२६ पुस २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘तर त्यो मीठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ’

 डा . रजनी ढकाल ,

समय चेतनाले बनेको हक्की व्यक्तित्व
गोपालप्रसाद रिमाल (वि.सं. १९७५–२०३०) नेपाली साहित्यका प्रथम र सफल गद्य कवि हुन्। समालोचक तारानाथ शर्माले रिमालको यो ऐतिहासिक योगदानको तथ्यलाई पुष्टि गरेका हुन् र यो सत्य आज नेपाली साहित्यमा निर्विवाद स्वीकार्य पनि छ। आमाको सपनाको भूमिका अनि ‘नेपाली गद्य कविताको प्रथम प्रयोग कसले ग-यो ?’ शीर्षकको अनुसन्धानमूलक लेखमा शर्माले रिमालको प्रथम गद्य कवित्वको पुष्टि गरेका छन्। त्यति मात्र होइन, गद्य कविता लेखनमा निरतन्ता दिने स्रष्टाका रूपमा पनि शर्माले रिमाललाई चिनाएका छन्। रिमालको ‘कविको गान’ (शारदा, १९९२, फागुन) प्रथम गद्य कविता हो ।

स्वतन्त्रताप्रेमी लेखक रिमाललाई थोरै लेखेर धेरै प्रसिद्धि पाएका कविका रूपमा पनि चिनिन्छ। उनको एउटै मात्र कविता संग्रह आमाको सपना (२०२०) बाट उनले नेपाली साहित्यमा विशिष्ट उचाइ प्राप्त गरेका हुन् र सोही संग्रहका कविताका कारण आजसम्म पनि उनी उही शिखरमा छन्। नेपाली साहित्यमा पाण्डुलिपिमै मदन पुरस्कार प्राप्त (२०१९) कृतिका रूपमा पनि रिमालको आमाको सपनालाई चिनिन्छ। संख्यात्मक रूपमा कम भए पनि गुणात्मक रूपमा स्तरीय कविता लेखेकै कारण उनका कवितालाई यति लोकप्रियता प्राप्त भएको हो। रिमालका कविता समय चेतनाका शक्तिशाली दसी हुन्।

रिमाललाई निर्भीक, हक्की र आत्मविश्वासी स्रष्टाका रूपमा समालोचक केशवप्रसाद उपाध्यायले चिनाएका छन्। उपाध्याय भन्छन्,‘उनलाई स्वदेशको अवस्थाले सधैँ पिरोलिरहन्थ्यो। उनी विरक्त जस्तो बनी एकान्तमा चिन्तन गर्न मन पराउँथे। उनी राणाशाहीको अत्याचारलाई दुई आँखाले टुलुटुलु हेरेर पनि आँखा चिम्ली निश्चिन्त भएर व्यक्तिगत स्वार्थ साधनमा लिप्त रहने खालका थिएनन्। उनी कर्मठ योद्धा थिए, चुप लागेर बस्न सक्दैनथे (साझा समालोचना, २०४४,  पृ. ११८)। रिमाललाई विद्रोही र क्रान्तिकारी कवि व्यक्तित्वका रूपमा उनकै कविताले परिचित गराएका छन्। यसका साथै शारदा पत्रिकाको सम्पादनमा उनको लौह लेखनीको ओजले नेपाली भाषा र प्रवासी नेपालीका विषयमा आगो नै ओकलेको थियो। त्यसैको परिणामस्वरूप उनलाई राणा सरकारको कोपले सम्पादकको कार्यबाट मुक्त मात्र गरिदिएन, उनको दुई महिनाको सम्पादकीय समेत जलाइदियो।

दोस्रो जनआन्दोलनले ल्याएको लोकतान्त्रिक शासन पद्धतिले सम्बोधन गरेका लैंगिक, जातीय, दलित, क्षेत्रीय आदि मुद्दाले समाजमा फरक लहर निर्माण गरेको छ, तर तिनका सैद्धान्तिक आवाजलाई व्यवहारमा उतार्न पनि समयकै प्रतीक्षा गर्नुपर्ने देखिएको छ।

क्रान्ति भयो, राणा सरकार ढल्यो, देशमा परिवर्तन आयो तर जनताको अवस्थामा सुधार आउन सकेन। कवि जसका लागि कलम उठाउँथे, उसैको नाजुक अवस्थामा बिथोलिइरहे। उपाध्याय रिमालको विसंगत जीवनको अवस्थालाई सम्झिँदै लेख्छन्, ‘प्रजातन्त्रोत्तर नेपालको अवस्था सपनासित मिलेको नदेख्ता उनको आशा चकनाचुर भयो। उनी एकांकी हुँदै गए, जोडा खोज्दै रहे, बर्बराउँदै खुकुरी नचाएर काठमाडौंका सडकहरू नाप्तै दुगुर्न थाले। उनको प्रखर चेतना समाजको पाषाण हृदयमाथि बज्रेर चूर्ण भई देशको अप्रिय यथार्थको माटोमा रङमङियो, तर त्यसले अपेक्षित प्रत्युत्तर पाएन र कविलाई उत्पीडित पारी रनथनायो अनि उनी पागल भए। नेपाली साहित्यको एउटा उज्यालो नक्षत्रमा कदाचित सदाका लागि बादल लाग्यो। ...रिमाल जन्मजात कवि हुन्।

गद्यमा कविता गर्नु यिनको प्राकृतिक प्रवृत्ति हो। यिनको प्रतिभा शैली, शिल्प, कल्पना र अभिव्यञ्जना सबैमा झल्किन्छ’, (साझा समालोचना, २०४४, पृ. ११९)। रिमाल समय चेतनाको प्रखर तेजबाट ब्युँझिएका अद्वितीय स्रष्टा हुन्। उनको समय चेतनाको सुन्दर परिणाम लैंगिक चेतनालाई सम्बोधन गर्ने नाटकहरू पनि हुन्। रिमालको चेतनशील व्यक्तित्वको ओजलाई प्रखर बनाउने मसान (२००२) र यो प्रेम (२०१५) नाटकहरू हुन्। समाजको अवस्था र देशको राजनीतिक वातावरण रिमालको व्यक्तित्व निर्माणका कारक पनि बनेका छन्। समय चेतनाका साथ विद्रोहमा उभिएको उनको राजनीतिक व्यक्तित्वले साहित्यको शिल्पमा बुनिने जुन संयोग रिमाललाई प्राप्त भयो, त्यो उनको प्रतिभाका साथै त्यस समयको देन पनि हो।

आमाको सपनाले के भन्छ ?
‘आमाको सपना’ले नेपाल आमाको क्रान्तिकारी आवाज बोल्छ। आफ्नो मुक्तिको चाहना उराल्छ अनि आफ्नो स्वतन्त्रताको सपनापूर्तिका लागि क्रान्तिको आह्वान गर्छ। कविताले आमा र छोराका बीचको संवादबाट सपनाको कुरा बताएको छ। कवितामा सन्तानको सपनामा देखिएकी आमासँग भएको संवादात्मक अभिव्यक्तिमा नेपाल आमाको परिवर्तनको चाहना प्रकट भएको छ। यहाँ छोराको सपनामा आमाको मुक्तिको सपना प्रकट भएको छ। नेपाल आमाको मुक्तिको सपना पूर्तिका लागि कविले पवित्र क्रान्तिपुरुषको कल्पना गरेका छन्, अनि परिवर्तन जुनसुकै हालतमा आउने दृढ विश्वास प्रकट गरेका छन्। ‘तर त्यो आगो र हिउँभन्दा पनि बढ्ता छोइने भएर आउँछ’ भन्दै परिवर्तनले सबैलाई समेट्ने विश्वास अनि समाजमा ल्याउने सुदीर्घ विकास र त्यसको प्रभावकारितालाई समेत संकेत गरेका छन्।

परिवर्तनको जादुमयी असरलाई सबैमा विश्वासिलो बनाउन र प्रभावकारी छाप दिन नेपाल आमालाई बोल्न लगाई, ‘तर त्यो तिमी नै हौला भन्ने मेरो यौवनभरिको सपना थियो’ भनेका छन्। यहाँ हरेक नवजात शिशुमा आफ्नो सपना पूरा गर्ने क्रान्तिपुत्र जन्मिने आशाको अभिव्यक्ति छ। एउटी आमाको चिरप्रतिक्षित सपनाको उल्लेख गरेर कविले आमाको अन्तर्मनको चाहनालाई पहिल्याएका छन् अनि उनको मनको खिन्नतालाई पनि समेटेका छन्।  हरेकपटकको प्रसूतिमा दुःख र संकट हटाउने सन्तान जन्मेला भन्ने आशाको अभिव्यक्ति कवितामा छ। अनि प्रत्येक बालक जन्मिदा उही चिरप्रतीक्षित सन्तान होला भन्ने आशा पनि नेपाल आमाले गरेकी छन्।

जति सन्तान जन्मिए पनि आफ्नो सपना पूरा गर्ने सन्तान नजन्मेकामा आमामा हैरानीका साथै आगामी सन्तानप्रति आशा पनि छाएको छ। कुपुत्र भए पनि कुमाता हुन्नन् भनेझैँ आमाले सबैखाले सन्तानलाई ममतामयी काखमा समेटेर पुनः आगामी वीर सन्तानको आशा गरेकी छन्। उनी काखका वीर बन्न नसकेका शिशुलाई भविष्यको उज्यालोको कथा सुनाउन थाक्दिनन् र भन्छिन्– ‘त्यो तिमी नै हौला... ।’ जस्तोसुकै विपत्तिमा पनि धैर्य राखेर भविष्यको आशामा सन्तान जन्माइरहने नेपाल आमाको स्थिति कवितामा वर्णित छ। आफ्नो चाहना सुनाएर सन्तानलाई त्यही सपनामा लालायित बनाउने आमाको मधुर वाणीले कवितालाई ओज दिएको छ। ‘त्यो आउने आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा’ भन्ने शिशुको अभिव्यक्तिमा कविता क्रान्तिमय भावभूमिमा सघनरूपमा समर्पित रहेको बुझाउँछ। त्यसैगरी आमाले ‘हो त्यो आउँछ, त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ’ भन्ने आमाको कथनले क्रान्ति आउनु सूर्योदयझैँ अनिवार्य र ध्रुवसत्य हो भन्ने दृढ आशा र विश्वास प्रकट गरेको छ।

कवितामा कविले क्रान्तिको उद्देश्य अधर्मसित लड्नु हो भनेका छन्। राणाशाहीको सहस्राब्दी लामो थिचोमिचो र शोषणबाट हिरिक्कै हुन लागेको नेपाली जनता र नेपालको सास जोगाउने आश  कवितामा प्रकट भएको छ। क्रान्तिको ऊर्जावान् स्वरूपसँगै यसको सौन्दर्यमा लालायित हुन सक्ने क्रान्तिकारी नेपालीको चाहना पनि कवितामा प्रकट भएको छ–‘त्यो हुरी भएर आउनेछ, तिमी पात भएर पछ्याउनेछौ ।’ परिवर्तनशील समयको चेतनाले अनियवार्य रूपमा समेट्ने सामाजिक समर्थनलाई पनि यस पंक्तिले कलात्मक रूप दिएको छ। समाजमा जब परिवर्तनको लहर थालिन्छ, तब त्यसले हर व्यक्तिलाई संवेदनशील बनाउँछ र ऊ त्यो समय चेतनाको पर्वमय क्रान्तिमा समाहित नभई रहन सक्तैन। यो शक्तिशाली पंक्तिले नेपालको मात्र होइन, संसारकै सामाजिक आन्दोलन र तिनमा समाहित भएका हर योद्धाको अवस्थालाई चिनाएको छ।

यस कवितामा क्रान्ति एक दिन न एक दिन नआई छाड्दैन भन्ने तीव्र आशावादी धारणा पनि व्यक्त गरिएको छ। नेपाल आमालाई माध्यम बनाएर विम्बमय बुनोटमा लेखिएको यस कविताले क्रान्ति पुरुषको कल्पना गरेको छ, जो सधैँ अधर्मसित लड्न उत्साहित हुन्छ। कविले क्रान्ति पुरुषको पवित्र विम्बको निर्माण यसरी गरेका छन्–‘त्यसको कम्मरमा झुन्डिएको शीत जस्तै टल्किने तिमी एक हतियार देख्नेछौ, त्यसैले ऊ अधर्मसित लड्ने छ ।’ समाज परिवर्तन गर्नु भनेको सबैलाई समान अधिकारको भागी बनाउनु हो,त्यसैले यो समाजमा भएको थिचोमिचो र अन्यायका विरुद्ध लड्छ।

जबजब समाजमा अत्याचारका तह बढ्न थाल्छन्, तबतब क्रान्ति आवश्यक पर्छ र त्यो हुन्छ नै। संसारमा भएका हर अन्यायका विरुद्ध मानव समाजले यस्तै क्रान्तिबाट आफूलाई अगाडि बढाउँदै ल्याएको देखिन्छ। समाज समुन्नत र अधिकार सम्पन्न बनाउन सबैमा चेतनाको लहर आउन जरुरी छ। समाजका हरेक विभेदका विरुद्ध क्रान्ति जरुरी हुन्छ र क्रान्तिबाटै विभेदको अन्त्य भई समानताको लहर आउँछ। त्यही समानताको चिरप्रतीक्षित लहरको प्राप्तिका लागि कविताले यहाँ अधर्मको विरुद्धको लडाइँ लड्ने चाह व्यक्त गरेको छ।

शिल्पका कसीमा
४७ हरफका सातवटा पंक्तिपुञ्जमा ‘आमाको सपना’ कविता संरचित छ। यो विम्बमय शब्दशड्ढयामा सजिएको रोचक संवादात्मक कविता हो। आमा छोराको संवादलाई अनुप्रासमय पंक्तिबाट अलंकारिक स्वरूपमा बुन्दै विम्ब र प्रतीकको सुन्दर सजावट कविताभरि कुँदिएको छ। नेपाली कविता परम्परामा आजभन्दा साढे सात दशकपूर्वको समयमा नितान्त नौलो र मौलिक अभिव्यक्ति शैली यस कवितामा चयन गरिएको छ। आमा र सन्तानजस्तो आत्मीय र प्रिय नातासँग क्रान्तिको सम्बन्ध जोडी सन्तानबाट क्रान्तिको सपना देख्नुले कवितामा विपर्युक्तिपूर्ण भाव संयोजन भएको छ, जसले गर्दा कविता अझ रोचक बन्न पुगेको छ। आमाको परिवर्तनको चाहनालाई छोराको सपनाले देखेको भए पनि कविताको शीर्षक आमाको सपना बनेको छ। सपनामा आएकी आमाले छोरासँग गरेको कुराकानीको रोचक विम्ब सिंगो कविताले उतारेको छ।   

नेपाल आमालाई माध्यम बनाएर अनुभूतिलाई पोखेको हुनाले कवितामा फरक रागात्मक छाप पाइन्छ। कल्पनाको उच्च उडानमा कवितामा निर्माण भएका सुन्दर विम्बले कवितालाई रोचक र अर्थलालित्यले भरिपूर्ण बनाएको छ। कवितामा प्रयोग भएका हिउँ, आगो, शीत, हुरी, पात, सूर्य, जून, मधुर उषा, चरा, बिहान जस्ता प्रकृतिका माध्यमबाट कवितामा सुकोमल र मधुर सत्यसँग त्यसको दीर्घकालीन सघन प्रभावको शब्दचित्र निर्माण गरी कवितालाई संवेद्य बनाइएको छ। ‘हिउँ र आगोभन्दा बढ्ता छोइने’, ‘शीतजस्तै टल्किने’, ‘सूर्यझैँ उज्यालो छर्दै’, ‘हुरी भएर’, ‘पात भएर’, ‘जूनजस्तै पोखिँदा’, ‘मधुर उषा’, ‘चराको कण्ठ’जस्ता प्राकृतिक विम्बबाट कविले कवितामा क्रान्तिलाई प्रभावकारी र प्रिय स्वरूपमा ढालिदिएका छन्।

त्यसैगरी ‘आफ्नो बाँसुरी बनाएनछ’ जस्तो विम्बले संगीतमय आलोकबाट क्रान्तिको माधुर्यलाई वर्णन गरी क्रान्ति जस्तो क्रूर र डरलाग्दो विषयलाई पनि प्रिय र सुमधुर बनाई त्यसको लोकप्रिय छवि निर्माण गर्न सहयोग गरेको छ। त्यसैगरी बालकको हँसाइमा क्रान्तिको छवि देख्नु र बालकको बोलीमा क्रान्तिको मधुर ध्वनि सुन्नुले कविमा क्रान्तिलाई निश्छल र प्रियताको वस्तुको विम्बमा सजाइएको छ। कवितामा आमा नेपाली आमाकी प्रतीक हुन् भने छोरा क्रान्ति पुरुषका प्रतीक हुन्। कविताले आमाको वात्सल्यमाक्रान्तिको मुहान देखाउनु नै कविताको सबैभन्दा शक्तिशाली विम्ब हो ।आफ्नो सन्तान अर्थात् प्रियपात्रलाई क्रान्तिमा होमिन प्रेरित गरी सपना पूरा गराउने आमाको अभिलाषाबाट कविताले अति संवेद्य र हृदयग्राह्य भावलाई प्रवाहित पार्न सफल भएको छ।   

रिमालले यस कवितामा भावनिवेदनका लागि जसरी सुन्दर शब्दशड्ढया तयार पारेका छन्, त्यसैगरी भावलाई प्रभावकारी बनाउन उपयुक्त शब्दालंकार र अर्थालंकारको प्रयोगले रोचकता थपेका छन्। यो कवितामा माथि भनिएका विम्बका उदाहरणले वाग्वैदग्ध्य र रसमय अनुभूति गराउन सफल भएका छन्। यस कविताको अलंकार योजना परम्परावादी नभएर प्रयोगमूलक छ। कवितामा शब्दालंकारका अनुप्रास (श्रुत्यानुप्रास, वृत्यानुप्रास, अन्त्यानुप्रास) र अर्थालंकारका उपमा, लुप्तोपमा, रूपक, संशय, स्मरण अलंकारको प्रयोग पाइन्छ। कविताको पहिलो पंक्तिपुञ्जमा त्यो, शीत, तिमी, हतियार, सित, बढ्ता, त्यसैले, त, तर जस्ता शब्दमा ‘त’ वर्णको प्रयोग १६ पटक भएको छ। त्यसैगरी विभिन्न शब्दमा ‘छ’ वर्णको प्रयोग ११ पटक, ‘न’को सातपटक ‘स’को आवृत्ति पाँचपटक, ‘म’को आवृत्ति नौपटक भएको छ। त्यसैगरी कविताभरि यस्ता विभिन्न वर्णको आवृत्तिले कवितालाई चामत्कारिक, श्रुतिपेशल र लयात्मक बनाएका छन्।  

आजका दिनमा सामाजिक जीवनका सूक्ष्म व्यवहारलाई पर्गेलेर रिमालले कल्पना गरेको त्यो मीठो गीतलाई हाम्रै जीवनका अनेक व्यवहारले बाँसुरीको धूनमा बदल्न जरूरी भएको छ। यस कवितामा क्रान्तिको उद्देश्य अधर्मसित लड्नु हो। आज अधर्म भनेकै विभेदपूर्ण व्यवहार हो। सबैलाई मानवताको दर्जामा समतामूलक व्यवहार गर्ने वातावरणको सिर्जना गर्न सके मात्र रिमालले भनेको जस्तो क्रान्तिको सपना पूर्ण हुन्छ।

‘त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ’ पंक्तिमा ‘त्यो’ले क्रान्ति, परिवर्तन वा क्रान्ति पुरुषलाई  जनाएको छ। यहाँ त्यो उपमेय र सूर्य उपमान, उज्यालो साधारण धर्म र ‘झैँ’वाचक शब्द हुन्। त्यसैले यो पूर्णोपमा अलंकारले सजिएको पंक्ति हो। सूर्य उपमानले यस कवितामा विशेष चमत्कार ल्याएको छ। अन्धकारको अन्त्य गर्ने बिहानको सूर्य सबैका लागि उपयोगी छ। यहाँ सूर्यले प्रकाश, ज्ञान, अधिकार, चेतना, न्यानोपन, आत्मीयता, प्रेम, सद्भाव, समानता आदि अर्थबोध गराउँछ। यसरी हरेक नकारात्मकतालाई चिर्ने अर्थमा सूर्य शब्दले विशेष भूमिका खेलेको छ र कविताको मूल्यलाई माथि उठाएको छ।

त्यसैगरी कवितामा ‘उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा..., हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ, मधुर उषाले चराहरूको कण्ठलाई जस्तै’ आदि पंक्तिहरूमा पनि उपमा अलंकार परेको छ। ‘तर त्यो मीठो गीतले... पंक्तिमा रूपक अलंकार, ‘त्यो आउँछ कि आमा’मा सन्देह अलंकार, ‘तिमी जन्मदा तिम्रो अनुहारमा’ पंक्तिमा स्मरण अलंकारको प्रयोग छ। यसैगरी यस कवितालाई पूर्वीयसमालोचना चिन्तनको अलंकारको शिल्पका अनेक कोणबाट व्याख्या गर्न सकिन्छ। यस कविताका आधारमा रिमाल उच्च शिल्प चेतना भएका कवि मानिन्छन्।

कवितामा समय चेतना
रिमाल समय चेतनाका कवि हुन्। उनले यस कविताको रचना नै नेपालमा राणाशाहीको अन्त्यका लागि आफूलाई क्रान्तिपुरुषका रूपमा आरोपित गर्दै गरेका हुन्। राणाकालीन दमनका विरुद्ध वि.सं. १९९७ को सहिदको बलिदान खेर गएपछि रिमालको क्रान्तिकारी चेतनमा चोट पुगेको थियो। उनी केही समय नेपालबाट हराए अनि भारतको अरबिन्द आश्रममा ध्यानमा लीन भए। पछि १९९९ सालमा काठमाडौं फर्किएपछि उनको उग्र क्रान्तिकारी चेतनाले चुपचाप बस्न दिएन र यस कविताको रचना गरेका हुन्। यसै विषयमा केशवप्रसाद उपाध्याय लेख्छन्, ‘१९९७ सालको क्रान्ति अभियान दुर्घटित भएपछि भौँतारिँदै हराएका कवि रिमाल जब १९९९ सालमा नेपाल फर्किए, तब नेपालको नियतिलाई बदल्न क्रान्तिक्षेत्रमा प्रवेश गर्नुपर्ने विचार उद्घोष गरे।

अनि उनले क्रान्तिको अवश्यम्भावितामाथि अमोघ विश्वास उत्पन्न गरी आफ्नो कविलाई क्रान्ति पुरुषका रूपमा स्थापना गर्दै ‘आमाको सपना’ लेखेका हुन्, (रिमाल, व्यक्ति र कृति, २०४९, पृ.७४)। ‘आमाको सपना’ कविता २००० सालमा शारदाको कात्तिक अंकमा प्रकाशित छ। त्यसैले ‘आमाको सपना’ कविता समयको मागको सूक्ष्म चेतनाबाट उद्वेलित क्रान्तिकारी मनस्थितिको अभिव्यक्ति हो। तत्कालीन परिस्थितिका विरुद्ध अति आवश्यक भएको विद्रोहको ज्वालामुखीलाई अति संवेदनशील शैलीमा कवितामा व्यक्त गरिएको छ। क्रान्तिले निम्त्याउने ध्वंश र त्यसबाट हुने नवनिर्माणको कल्पना कवितामा छ। यसले राणातन्त्रको अन्त्य र प्रजातन्त्रको उदयको कामना गरेको छ।

दर्शन र सन्देश
जीवन र समय परिवर्तनशील छ। समयको मागले समाजलाई परिवर्तनको बाटोमा सधैँ क्रियाशील बनाउँछ। ‘आमाको सपना’ कवितामा पनि समयको मागले ल्याउन खोजेको परिवर्तनको चाहना छ। त्यसैले यस कवितामा परिवर्तनशील प्रकृति दर्शन पाइन्छ। क्रान्तिले निम्त्याउने ध्वंश र त्यसपछि हुने नवनिर्माणको सपनाबाट राष्ट्रमा स्वस्थ र सुन्दर वातावरणको निर्माण गर्ने चिन्तन प्रकट भएको छ। यहाँ हुरी ध्वंसको प्रतीक हो, जसले सारा सुकेका पुराना कुरा उडाएर लैजान्छ र नयाँ पालुवाका लागि स्थान दिन्छ। क्रान्तिबाट आउने आमूल परिवर्तनलाई  कविताले संकेत गरेको छ। त्यसैले कवितामा स्वच्छन्दतावादी स्वप्नदर्शन वा भविष्य दर्शन प्रकट भएको छ।  

संसारमा जबजब दमन र अत्याचार भयो, तबतब परिवर्तनका लागि अनेक लहर आए। नेपालमा पनि पटकपटक भएका क्रान्ति र तिनले ल्याएका परिवर्तन आफैँमा महत्वपूर्ण छन्। पछिल्लो समयको दोस्रो जनआन्दोलनले ल्याएको लोकतान्त्रिक शासन पद्धतिले सम्बोधन गरेका लैंगिक, जातीय, दलित, क्षेत्रीय आदि मुद्दाले समाजमा फरक लहर निर्माण गरेको छ, तर तिनका सैद्धान्तिक आवाजलाई व्यवहारमा उतार्न पनि समयकै प्रतीक्षा गर्नुपर्ने देखिएको छ। समाजमा क्रान्तिबाट भौतिक व्यवस्थाको परिपाटीमा परिवर्तन ल्याउनु एउटा फरक पाटो हो भने चेतनाको तहमा पुगेर समाजका सूक्ष्म पाटोलाई समयअनुसार बदल्दै लैजानु पनि अर्को सामाजिक र सांस्कृतिक क्रान्ति हो भन्ने बोध भएको देखिन्छ।

त्यसैले मानिसका सोच र दृष्टिकोणमा क्रान्तिकारी परिवर्तन नआएसम्म समाज परिवर्तनको दिशामा अग्रसर हुँदैन भन्ने सबैमा अवगत भएको छ। आजका दिनमा सामाजिक जीवनका सूक्ष्म व्यवहारलाई पर्गेलेर रिमालले कल्पना गरेको त्यो मीठो गीतलाई हाम्रै जीवनका अनेक व्यवहारले बाँसुरीको धूनमा बदल्न जरुरी छ ।यस कवितामा क्रान्तिको उद्देश्य अधर्मसित लड्नु हो। आजको समयमा अधर्म भनेकै विभेदपूर्ण व्यवहार हो। सबैलाई मानवताको दर्जामा समतामूलक व्यवहार गर्ने वातावरणको सिर्जना गर्न सके मात्र रिमालले भनेको जस्तो क्रान्तिको सपना पूर्ण हुन्छ। यसरी हेर्दा चाहिँ यो क्रान्तिको आह्वानमा रचिएको र समतामूलक समाज निर्माणको दर्शनले ओतप्रोत कविता पनि हो। अनि यसले दिने सन्देश भनेकै क्रान्तिकारी परिवर्तन र स्वच्छ वातावरणको निर्माण हो। आमाको संवेदनाले निर्माण गरेको सन्तानप्रतिको समताको भावसँगै सुन्दर समयको परिकल्पना यसको उद्देश्य हो।

(लेखक त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागकी सहप्राध्यापक हुन् ।)

प्रकाशित: १८ माघ २०७६ ०६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App