१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

बेत–बाँसका समाग्री संकटमा

पछिल्लो समय निगालो, बेत–बाँसका सामग्रीको व्यापार खस्किँदै गएको छ। चीन र भारतबाट बाँस र प्लास्टिकका सामग्री भित्रिन थालेसँगै यस्ता सामग्रीको व्यापार घटेको चावहिलस्थित सूर्य बेत–बाँस प्रशिक्षण तथा खरिद बिक्री केन्द्रका संस्थापक सूर्य कटुवालले बताए।

भारतबाट बाँस तथा प्लास्टिकका सामग्री सहजै भित्रँदा घरेलु बजार प्रभावित भएको कटुवालको भनाइ छ। उनका अनुसार विदेशी सामान हेर्दा आकर्षक र सस्तो हुने भएकाले निगालो र बेत–बाँसका सामग्रीको बिक्री घटेको हो।

निगालो र बेत–बाँसको व्यावसायिक खेती नहुँदा उद्योगलाई आवश्यक कच्चा पदार्थ जुटाउन धौधौ भएको छ। काठमाडौं आसपासका जिल्लाबाट बाँस ल्याएर आफूहरुले प्रशिक्षण दिँदै आएको कटुवाल बताउँछन्। उनी भन्छन्, ‘बेत–बाँसका सामग्रीको व्यापार घट्दै गएको छ। अहिले सामग्री बिक्री नै हुँदैनन्, कुहिएर खेर जान्छन्, घरखर्च चलाउन गाह्रो छ।’

पछिल्लो समय निगालो र बेत–बाँसका सामग्री प्रयोगको चलन हराउँदै गएको पनि उनले सुनाए। पहिले नेपाली बाँसबाटै विभिन्न सामग्री बनाइन्थे, अहिले व्यापार ह्वात्तै घटेको छ। उनले भने, ‘भारतबाट ल्याइएका बाँसका सामग्री सस्तो मूल्यमा पाइने हुँदा नेपाली उत्पादनको बिक्री घटेको उनको भनाइ छ।

‘हामीकहाँ निगालो तथा बेत–बाँसको व्यावसायिक खेती हुन सकेको छैन,’ उनी भन्छन्, ‘बेत–बाँसको व्यावसायिक खेती नहुँदा उद्योगका लागि कच्चापदार्थ जुटाउन गाह्रो भएको छ। सार्वजनिक बाँसघारी पुगेर बाँस ल्याएर प्रशोधन गर्छौंं।’

सिर्जना बेत–बाँस कुपण्डोलका भानुभक्त अधिकारी पनि निगालो र बेत–बाँसका सामग्रीको व्यापार घटेको बताउँछन्। उनका अनुसार, पहिले विदेशीले बेत–बाँसका नेपाली उत्पादन धेरै किन्थे। काठमाडौंका विभिन्न ठाउँमा यससम्बन्धी प्रोजेक्ट सञ्चालन गरिन्थ्यो। सरकारले विदेशीलाई नेपालमा आएर कार्यक्रम गर्न अंकुश लगाएपछि आफूहरुको उत्पादनको बिक्री घटेको उनको भनाइ छ।

उनले बेत–बाँसका सामग्री उचाल्न, बोक्न र यताउता लैजान सजिलो हुने भएकाले विदेशीले खरिद गर्ने गरेको बताए। उनका अनुसार बेत–बाँसका मुढा, भकारी, ¥याक, दराज, टोपी, कोक्रो, डालो, नाङ्लो, खुत्रुके लगायतलाई प्लास्टिकजन्य सामानले प्रतिस्थापन गर्दै लगेको छ। उनी पुर्खाले जोगाइदिएको बाँसघारी लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्छन्। उनी भन्छन्, ‘घरेलु उद्योगबाट उत्पादित सामग्रीलाई व्यवसायीकरण गर्न सकिएको छैन। हामीजस्ता व्यापारीलाई पनि टिक्नै गाह्रो छ।’

पहिलेजस्तो बाह्य पर्यटकले हस्तनिर्मित तथा बेत–बाँसका सामग्री अहिले नकिन्ने गरेका कारण आफूहरुको व्यापार संकटमा परेको पनि उनको भनाइ छ। उनका अनुसार प्लास्टिकका सामग्रीको तुलनामा निगालो र बेत–बाँसका सामग्री प्रयोग गर्न निकै सहज हुन्छ। बेत–बाँसका सामग्री बिग्रँदा हातैले मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिए पनि प्लास्टिकजन्य सामग्री मर्मत गर्न सकिँदैन। यसतर्फ भने मानिसहरूले खासै ध्यान दिँदैनन्।

उचित बजार व्यवस्थापनको अभावमा निगालो र बेत–बाँसका सामग्रीले बजार पाउन सकेका छैनन्, कुहिएर खेर जाने अवस्था छ। सरकारी तथा गैरसरकारी संघसंस्थाहरू बजार प्रवद्र्धन गर्न सहयोग गर्नुपर्ने अधिकारीको भनाइ छ।

जोरपाटी बस्ने माइला तामाङले बेत–बाँसका सामग्रीको व्यापारबाट घरखर्च चलाउन नसकेपछि कृषिमा लागेका छन्। उनले पहिले निगालो र बेत–बाँसका -याक बनाएर बेच्थे।

ग्राहकहरू विदेशी सामानतिर आकर्षित भई आफूहरुको सामान बिक्न छाडेपछि आफूले व्यापार नै छाडेको उनको भनाइ छ। उनी भन्छन्, ‘पहिले बनाएका  करिब पचास वटा -याक बिक्री नभएर कुहिए। बेत–बाँसका सामग्रीबाट फाइदा नभएपछि कृषिमा लागेको हुँ।’
घरेलु उद्योग धरासयी भन्दै गएपछि रोजगारीकै लागि बिदेसिनुपर्ने बाध्यता आएको उनको भनाइ छ।

प्रकाशित: ११ माघ २०७६ ०४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App