए।
भुन्टेले भन्यो, ‘भोलि पनि यहीं भेटौं है।’
‘मेरै घर जाम न। म पनि एक्लै छु’, केही लजाउँदै भुन्टी बोली। ‘हुन्छ’ भुन्टेले टाउको हल्लायो र भुन्टीको पछि लाग्यो।
साँझमा खाना खाएपछि भुन्टेले भन्यो, ‘म तिमीलाई धेरै माया गर्छु।’
‘मलाई पनि तिमीलाई देख्नासाथ कस्तो माया ला’को’ भुन्टीले भनी, ‘अब मलाई एक्लै छाडेर कहीं नजाउ है।’
‘के कुरा गरेकी लाटी यस्तो। अब म तिमीलाई छोडेर कहीं जान्न। मेरो पनि यो संसारमा आफ्नो भन्ने को नै छ र। मलाई आफ्नो घरमा बस्न दियौ। म तिम्रो यो गुनलाई कसरी भुल्न सक्छु र।’ भुन्टेले माया देखायो। उसले फेरि सोध्यो, ‘के मप्रति तिम्रो विश्वास छैन र ?’
‘किन नहुनु नि !’ भुन्टेको झुसे रौंसँगै टाँसिदै भुन्टी बोली, ‘विश्वास नभए बिहे नै नगरी तिमीसँगै बस्छु र !’
भुन्टेले भन्यो, ‘चिन्ता नगर न मेरी सानू। अमेरिकामा यसरी केटा र केटी सँगै बस्नेलाई ‘लिभिङ टुगेदर’ भन्छन् क्या !’ भुन्टी फिस्स हाँसी मात्र।
एक हप्तामै भुन्टी खरायो दुई जीउकी भई। भुन्टी दुई जीउकी भएको थाहा पाएर भुन्टे त्यहाँबाट भाग्नलाई मनमनै उपाय सोंच्यो।
राति सुत्ने बेलामा भुन्टीले आग्रह गरी, ‘अब हामी बिहे गरौं है ?’
भुन्टे केही थाहा नपाएझैं गरी उम्किन खोज्यो, ‘हँ, यति छिट्टै !’
भोलिपल्ट बिहान भुन्टीले थाहा नपाउने गरी भुन्टे त्यहाँबाट लुसुक्क हिँड्यो। भुन्टी सुतिरहेकै थिई। उठेपछि भुन्टेलाई खोजी। कतै पनि भेटिन। ऊ रून थाली। दिन बित्दै गए। अट्ठाइसौं दिनमा भुन्टी खरायोले नौ वटा बच्चा जन्माई। आमा बनेपछि ऊ खुसी भई। नौमध्ये एक छोरी र आठ छोरा थिए। तर, घरमा खानेकुरा केही थिएन। उनीहरू भोकले छटपटाए। तैपनि केही खोजेर खाँदै उनीहरूले ज्यान जोगाए। एक दिन भुन्टी खरायो विरामी परी। छोराछोरी सानै थिए। उसले केही सोच्न सकिन। त्यही बेला छिमेकी पप्पीले मोबाइलमा फेसबुक चलाएको उसले देखी।
‘सुन्तली’ भन्ने नक्कली नामको फेसबुक खातामा भुन्टीले फोटो पनि नक्कली राखी र भुन्टे नामको खाता खोज्न थाली। नभन्दै भुन्टेको फोटो सहितको खाता भेटियो। उसले साथी बनाई।
उसले आग्रह गरी, ‘नक्कली नाममा मेरो पनि एउटा फेसबुक खाता खोलिदेऊ न पप्पी।’ पप्पीले भन्यो, ‘नक्कली नाममा किन नि काकी। म सक्कली नाममै खोल्दिन्छु नि।’ ‘कुरा अर्कै छ के, पछि भनूँला नि’, भुन्टीले आफ्नो गोप्य योजना लुकाई र थपी, ‘मलाई त्यति सहयोग गरिदेऊ न।’‘त्यसो भए त हुन्छ’ पप्पीले स्वीकार गर्यो। ‘सुन्तली’ भन्ने नक्कली नामको फेसबुक खातामा भुन्टीले फोटो पनि नक्कली राखी र भुन्टे नामको खाता खोज्न थाली। नभन्दै भुन्टेको फोटो सहितको खाता भेटियो। उसले साथी बनाई। मीठामीठा गफ गरेर उसलाई फकाउन थाली। राम्री खरायो साथी पाएँ भन्ठानेर भुन्टे लट्ठ पर्यो। आफैले झुक्काएर छोडेकी भुन्टी हो भनेर उसले कुनै शंका नै गरेन।
भुन्टीले मेसेन्जरमा टाइप गरी, ‘तिम्रो बिहे भयो ?’ ‘छैन’ भुन्टेले झट्टै जवाफ फर्कायो। ‘केटी साथी छन् कि ?’ उसले शंका गरेझैं गरी उसको कुरा बुझ्न खोजी। ‘छैन’ उसले सरासर ढाँट्यो। ‘मसँग बिहे गर्छौ त ?’ उसले ठाडै प्रस्ताव राखी। ‘हुन्छ’ उसले पनि तुरुन्तै सहमति जनाउँदै भन्यो, ‘बरु भेटेरै कुरा गरौं न। कहाँ भेटौं ?’ ‘लैनचौरको पीपलबोट अगाडि भेटौं है’ उसले भनी। ‘हुन्छ, भोलि ठीक दश बजे म त्यहीं आउँछु’ भुन्टेले समय नै तोक्यो। आफूले न्याय पाउने भएँ भन्ने सोच्दै भुन्टी खुसी भई। सबै कुरा पप्पी र छोराछोरीलाई सुनाई र भनी, ‘लौ भोलि बाबाआमाको बिहे हेर्न सबै जना जानुपर्छ है।’
भोलिपल्ट बिहान दश नबज्दै भुन्टी, उसका छोराछोरी र पप्पी पीपलबोट नजिकै लुकेर बसे। भुन्टे लुखुरलुखुर आयो। यताउति हेर्यो। त्यही बेलामा सबै जना मिलेर उसलाई झ्याप्पै समाते। ‘लौ गर सुन्तलीसँग बिहे !’ भुन्टीले रिसाउँदै भनी, ‘सुन्तली भन्ने नि मै हुँ। अनि यी सबै तिम्रा छोराछोरी हुन्।’ भुन्टीलाई देखेर भुन्टे तर्सियो। छोराछोरीले ‘बाबा’ भन्दै वरिपरि झुम्मिए। ‘मलाई माफ गर भुन्टी’, भुन्टेले आफ्नो गल्ती स्वीकर्यो र वाचा गर्यो, ‘अबदेखि तिमीलाई छोडेर कतै जान्न।’ भुन्टीले विगत सम्झिंदै भनिन्, ‘फेरि मलाई झुक्काएर भाग्न अहिले यस्ता मीठा कुरा गरेको ? अब हिँड अदालतमा कानुनी बिहे गर्न।’ उसलाई लिएर सबै जना अदालततिर गए।
प्रकाशित: ८ चैत्र २०७६ ०१:२५ शनिबार