त्रिभुवनचन्द्र वाग्ले
प्रिय नानीबाबु तपाईँहरूले चिठी लेख्नुपर्छ। बाआमा दाजुभाइ, दिदीबहिनी, साथीलाई चिठी लेख्नाले तपाईंहरूको सिर्जनशील लेखन राम्रो हुन्छ। कल्पना गरी र अभिव्यक्त गर्ने प्रभावकारी साधन हो चिठी लेखाइ। सम्भवतः तपाईँहरूले पाठ्यपुस्तकको अध्ययनका क्रममा मात्र घरयासी र व्यवसायिक चिठी लेख्न सिक्नुभयो । विद्यालयमा लेखिने चिठी औपचारिक पढाइ भएकाले त्यस्ता चिठी लेख्न, पढ्न जाँगर लाग्दैन तर तपाईँहरूले बाबाआमालाई चिठी लेख्ने गर्नुभयो भने त्यसले तपाईंहरूलाई सिर्जनशील बनाउँछ।
तपाईंको बाबा कार्यालय वा व्यवसायमा व्यस्त भएर घर आउन ढिलो गर्नुहुन्छ ? तपाईंहरूसँगै बसेर खाना खाने समय पनि मिल्दैन ? घुम्न जाने समय छैन ? धूमपान गर्नुहुन्छ ? कि मदिरा सेवन पनि गर्नुहुन्छ ? बाबाले समयमै शुल्क तिर्न नभ्याएकाले विद्यालयमा तपाईंलाई समस्या परेका छ ? बाबाआमाको झगडा पर्छ ? ‘नानी तिमी पर सरेकी छ्यौ फूल छुन हुँदैन’ हजुरआमाले भन्नुभएको छ ? साथीसँग झगडा परेका छ ? हल्ला गर्ने अर्को तर शिक्षिकाले तपाईंलाई कारबाही गर्नुभयो ?
यदि यी र यस्ता थुप्रै अनुभव तपाईंसँग छन् भने उहाँहरूलाई सम्झाएर चिठी लेख्नुहोस्। उहाँहरूले थाह नपाउने गरी उहाँहरूको झोला वा खल्तीमा चिठी राखिदिनुहोस्। तपाईं थाह नपाएको जस्तो गरेर बस्नु होस्। तपाईंले विगतमा अनुभव गरेकोभन्दा भिन्न परिस्थिति बन्ने छ। चिठी सञ्चो, विसञ्चो खबर दिन वा लिन मात्र लेखिँदैन। त्यसमा तपाईंका तर्क, विचार, आग्रह, अनुरोध, अनुभव, अनुभूति, अपेक्षाका अभिव्यक्ति हुन्छन्। यी र यस्ता तत्व मिसिएका दस्तावेज नै साहित्य हुन्। चिठीलाई निबन्ध विधाका रूपमा लेख्न सकिन्छ। त्यसो त तपाईँले गीत वा कविता शैलीमा पनि चिठी लेखिदिन सक्नुहुनेछ।
अहिले व्यवहारिक रूपमा कुनै दिन तपाईँहरूले अभिभावकलाई चिठी लेख्न परेको छैन। चिठी लेख्नुको सट्टा सूचना प्रविधिका धरै उपकरण र प्रविधि छन् जसले गर्दा उहाँहरूसँग तपाईँहरूले निःशुल्क घण्टौं गफ गर्न सक्नुहुन्छ। नयाँ प्रविधिसँगै चिठीपत्र लेख्ने संस्कृतिको अन्त्य हुँदै छ। हामीहरू सञ्चारको दु्रत गतिसँगै दौडिएका छौं। तपाईँहरूले पढ्नु भयो होला भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले आफ्नी छोरी इन्दिरा गान्धीलाई लेख्नु भएको चिठी। नपढेको भए खोजेर पढ्नु होस्। इन्टरनेटमा पाइन्छ। नेपाली अनुवाद पनि पाइन्छ। इन्दिरा गान्धी पनि भारतको प्रधानमन्त्री हुनुभयो। नपढेको भए आजै नेटमा खेजेर भए पनि पढ्नुहोस् अब्राहम लिङ्कनले उहाँका छोराका शिक्षकलाई लेख्नुभएको विश्वविख्यात चिठी। लिङ्कन अमेरिकाका १६ औं राष्ट्रपति हुनुहुन्छ। यी दुईटा घटनाबाट तत्कालीन समाजमा चिठीपत्रको महत्व र गरिमा कस्तो थियो बुझ्न सकिन्छ।
म यसपटक यति लेख्छु। अर्कोपटक मदिरा खाने बाबालाई छोरीले लेख्न सक्ने एउटा काल्पनिक चिठी लेख्नेछु। चिठी यस्तो होस् त्यो पढेपछि बाबाको आँखामा आँशु आओस्। ‘नानी म अब मदिरा खान्न’ भन्ने प्रतिज्ञा गर्नुहोस्। तपाँई, हामीले गरेका कल्पना अरु कसैको अनुभव हुनसक्छ। भोगाइ हुनसक्छ। अर्काको अनुभव र भोगाइलाई कल्पनामा अभिव्यक्त गर्न सक्ने मानिसको लेखाइ राम्रो हुन्छ। मुनामदन पढ्नु भयो ? महाकवि लक्ष्मीप्रसाद देवकोटा आफैँ मुनालाई घरमा एक्लै छाडेर ल्हासा जानुभएको होइन। उहाँले कल्पना गर्नुभयो तर मुनामदनको कथा त हाम्रै समाजको साँचो व्यथा थियो। त्यसैले मुनामदन नेपाली साहित्यमा अमर कथा भएको छ।
प्रकाशित: २४ फाल्गुन २०७६ ०२:१५ शनिबार