डा. धु्रवप्रसाद भट्टराई
फागुलाई होलिका, होली वा होरीका नामबाट पनि सम्बोधन गरिन्छ। फागु शब्द फाल्गुन तत्सम शब्दबाट बनेको देखिन्छ। ज्योतिषशास्त्रअनुसार फाल्गुनी नक्षत्रमा पर्ने, वसन्त ऋतुको आगमनलाई जनाउने र वृक्ष वनस्पतिमा फल लाग्ने महिना आदि अर्थमा यसलाई अथ्र्याइएको छ। फागुमा रङरोगन लगाउने, विभिन्न गीत–संगीतका माध्यमबाट मनोरञ्जन गर्ने र मीठा मीठा परिकार खाएर रमाइलो गरिन्छ। यो पर्व देश–विदेशमा फरक–फरक शैलीमा मनाइएको पाइन्छ। नेपाली समाजमा फागु खेल्ने परम्परा निकै अघिदेखि रहेको जानकार बताउँछन्।
फागु किंवदन्ती
फागु परम्पराबारे केही किंवदन्ती पाइन्छन्। नटराज शंकरले नृत्य गरेर सारा लोकलाई नाचगानमा मस्त गराउँदा तीनै लोकमा सबै काम बन्द भए। यो देखेर भगवान् शंकरले फागुको सिर्जना गरेर नाचगानका लागि आठ दिन तोकिदिए, नाचगान गर्ने व्यक्तिका हृदयमा सबै रागरागिनीले बास गरून् भन्ने वरदान पनि दिए। वरदान दिएको दिन फाल्गुपूर्णिमा परेको थियो। त्यही समयदेखि फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म (आठ दिन) फागु खेल्ने परम्परा चलेको चूडामणि बन्धुको कथन छ। अर्को किंवदन्ती छ, फागु अर्थात् वसन्तोत्सव कैलाशमा पञ्चमीका दिनमा जन्म्यो, शिवरात्रिका दिनमा पृथ्वीमा आयो र फागु पूर्णिमाका दिन राति फेरि कैलाश गयो।
त्यस्तै, विभिन्न पुराणमा पाइन्छ– सत्य युगमा हिरण्यकशिपु आफ्ना छोरा प्रल्हादले आफ्नै काका हिरण्याक्षका हत्यारा विष्णुको पूजा–अर्चना नगरोस् भन्ने चाहन्थे, तर प्रह्लाद सत्यको विजय र असत्यको हार गराउने विष्णुको आराधना गरिरहने अडान लिन्छन्। अनेक प्रपञ्च गर्दा पनि प्रह्लादलाई मार्न नसकेपछि हिरण्यकशिपुले आगोमा नजल्ने वरदान पाएकी होलिकालाई प्रयोग गर्छन्। तर, प्रह्लादलाई लिएर आगोमा पसेकी होलिका आगोले जल्छिन्, प्रह्लाद जल्दैनन्। भगवान्को आराधना गर्ने प्रह्लाद नजलेको भनी लोकस्तरका मानिसले एकआपसमा रङरोगन दली खुसियाली मनाएको सन्दर्भदेखि फागु खेल्न थालिएको भन्ने भनाइ पनि पाइन्छ। त्यस्तै, त्रेता युगमा सीतालाई अपहरण गरी रावणले लगेको र रावणलाई मारी सीतासहित राम–सीता र लक्ष्मण अयोध्या फर्केको खुसियालीमा अयोध्यावासीले अबिर जात्रा गरेको सन्दर्भमा सत्यको जित र असत्यको हारको प्रतीकका रूपमा फागु खेलिने गरेको विश्वास लोकसमाजमा रहेको छ।
द्वापर युगमा आकाशवाणीअनुसार देवकीका सन्तानबाट आफ्नो मृत्यु हुने खबरले अत्तालिएको कंशले आफ्नी बहिनीका सबै सन्तान मार्छ, तर आठौं सन्तान बाँचेको हुन्छ। उही कृष्ण हो भनी कंशले कृष्णलाई मार्न अनेक प्रयास गर्छ। यसैबीच पुतनालाई स्तनमा विष राखी कृष्णलाई मार्न पठाउँछ, उल्टै कृष्णको सट्टा पुतना नै मर्छे। यही खुसियालीमा रङ–अबिरसहित नाचगान गरिन्छ। यसरी फागु मनाउन थालिएको विश्वास लोकमानसमा पाइन्छ। यसलाई राधा–कृष्णको रासलीला वा वसन्तोत्सव आदिका आधारमा पनि विभिन्न पुराण तथा अन्य ग्रन्थमा व्याख्या गरेको पाइन्छ। यी किंवदन्तीमध्ये फागु प्रचलित हुनाका कुनै एउटा वा एकभन्दा धेरै कारण हुन सक्छन्। जेहोस्, यसको प्रचलन प्राचीनकालदेखि थियो भन्ने यी सन्दर्भले संकेत गर्छन्।
फागुका अनेक रूप
काठमाडौं वसन्तपुर दरबार क्षेत्रको गद्दी बैठकदेखि दक्षिणतर्फको प्रांगणमा मानन्धर समुदायले फाल्गुन शुक्ल अष्टमीका दिन पूजापाठसहित लिंगो ठड्याएपछि फागु पर्व सुरु भएको मानिन्छ। यहाँ आठ दिन नाचगानसहित फागु मनाइन्छ। यस्तै, काठमाडौंकै पशुपति, हनुमानढोका, सुन्दरीचोक, ललितपुरको पाटन कृष्ण मन्दिरमा ध्वजापताकासहितको लिंगो शुक्ल अष्टमीका दिन ठड्याएर फागुको सुरुवात गरिन्छ। भक्तपुरमा दत्तात्रेय मन्दिरमा भीमसेनको लिंगको प्रतीकका रूपमा काठ र द्रौपदीको योनीको प्रतीकका रूपमा कपडाको प्वाँलमा जोडाएर होलीको सुरुवात गरिन्छ।
अछाममा फागुलाई होरी भनिन्छ। होरी खेल्दा सेतो जामा, पगडी र सेतो धोतीको धुम ओढेर सजिएका पुरुष एकातिर र सेतो दौरा सुरुवाल, सेतै कोट, ढाकाटोपी अथवा सेतो कमिज सुरुवाल र ढाकाटोपीमा सजिएका पुरुष अर्कोतिर भई गोलाकार रूपमा शिव, राम तथा कृष्णसँग सम्बन्धित गीत गाएर होरी खेलिन्छ। थारू समाजमा फागुलाई फगुवा भनिन्छ। उनीहरूले धुमधामसँग फगुवा मनाउँछन् भने तराई–मधेसका विभिन्न ठाउँमा नाचगानसहित होरी मनाइन्छ। यस्तै, पश्चिम पहाडका गुरुङ तथा मगर समुदायमा पनि कृष्ण, राम, शिवका स्तूतिपरक गीत गाउँदै फागु खेल्ने चलन छ। यस आलेखमा विशेषगरी पाल्पा जिल्लाको अर्गलीमा खेलिने होलीको चर्चा गरिन्छ।
अर्गलीमा होली
पाल्पाका सबै ठाउँमा एकै प्रकारले फागु खेलिँदैन। अर्गलीमा खेलिने फागु र भैरवस्थान तथा देउरालीतिर खेलिने फागुबीच फरक छ। अर्गलीमा फाल्गुन शुल्क अष्टमीका दिन फागु जगाई द्वादशीका दिनदेखि ट्याम्का, मजुरा, ढोल, मादल र झ्याली बजाउँदै शिव, कृष्ण, राम तथा विभिन्न सामाजिक सन्दर्भका गीत गाउँदै घरघरमा गएर फागु खेल्दै हिँड्ने चलन छ। सर्वप्रथम लगभग १०–१२ हातको टुप्पो नभाँचिएको बाँसको लिंगो तयार पारिन्छ। लिंगोको टुप्पामा ध्वजापताका लगाई पूजा–अर्चना गरेर कोलाचौर मन्दिरको प्रांगणमा गाडिन्छ। त्यसपछि द्वादशीका दिन फागुका खलिफा (फागु खेलाउने मुख्य व्यक्ति, मगर भाषामा यसलाई रौरा पनि भनिने)को नेतृत्वमा अष्टमीका दिन गाडिएको लिंगोलाई लिएर रनुवाका घरहरूमा पालैपालो शिव, राम, कृष्ण तथा अन्य देवी देवतासँग सम्बन्धित धार्मिक तथा सामाजिक विषयवस्तुमा आधारित गीत गाउन थालिन्छ। फागु खेलिने घरका मूलीलाई अबिरको टीका लगाइदिइन्छ। उनले पनि फगुवारेलाई अबिरको टीका लगाई स्वागत गर्छन्। फागु खेलिसकेपछि घरमूलीले फगुवारेलाई भेटी दिन्छन्। भेटी दिँदा थाल वा टपरीमा चामल, फलपूmलसहित बीचमा दियो बालेर दिइन्छ, केहीले भेटी मात्र पनि दिन्छन्।
फागु जातीय कठघराबाट माथि उठेको संस्कृति हो। अर्गलीमा बस्ने बाहुन, छेत्री, मगर, नेवार, ठकुरी, कामी, दमाई, सार्की लगायत जातजातिले फागु मनाउँछन्। यो हिन्दू धर्मावलम्बीको पर्व हो। फागु पौराणिक सन्दर्भसँग जोडिएको छ।
फागु खेल्दा प्रारम्भमा गाइने गीत :
सुन सरि आँगनमा हामु खेल्दै आयौँ–२
जनी दुःख नमाने हो हो रे बाबा
हामु त खेलन...
भित्रभित्र गल्ली–गल्ली हामु खेल्दै आयौँ–२
जनी दुःख नमाने हो हो रे बाबा
हामु त खेलन आयौँ हो...।
प्रारम्भमा फगुवारेले हामीहरू गाउँ, सहर, बगैंचा आदि विभिन्न ठाउँमा फागु खेल्दै अहिले तपाईंकहाँ आइपुगेको बताएका छन्। फगुवारे आए भनी दुःख नमानी हाम्रो फागु खुसी साथ हेरिदिन पनि आग्रह गरिएको छ।
यसपछि राम चरित्रसँग सम्बन्धित फागु गीत गाइन्छ।
सीता स्वयंवरसम्बन्धी गीत :
रामलाई बोलाई, ए हो रामलाई बोलाई
आज जनकपुरमा सीताले रामलाई बोलाई–२
सीता स्वयंवरमा धनु रचावै
चारै दिशा सूचना पठाई, ए हो चारै...
गन्ने मान्ने वीर सबै आए जनकपुरमा–२
सीताजीको स्वयंवर सुनी ए हो सीताजीको...।
प्रयत्न गरे वीरले तर धनु उठेन–२
तब सिरी रामले धनु तोडाई ए हो तब...
आज जनकपुरमा...।
यहाँ स्वयंवरका समयमा सीताले रामलाई बोलाएको र अन्य वीरले तोड्न नसकेको धनु रामले तोडी सीता र रामको स्वयंवर भएको सन्दर्भ छ।
रावणले जोगीको भेष धारणा गरेको सम्बन्धी गीत :
आज म त जोगिया हो–२
रानी मन्दोदरी ! आज म त जोगिया हो।
शिरको मुकुट झिकी भैँमा जो राखे–२
शिरैमा पगरी पैनाई, ए हो ! शिरैमा पगरी पैनी
रानी मन्दोदरी ! आज म त...
सिरीखन्ड चन्दन झिकी भैँमा जो राख...
शिरैमा विभूति लगाई,
ए हो शिरैमा विभूति लगाई
रानी मन्दोदरी ! आज म त...।
यहाँ सीताको रूपबाट मोहित भएको रावणले सीताहरणका लागि आफ्ना राजकीय पहिरनलाई परित्याग गरी जोगीको भेष बनाएर जान लागेको कुरा रानी मन्दोदरीलाई बताएको सन्दर्भ छ।
सीताहरण गीत:
किन हर्यौ सीतालाई ? किन ल्यायौ सीतालाई ?
मूर्ख राजै किन ल्यायौ सीतालाई ?
पहिलो परहर मैले सपनी जो देखेँथेँ–२
रामज्यूले सुग्रीवसित मितरी लगाई
ए हो ! रामज्यूले...।
दोसरि परहर मैले सपनी जो देखेँथेँ २
रामज्यूले वानरको सैन्य बनाई
ए हो ! रामज्यूले...
मुर्खराजै...।
सीताको हरणपछि विभीषणले रामले सुग्रीवसँग मितेरी बढाएको, वानरको सेना तयार पारेको, सेना समुद्रमा पु¥याएको, समुद्रमा पुल बाँधेको र लंकामा हनुमानले अग्नि लगाएको सपना देखेकाले राज्यमा अनिष्ट हुने भन्दै आफ्नो दाजु रावणलाई सीताहरण गरेर मुख्र्याइँपूर्ण कार्य गरेको बताइएको छ।
कृष्णको बाललीलासम्बन्धी गीत :
काना खेले होरी हो,
कदमपर काना खेले होरी हो,
लैकर चीर कदमपर बैठे–२
हो हो मुखपर मुरली बजाई,
ए हो मुखपर मुरली बजाई।
काना खेले होरी हो कदमपर...।
चीर हमारा देऊ मुरारी–२
हो हो अवपत्ति (आपत्ति) राखो हमार,
कदमपर काना खेले...
दुई कर जोरी बिनतीका ग्वालिनी–२
हो हो ! तब मिले चीर तमार, ए हो...
कदमपर काना खेले...।
यहाँ चीरहरणको सन्दर्भ छ। यसमा कपडा खोली गोपिनीहरू नदीमा नुहाउन लागेकामा कृष्णले तिनीहरूका कपडा रूखमा राखी बाँसुरी बजाएर बसेको र गोपिनीले कपडा पाउन कृष्णसँग अनुरोध गर्दा कृष्णले दुवै हात जोडेर बिन्ती गरेमा उनीहरूका कपडा उपलब्ध गराउने भनेको सन्दर्भ छ।
सुदामा आगमन सन्दर्भको गीत :
आज मेरे पिछामै आवै रुकमिण
आज मेरे पिछामै आवै
मयालु मर्दन बस्तर कुची लेऊ–२
हृदयावेगी लगावै, ए हो ! हृदयावेगी..।
रुकमिण आज मेरे...।
काँचा तेल पाका पानी–२
सुदामाकी मर्दन किया वै
ए हो सुदामाकी...।
यहाँ आफ्ना बालसखा सुदामालाई कृष्णले सम्मान गरेको, उनले ल्याएका कनिकालाई पनि मिष्ठान्न मानेर खाएको र सुदामाको दरिद्रता अन्त्य गरिदिएको पनि सन्दर्भ छ। तर, यहाँ ठाउँ अभावले सबै गीत उल्लेख गर्न सकिएको छैन।
कृष्ण विदुरको घरमा गएको सन्दर्भ :
मेरा उद्धवै चलो विदुरी घर जाई
विदुरी घर दुध, विदुरी घर पानी २
सोही पानी अमृत होई; ए हो ; सोही पानी...
मोरा उद्धवै चलो...।
यो छोटी छानी पानी बरसानी
बाहिर त जाँदैन पानी, ए हो...।
मेरा उद्धवै चलो...।
अलिना भाजी बेथुवाको साग–२
रुचि रुचि भोग लगाई, ए हो रुचि रुचि...।
यहाँ कौरव र पाण्डवबीच युद्ध नजिकिँदै जाँदा शान्तिका दूत भएर कृष्ण हस्तिनापुर जाँदा उनले त्यहाँ आत्मीय भाव पाउन सकेनन्। विदुरको घर सानो र छाना चुहुने भए पनि त्यहाँ आत्मीय सम्मान पाइने हुनाले कृष्ण त्यहाँ जान चाहेको कुरा गीतमा आएको छ।
विदुरको घरको बेथुवाको सागको तरकारी, सादा पानी आफूलाई अमृत समान हुने भनी कृष्ण विदुरकै घर जान चाहेका छन्।
शिवचरित्रसँग सम्बन्धित फागुगीत :
हो हो ! नट्टा रे नट्टा रे नट्टा–२
जञ्जालमै छाइरह्यो यो फुल नट्टा रे हो
पान पक्वान्न शिव मन न भावै–२
हो हो भाङ धतुरो शिव ए हो भाङ...
अच्छा रे अच्छा रे अच्छा !
जन्जालमै छाइ रह्यो यो फुल अच्छा रे हो...।
गंगाजल शिव मन न भावै–२
तुम्भीको जल शिव ए हो,तुम्भीको...
अच्छा रे अच्छा रे अच्छा ! जञ्जालमै...।
पाट पीताम्बर शिव मन न भावै–२
ओढे बागम्बर छाला ए हो ! ओढे...।
ए हो ! छाला रे छाला रे छाला
शिव जञ्जालमै छाइरह्यो यो छाला अच्छा रे हो।
शंख, चक्र, गदा, पद्म शिव नही भावै
हात डमरु शिव अच्छा रे...
कस्तूरी चन्दन मन नही भावै
हो हो भष्म तिलक शिव अच्छा रे अच्छा
कौस्तुभ मणि शिव नही भावै
हो हो नागभूषण शिव अच्छा रे..
यहाँ नटराज शिवलाई पान पक्वान्न, पाट पीताम्बरका कपडा, शंख, चक्र, गदा, पद्म, कस्तूरी चन्दन आदिभन्दा भाङ, धतुरो, तुम्भीको जल, बागम्बर छाला, डमरु, भष्म तथा नागको माला मन पर्ने बताइएको छ। यसका अतिरिक्त अर्गलीका फागुका गीतमा भैरवदेवताको पनि आराधना छ। पाल्पावासीमा पाल्पामा रहेको प्रसिद्ध भैरव मन्दिरको प्रभाव गहिरोसँग परेको यस गीतले स्पष्ट पार्छ। यस भैरवसँग सम्बन्धित गीतमा भैरव देवतालाई लाल पगरी, बेलपत्र, नरिवल, केशरी, टोपी, अबिर, अच्छेता, फूल आदि चढाई पूजा गर्ने भाव अभिव्यक्त भएको छ।
सामाजिक जागरणसँग सम्बन्धित फागुगीत :
जुवाले लायो बनिवास, जुवाले लायो बनिवास
मेरा राजै जुवाले लायो बनिवास।
छुटी गयो रजपाट, छुटी गयो रजपाट
मेरा राजै छुटी गयो रजपाट।
सुनकी थलिया घुमाई सुनकी थलिया घुमाई
मेरा राजै सुनकी थलिया घुमाई। (कृष्ण ब. राना, अर्गली ५, रबिदास)
भेदभाव छाड नेपाली भेदभाव छाड नेपाली
अब हिमाली हो अघि बढौँ मत सँगाली
हाम्रो काँधमाथि खेल्छ यो देशको भर २
हामीले नै लगाउनु छ यो देशलाई हार
ए हो हामीले नै लगाउनु छ यो देशलाई हार
अब हिमाली हो...
हाम्ले बाले बालिने छ यो देशको ज्योति–२
हामीभित्रै लुकेको छ हिरा र मोती, ए हो...।
चार वर्ण छत्तीस जातको फूलबारी हो हाम्रो–२
यसैमा रमाई सन्तक लिऊँ ए हो...।
अब हिमाली हो...।
यहाँ जुवाले पाण्डवलाई बनिवास गराएको प्रसंग ल्याएर जुवा नखेल्न आग्रह गरिएको छ। त्यस्तै, आजकल केही चेतनामूलक फागुगीत पनि गाउन थालिएको छ। भेदभावलाई छोडेर सम्पूर्ण नेपाली प्रगतिपथमा अगाडि बढ्नुपर्ने भावना गीतमा आएका छन्।
फागुको समापनमा गाइने :
देऊ न बिदा घर जानलाई देऊ न बिदा
पाऊँ न बिदा घर जान बिन्दुवासिनी देऊ न बिदा
पूर्वै दिशाकी कालिका भवानी–२
कौना देवताको दर्शन पाई ए हो कौना...।
बिन्दुवासिनी देऊ न बिदा...।
पच्छिमै दिशाकी मालिका भवानी
कौना देवताको दर्शन...।
बिन्दुवासिनी देऊ न बिदा...।
उत्तरै दिशाकी कालीनाग भवानी
कौना देवताको दर्शन पाई ए हो...।
बिन्दुवासिनी देऊ न बिदा...।
दख्खिनै दिशाकी सेतीनाग भवानी–२
कौना देवताको...।
बिन्दुवासिनी देऊ न बिदा...।
अन्तमा चारै दिशाका देवीदेवतासँग र विशेष गरी विन्दुवासिनी देवीसँग बिदा दिन आग्रह गरिएको छ।
फागु सुर
फागुगीतमा लयलाई प्राथमिकता दिइएको हुन्छ। ठाउँअनुसार फागुगीत विभिन्न लय र सुरमा गाइन्छ। पाल्पा अर्गलीमा ४/८ मात्राको झ्याउरे लयमा फागु गाइन्छ। स्थायी पदका हरफलाई अनेकबार भट्ट्याउने गरिन्छ। यसैबीचमा आउने अन्तरामा पनि स्वरको उतारचढाव पाइन्छ। प्रायः ३/४ हरफका र कहीँ दुई हरफका स्थायी पद पाइन्छन् भने अन्तरा २/३ हरफका छन्। यसमा एक मात्राको एक अक्षर भए पनि कतिपय ठाउँमा एउटै अक्षरलाई २/३ मात्रामा पनि उच्चारण गरिएको पाइन्छ। यसो गर्दा ह्रस्व वा दीर्घभन्दा तालको मात्रालाई विशेष महत्व दिइन्छ। त्यसैले फागु स्वर मात्रामा भन्दा ताल मात्रामा आधारित गीत हो। यसमा आउने ताल र अक्षरको जानकारीका लागि दुई आरेख दिइएको छ :
सुनसरी आँगनमा हामी खेल्दै आयौँ
१ २ ३ ४ १ २ ३ ४ १ २ ३ ४ १ २
जनी दुःख नमाने ऽ हो हो रे ऽ बाबा ऽऽ
१ २ ३ ४ १ २ ३ १ २ ३ १ २
हामु त ऽ खेलन ऽ आयम् ऽ हो ऽऽऽ
१ २ ३ १ २ ३ १ २ ३ १
फागुमा गाइने गीतको स्वरूप प्रकीतात्मक छ। फागुगीतको भाषामा विविधता पाइन्छ। केही फागुमा आधुनिक नेपाली भाषाको प्रयोग छ भने केहीमा हिन्दी वा ब्रज भाषाको प्रयोग भएको छ। नेपाली भाषामा पनि स्थानीय तहमा प्रयोग हुने पर्वतेली उपभाषिकाको प्रभाव पाइन्छ। जस्तैः आङ, कौना, हाम्ले, दिम्ला, सन्तक जस्ता विशुद्ध पाल्पामा बोलिने पर्वतेली उपभाषिकाका शब्दको प्रयोग गरिएको छ। त्यस्तै, गीतमा प्रयोग हुने गन्ने–मान्ने, सिरी राम तथा दख्खिन जस्ता कथ्य बोलीको प्रयोग गरिएको छ। यसकारण, फागुगीतमा भाषिक आत्मीयपन पाइन्छ भने कतिपय शब्द, चरण वा पूरै गीतमै ब्रज भाषाको प्रयोग भेटिन्छ। फागुगीत आन्तरिक र बाह्य दृष्टिले सुन्दर छन्। यसको सुन्दरता बढाउन समानान्तरताले महत्वपूर्ण योगदान पुर्याएको छ। बाह्य समानान्तरतामा भित्र–भित्र, गल्ली–गल्ली, बीच–बीच, हो हो रे बाबा आदि शब्द दोहोरिएका छन् भने एउटै वर्णलाई एकपटकभन्दा बढी दोहोर्याएर भाषामा मधुरता ल्याइएको छ। यसका स्थायी र अन्तरा ६–६ पटकसम्म वा यसभन्दा पनि बढीपटक आवृत्ति गरिएको छ।
निष्कर्ष
फागु जातीय कठघराबाट माथि उठेको संस्कृति हो। अर्गलीमा बस्ने बाहुन, छेत्री, मगर, नेवार, ठकुरी, कामी, दमाई, सार्की लगायत जातजातिले फागु मनाउँछन्। यो हिन्दू धर्मावलम्बीको पर्व हो। फागु पौराणिक सन्दर्भसँग जोडिएको छ। फागुका गीतमा राम, कृष्ण, शिव, भैरव एवं अन्य देवीदेवताका चरित्रको चित्रण पाइन्छ। यसलाई बालबालिका, युवा र प्रौढहरू छुट्टाछुट्टै समूह बनाई विशेष प्रकारका गीत, बाजागाजा र अभिनयसहित प्रस्तुत गरिन्छ। फागुले नेपालमा स्थान भिन्नताका आधारमा एउटै संस्कृतिमा पनि भिन्नता छ भन्ने तथ्यलाई उजागर गरेको छ। यसको संरक्षण आजसम्म स्थानीय व्यक्तिहरूले गर्दै आएको र अब पनि यसको संरक्षणमा उनीहरूकै अहं भूमिका रहने कुरा निर्विवाद छ।
प्रकाशित: २४ फाल्गुन २०७६ ०४:५२ शनिबार