१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

मुस्कानको शक्ति

स्पेनको गृहयुद्धताका फाँसीवादीहरुविरुद्ध लड्दै गर्दा म पक्राउ परेँ । मेरा दुस्मनले मलाई कालकोठरीमा हालिदिए र त्यहाँबाट अब बच्न सकिन्छ भन्ने मलाई पटक्कै थिएन । आँखाअगाडि मृत्यु देखेर को डराउँदैन ? को काम्दैन ? चिन्ता र डरले थर्थराएको जिउलाई साम्य पार्न चुरोट पिउन मन लाग्यो । सत्रुहरुले मलाई पक्रँदा सबै चिजबिजहरु लगेका थिए । कसो हुनाले यो एउटा चुरोट बाँकी रहेछ ! चुरोट ओठमा त लगाएँ तर त्यसलाई सल्काउने चिजबिज मसँग थिएन ।

मलाई थुनिएको ठाउँबाट जेलरलाई स्पष्ट देख्न सक्थेँ । जालीबाट यता देखिन्थ्यो कि देखिदैनथ्यो म ठ्याक्कै भन्न त सक्तिनँ तर यस्सो ठूलो स्वरले बोल्यो भने त्यता नसुनिने कुरै थिएन ।
मैले हिम्मत जुटाएँ र भनेँ,‘चुरोटको ज्यादै तलतल लाग्यो । निगाह भए म छ्यास्स आगो पाउँथेँ कि ?’
जेलर निकै कोमल रहेछ ! ऊ लुखुरलुखुर आयो र सलाई कोरिदियो । ऊ बारबाहिर, म बारभित्र !

सलाईको झ्यारर्र आवाजसँगै अनायास मेरो आँखा उसको आँखासँग जुध्यो । जसै आँखा जुध्यो, मेरा ओठ मुस्कानले तनक्क तन्किए । त्यो क्षण म जेलरसँग किन मुस्काएँ, मलाई नै थाहा छैन । तर मेरो मुस्कानको असर के परिदियो भने, जेलरका ओठ पनि मुस्काए । मलाई थाहा थियो, ऊ मालिक अनि म बन्दी ! ऊ मसँग कसरी मुस्काउन सक्छ ? ऊ मसँग मुस्काउन चाहँदैन थियो तर मेरो मुस्कानका कारण अकस्मात ऊ पनि मुस्कायो । यो मुस्कानले मनको दूरी मेटिदिएको थियो ।
चुरोट सल्काइसकेपछि पनि जेलर केहीबेर आमनेसामने भएरै बस्यो र हामी एकअर्कालाई हेर्दै मुस्काइरहेका थियौँ । त्यहाँ उसका लागि कैदी थिइनँ म र, ऊ पनि जेलर थिएन मेरा लागि । अकस्मात जेलरले सोध्यो,‘बच्चाबच्ची कति छन् नि ?’

मृत्युको चिन्ता र डर अझै घटिसकेको थिएन र बोल्ने आँट अझै आइसकेको थिएन । मैले उसको प्रश्नमा आफ्नो गोजीमा भएको फोटोबाट उत्तर दिन चाहन्थेँ । गोजी छामछुम पार्दैगर्दा उसले आफ्नो गोजीबाट एउटा राम्रो बच्चाको तस्बिर निकाल्यो । उसलाई आफ्नो छोरो निनोजप्रति ठूलो आशा थियो र ऊ कल्पिरहेको थियो– निनोजका लागि ऊ यसो गर्नेछ, उसो गर्नेछ । उसले आफ्नो छोराका बारेमा भन्दै गर्दा मेरो आँखामा चाहिँ आँशु आयो । नआओस् पनि किन ? अब म मेरो उही उमेरको छोरोलाई कहिल्यै देख्न पाउने छैन । मैले भनेँ पनि,‘मैले कहिल्यै पनि मेरा सन्तान र श्रीमतीलाई हेर्न नपाउने भएँ ! मेरा सन्तानहरु हुर्किरहेको मैले देख्न नपाउने भएँ !’
मैले त्यसो भनिरहँदा उसका आँखामा पनि आँशु देखेँ ।

उसको आँखामा आँशु ? मलाई उदेक लाग्यो ।
अचानक ऊ जुरुक्क उठ्यो र मेरो कोठाको ताला खोल्यो । मेरो कोठाभित्र छि¥यो र मेरो हातमा समात्यो । भित्री चोठाकोठा हुँदै उसले जेलबाहिर निकाल्यो र सुरक्षित ठाउँमा आइपुगेपछि मलाई छाडेर ऊ जेलतिर लाग्यो ।
एउटा मुस्कानले मेरो ज्यान जोगिएको थियो । अब मैले मेरा बच्चा र श्रीमतीलाई हेर्न पाउने भएको थिएँ ।

एन्टोइन डि सेन्ट–एक्जुपेरी
(स्पेनको गृहयुद्धमा नाजीहरुविरुद्ध लडेका साहित्यकार एन्टोइनले लेखेको यो कथा निकै लोकप्रिय भएको थियो । यो उनको सत्य घटना थियो । उनी लडाकु जहाजका पाइलट पनि थिए । पछि दोश्रो विश्वयुद्धमा लड्दैगर्दा उनी मारिएका थिए । उनी स्पेनका प्रख्यात साहित्यकार हुन् । उनको ‘द लिटिल प्रिन्स’ लघुउपन्यास विश्वविख्यात मानिन्छ ।)

दिनुको आनन्द
यस पटकको क्रिसमसमा पलले सपनामा पनि नचिताएको उपहार पायो । उसको दाजुले उसलाई नयाँ कार किनेर दिएको थियो । पलले चम्चमाउँदो कारको पार्किङमा राखेर केही किनमेल गरिरहेको थियो । यसै बेला सडकमा मागी हिँड्ने एउटा युवकले कारलाई ध्यानपूर्वक हेर्‍यो । पलले परबाट देख्यो, उसको कारलाई मगन्तेले हेरिरहेको छ । टिलिक्क टल्केको त्यो कारलाई मज्जाले घुमीघुमी र घुरिघुरी हेरिरहेको छ । पल नजिक आइसकेपछि मगन्ते युवकले सोध्यो– “के यो तपाइँको कार हो ?”
स्वीकारोक्तिको टाउको हल्लाउँदै पलले थप्यो– “मेरो दाइले क्रिसमसको उपहार भनेर आज बिहानै मात्र दिएको !”
“ए ! हो र ?” छक्क पर्दै युवकले भन्यो र लामो श्वास तान्दै केही भन्न खोज्दाखोज्दै रोकियो ऊ– “काश...”
पलले युवकको आशय बुझेझैँ मनमनै गुन्यो– “काश... तिमीले पनि तिम्रो दाजुबाट यस्तै उपहार पाएदेखि... भन्न त खोज्या होला नि !”

तर पलले भनेजस्तो त्यो केटोले बोलेन । केटोले भन्यो– “काश... तपाईंलाई उपहार दिएजस्तै म पनि मेरो भाइलाई उपहार दिन सक्ने भए कति जाती हुन्थ्यो होला !”
पल अचम्ममा पर्‍यो । यो केटो जो ज्यादै गरीव र तन्नम छ, पाउन खोजिरहेको छैन । ऊ त दिन खोजिरहेको छ । उल्टै ऊ आफ्नो भाइलाई यस्तै कार दिन पाए भनेर सोचिरहेको छ । यो कुराले पललाई भित्रैसम्म छोयो ।
पलले प्रस्ताव राख्यो– “तिमी र म यो कारमा शहर घुम्न निस्कँदा कसो होला ?”
“वाह, क्या बात ! कति राम्रो प्रस्ताव !” केटोको अनुहारमा चमक थियो ।
कारमा जसै हिँड्न थाल्यो, केटाले केही सोचेझैँ गरेर भन्यो– “तपाईं मेरो घरसम्म जानु हुन्छ ?”
पलले फेरि यो युवकको आशय बुझेँ भन्ने ठान्यो– “यो केटो पक्कै पनि आफ्ना छिमेकीलाई चिल्लो गाडीमा चढेँ भनेर देखाउन चाहिरहेको छ ।”

युवकले भन्यो– “मेरो घरको सिंढीसँगै सटाएर गाडी रोक्नु होला ।”
पलले त्यो युवकको घरको सिंढीसम्मै टँसाएर गाडी रोक्यो र युवक हान्निँदै घरभित्र पस्यो । जसरी ऊ घरभित्र छिरेको थियो, त्यसको ठीक विपरीत विस्तारै ऊ फर्कियो र साथमा थियो उसको भाइ । उसको भाइ अपाङ्ग थियो र भाइलाई उसले अँगालोमा बेरेर ल्याइरहेको थियो । कारको छेउमा आइपुगेपछि उसले भाइलाई सिंढी छेउमा राख्यो, जहाँ गाडीलाई अपाङ्ग भाइले हेर्न र छुनसमेत सक्थ्यो ।

युवकले भन्यो– “थाहा छ भाइ ? यी पल हुन् । यिनलाई उनको दाइले क्रिसमसको उपलक्ष्यमा यो कार उपहार दिएका हुन् । यो कार किन्न उनको एक सुको पनि लागेन । र, एक दिन म पनि तिमीलाई यस्तै कार उपहार दिनेछु र त्यो कारमा तिमी हिँड्दै गर्दा सिँगारिएर चिटिक्क परेका घरहरु, क्रिसमसका रुखहरु र थुप्रै रमाइला चिजबिज हेर्न पाउनेछौ । मैले तिमीलाई सुनाउन त सुनाएँ तर ती सबै चिज आफ्नै आँखाले देख्नेछौ, त्यो बेला ।”
आफ्नो अघिल्तिर भएको आँखै तिर्मिराउने कार देखेर ती युवकको अपाङ्ग भाइ चकित परिरहेको थियो । र, सबैभन्दा बढी पलको आँखा हल्का रसाउन थालेको थियो । पल कारबाट ओर्लियो र अपाङ्ग भाइलाई अघिल्तिरको सिटमा राख्यो र उसको छेउमा त्यो युवक पनि बस्यो । त्यो दिन युवकले उसको भाइलाई देखाउन चाहेका सबै चिजबिज पलले देखाउन कञ्जुस्याईं गरेन । किनभने, उसले जीवनमा पहिलो पटक दिनुको आनन्द के हो भन्ने थाहा पायो ।

डन क्लार्क

फूलको गुच्छा
बसको पछिल्लो सिटमा एउटा दुब्लो, पातलो र हेर्दैमा रोगी वृद्ध बसिरहेका थिए । उनले हातमा फूलको गुच्छा बोकेका थिए । र, फूलको गुच्छाको बोकाईबाट थाहा हुन्थ्यो, कोही महत्वपूर्ण व्यक्तिलाई फूल अर्पण गर्न यी वृद्ध जाँदैछन् ।
यी वृद्धको ठीक सामुन्नेमा एउटी भर्खरकी युवती बसेकी थिइन् । ती युवतीको आँखा घरिघरि तिनै फूलको गुच्छामा पुगेर ठोक्किन्थे ।

जसै वृद्ध बसबाट ओर्लिने समय आयो, वृद्धले फूलको गुच्छा युवतीको काखमा राखिदिँदै भने– “तिमीलाई फूल ज्यादै मनपर्छ भन्ने मैले चाल पाइसकेँ । र, मेरी बूढीले पनि यो फूल तिमीले पाएकोमा दुःख मनाउ गर्ने छैनन् बरु खुशी नै हुनेछिन् । मैले उनका लागि ल्याएको फूल तिमीलाई दिएँ भनिदिउँला !”
युवतीको हातमा केहीबेर अघिसम्म लोभले हेरेको फूलको गुच्छा थियो । उनले ती फूलको गुच्छा दिने वृद्धतिर कृतज्ञतापूर्वक हेरिन् । बसबाट ओर्लिएपछि वृद्धका गोडा नजिकैको सानो चिहानतिर लम्किरहेका थिए ।

बेनेट सर्फ

एक कुरुप व्यक्तिको साँचो प्रेम
उनको नाउँ थियो, मोसेज मेन्डलसन । हुनलाई त यी ज्यादै विद्वान थिए तर हेर्दा चाहिँ उनलाई लगभग कुरुप नै भन्न सकिन्थ्यो । उनलाई एक किसिमको ढाडको बिमारी थियो र उनी हिँड्दा कुप्रिनु पथ्र्यो । एक त होचा व्यक्ति, त्यसमाथि कुप्रिएर हिँड्दा उनलाई कुनै पनि ढङ्गबाट आकर्षक व्यक्तित्वका धनी भन्न सकिँदैनथ्यो । यिनले यहुदीहरुको धर्मलाई नयाँ तरिकाले व्याख्या गरेका थिए । र, जर्मनीमा यिनको ठूलो इज्जत थियो ।
एक दिन उनी जर्मनीको ठूलो शहरमध्ये एक ह्याम्बर्ग पुगे । त्यहाँ उनले एक जना व्यापारीलाई भेट्नु थियो । ती व्यापारीकी फ्रम्जे नामक प्यारी छोरी थिइन् । फ्रम्जे कति सुन्दर थिइन् भने उनलाई देख्ने बित्तिकै मोसेज मोहित भए । उनलाई पहिलो नजरमा हुने प्रेम भइदियो । यता फ्रम्जेले चाहिँ उनलाई वास्तै गरिनन् । हुन पनि युवा फ्रम्जेले वास्ता गरिनुपर्ने आकार–प्रकारका मोसेज थिएनन् पनि !

जब व्यापारीसँगको काम सकेर उनी फर्कने बेला भयो, उनका आँखाले स्वाभाविक रुपमा फ्रम्जेलाई खोजे । पहिलो र अन्तिम पटक नै सही उनी फ्रम्जेसित बात मार्न चाहन्थे । निकै ठूलो हिम्मत जुटाउँदै उनी फ्रम्जेको निजी कोठामा पुग्ने सिंढी चढ्न थाले । मोसेज कोठामा छिरेपछि देखे एउटा अपूर्व सुन्दर युवती । मानौँ, अप्सरा कोठामा भर्खरै स्वर्गबाट आइपुगेकी छ । कोठामा नौलो व्यक्ति छिरे पनि फ्रम्जेले उनलाई त्यस्तै बेवास्ता गरिन्, जुन बेवास्ता अघि तल गरेकी थिइन् । त्यो बेवास्ताले मोसेज मर्माहत भए । उनले ती अपूर्व सुन्दरीसित कुरा गर्ने निकै प्रयास गरे, सकेनन् । फेरि पनि हिम्मत जुटाएर लजाउँदै भने– “बिहे भन्ने कुरा स्वर्गमै तय भएको हुन्छ भन्ने कुरा पत्याउनु हुन्छ ?”

“म पत्याउँछु”, उत्तिकै सुरिलो आवाजमा फ्रम्जेले भुइँतिर हेर्दै भनिन्– “अनि तपाइँ चैँ ?”
“मलाई त झनै पक्का विश्वास छ”, मोसेजले बोल्ने मौका पाएका थिए र यसलाई उनी के उम्कन दिन्थे र ? उनले भने– “थाहा छ ? ईश्वरले केटा जन्मँदै गर्दा उसले कुन केटी बिहे गर्ने हो भनेर पहिले नै घोषणा गरिदिन्छन् । जब ईश्वरले घोषणा गरे, त्यस बेला मैले मेरी भावी श्रीमती देखेँ । त्यसपछि ईश्वरले भने– “तिम्री श्रीमती चाहिँ कुम्लो भएकी हुनेछिन् ।” मैले तत्काल उहाँलाई भनेँ– “हे ईश्वर ! एउटी नारी कुरुप भएको साह्रै नराम्रो हुन्छ । बरु उसको साटो मलाई नै कुरुप बनाइदेऊ तर उनी सुन्दर नै होऊन् ।”
मोसेजको कुरा सुनेर फ्रम्जे छक्क परिन् । भुइँबाट उनको नजर उठेर मोसेजको आँखामा ठोक्कियो । फ्रम्जेले मोसेजको आँखामा उनप्रतिको अगाध माया देखिन् ।
केही समयपछि दुवैको बिहे भयो र जीवनभर फ्रम्जे मोसेजप्रति समर्पित भइन् ।

बेरी विसेल

(चिकेन सुप फर द सोल पुस्तकबाट साभार)

प्रकाशित: १ पुस २०७६ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App