११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

जनकदर्शनले दिएको मिथिला सम्पदा

गोविन्द न्यौपाने/विमल ज्ञवाली   

मिथिलाका राजा जनक, जो नेपालको राष्ट्रिय विभूतिका रूपमा स्थापित छन्, जो पुराणहरूमा व्यास, पाणिनी, अष्टावक्र लगायत ऋषिको लहरमा परिचित छन्, उनले विभिन्न ऋषिसँग जिज्ञासुका रूपमा शास्त्रार्थ गर्ने क्रममा जे–जति ज्ञान प्राप्त गरे, त्यसलाई जनकदर्शन भनिन्छ। जनकका विचारहरू कुनै लिखित ग्रन्थका रूपमा त छैनन्, तर महाभारत, श्रीमद्भागवत, देवीभागवत, बृहदारण्यकोपनिषद्, अष्टावक्र, गीता लगायत ग्रन्थमा उछरिएर रहेका छन्।

डा. स्वामी रामानन्द गिरि (२००४–२०७४) ले महर्षि जनकका विचारलाई संकलन गरी आफ्नो विधावारिधिको शोधपत्र ‘राजर्षेजनकस्य विदेह सिद्धान्तस्य समीक्षात्मक अध्ययनम्– २०४१’ तयार गरे। त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि लिने क्रममा उनले संस्कृत भाषामा तयार गरेको यस शोधपत्रलाई २०५० सालमा रामहरि तिमल्सिनाले नेपालीमा अनुवाद गरी ‘जनक–दर्शन’ नाम दिए। यो ग्रन्थले जनक र मिथिला क्षेत्र नेपालको पौराणिक इतिहासको आधार र सम्पदा भएको संकेत गरेको छ।

जनक को हुन् ?
नेपालको सन्दर्भमा जनकपुर अर्थात् मिथिला सभ्यतालाई पौराणिक सभ्यताका रूपमा विवेचना गरिएको पाइन्छ। अयोध्याका राजा मनुका पुत्र निमि, जसका मिथि नामका छोराले मिथिला नामक सहर स्थापना गरेको प्रसंग भविष्यपुराणमा छ। निमिका पुत्र मिथि नै मिथिलाको संस्थापक भएकाले उनलाई जनक भनिएको र उनकै नामबाट जनकपुर अर्थात् मिथिला नाम रहन गयो र जनक शब्द एक उपाधिका रूपमा प्रचलित भयो। निमि देहरहित मानिएकाले यस क्षेत्रलाई विदेह राज्य पनि भनिन्छ।

अयोध्याका राजा मनुका पुत्र निमि, जसका मिथि नामका छोराले मिथिला नामक सहर स्थापना गरे। निमिका पुत्र मिथि नै मिथिलाको संस्थापक भएकाले उनलाई जनक भनिएको र उनकै नामबाट जनकपुर अर्थात् मिथिला भएको हो।

जनकपुर क्षेत्रको पौराणिक भूगोलका विषयमा विभिन्न साहित्यमा चर्चा पाइन्छ। प्राचीन बौद्धग्रन्थ सुरुचि जातक र गान्धार जातक कथाहरूमा मिथिलाको क्षेत्रफल (१२०० कोश) रहेको उल्लेख छ। त्यस्तै, बृहत विष्णुपुराण अनुसार, पूर्वमा कोशीदेखि पश्चिममा गण्डकीसम्म र उत्तरमा हिमालयदेखि दक्षिणमा गंगासम्म मिथिला सहर पर्छ। वर्तमान राजनीतिक भूगोलमा भारतका केही भाग र नेपालका केही भागमा तत्कालीन मिथिला सभ्यता परिवेष्ठित थियो भन्न सकिन्छ। सिमरा क्षेत्र, सिम्रौनगढ र तिरहुत राज्य भनी चिनिने जनकपुर क्षेत्रले नेपालको पूर्वमध्यकालको इतिहासमा विशेष भूमिका खेलेको ऐतिहासिक तथ्यहरूबाट सिद्ध छ। १४औं शताब्दीमा नेपालको बाटो भएर भारतसम्म यात्रा गर्ने तिब्बती बौद्ध तीर्थयात्री धर्मस्वामीले आफ्नो यात्रा वृत्तान्तमा मिथिला क्षेत्रको उल्लेख गरेका छन्। सन् १०९७ मा नान्यदेवद्वारा स्थापना गरिएको सिम्रौनगढ राज्यले एकातिर हिन्दू धर्म र संस्कृतिको संरक्षणमा भूमिका खेलेको थियो भने अर्कोतिर काठमाडौंका मल्ल राजाहरूको राजनीतिमा समेत कूटनीतिक तथा सैन्य प्रभाव पारेको थियो। लगभग सवा दुई सय वर्षसम्म यो स्वतन्त्र राज्यका रूपमा रह्यो।

पुरातात्विक आधारमा जनककाल
चीनको प्रागैतिहासिक स्थल चाउकोटिन गुफाबाट प्राप्त अस्थि अवशेष र नेपालको कान्छो पहाडका रूपमा परिचित चुरे पहाड अर्थात् बुटवलस्थित तिनाउँ खोलाको खोँचबाट प्राप्त रामापिथेकसको अस्थि अवशेषले नेपालको दक्षिणी भू–भागमा मानव समूह रहेको संकेत गरेका छन्।

आप्रवासीका रूपमा आएको भनिएका आर्य र यहीँका आदिवासीबीचको सांस्कृतिक, सामाजिक अन्तर्संघर्षबाट वैदिक र पौराणिक कालमा भारतमा विभिन्न ग्रन्थको रचना भएको मानिन्छ। सिन्धु सभ्यतापछि मूलतः उपनिषद् कालसम्म हिन्दूदर्शन उच्च रूपमा विकसित भइसकेको थियो। गीतामा पनि जनकदर्शनबारे उल्लेख भएकाले यस तथ्यलाई पुष्टि गर्छ।

पुरातात्विक खोजबाट प्राप्त प्रमाणलाई आधार लिँदा प्रागैतिहासिक कालमै तराई क्षेत्रमा मानव सभ्यताको थालनी भइसकेको संकेत पाइएको छ। लुम्बिनी, कपिलवस्तुमा उत्खननका क्रममा पिजी वेयर (खैरो रंगका माटाका भाँडाकुँडा), एनबीपी वेयर लगायत सांस्कृतिक तह क्रमहरूले यस तथ्यलाई सिद्ध गर्छन्। पुरातत्वविद्का अनुसार पिजी वेयरलाई ईसापूर्व १२औं शताब्दीदेखि ईसापूर्व आठौं शताब्दीको मानिएको छ। आठौं शताब्दीमा रचित अवेस्ता ग्रन्थसँग तुलना गरी ईपू १२०० देखि ईपू १००० को बीचमै वेदको आधिकारिक रचनाकाल भएको म्याकडोनालको निष्कर्षलाई संस्कृतिविद् कुलचन्द्र कोइरालाले आफ्नो पुस्तक ‘शाक्त सप्रदाय र शक्ति पीठ’मा स्वीकार गरेका छन्।

त्यस्तै, भारतीय पुरातत्वविद् बिबी लालले पिजी वेयरलाई महाभारतकालसँग तुलना गरेका छन्। यस आधारबाट जनकपुर र अयोध्याको रामायणकालीन समय लगभग ईपू १२औँ शताब्दीदेखि ईपू आठौं शदाब्दीको बीचमा विकसित भएको मानिएको छ। पुरातत्वविद् बाबुकृष्ण रिजालले तिलौराकोट उत्खननबाट भेटिएको पिजी वेयरकालीन सांस्कृतिक तह क्रमलाई भारतको पीजी वेयरकालीन हस्तिनापुरसँग तुलना गरेका छन्, (लुम्बिनी, कपिलवस्तु, देवदह– बाबुकृष्ण रिजाल)। त्यस्तै, महाभारतको विभिन्न सन्दर्भमा हस्तिनापुरको प्रसंग उल्लेख भएकाले ईपू १२औं शताब्दीदेखि नै अयोध्या, हस्तिनापुर र तराई क्षेत्रको सांस्कृतिक सहसम्बन्ध तुलना गर्न सकिन्छ। उल्लिखित पुरातात्विक र पौराणिक तथ्यको तुलनात्मक अध्ययनका आधारमा बुद्धकालभन्दा अगाडि नै जनककालको विकास भएको पाइन्छ। तर, रामानन्द गिरिले ईपू ५९९ देखि ईपू २०० बीचको समयलाई महाकाव्यकाल मानेका छन्, जुन तर्क संगत छैन। उनले जनक–दर्शनमा काल विभाजनको स्रोत नखुलाएकाले थप खोज र प्रमाण आवश्यक देखिन्छ।

जनकदर्शन कृति संरचना
यस ग्रन्थमा विभिन्न चार अध्याय छन्। जस अन्तर्गत खण्ड १ मा दर्शनको परिभाषा, विदेहराज जनकको आचार दर्शन, तत्वदर्शन लगायत विषयको निरुपण गरिएको छ।

खण्ड २ मा भारतीय दर्शनको ऐतिहासिक पक्षलाई पनि त्यत्तिकै महत्वका साथ केलाइएको छ। बुद्धकाल (ईपू ५६३) भन्दा अघिको दर्शनको ऐतिहासिक तथ्य अलि अव्यवस्थित भएकाले विभिन्न विद्वान् तथा इतिहासकारले गरेको समय निर्धारणमा मतभिन्नता छ। भारतीय दर्शनको उद्गम स्रोत वेद श्रुति परम्परा हुँदै धेरै समयपछि मात्र लिपिमा प्राप्त भएको मानिन्छ। डा. तिलक, डा. राधाकृष्णन्, राहुल सांकृत्यायन आदि भारतीय विद्वान् एवं पाश्चात्य विद्वान् मैक्समुलर आदिले दिएको प्रमाणका आधारमा हजारौं वर्ष पुरानो भारतीय दर्शनशास्त्रको इतिहासलाई डा. गिरिले वैदिककाल (ईपू ६०००– ई.पू. ६००), महाकाव्य काल (ईपू ५९९– ईपू २००), सूत्रकाल (ईपू १९९– सन् ३०० सम्म) वृत्तिकाल (सन् ३०१– सन् १७०० सम्म) चार भागमा विभाजिन गरी यसबीचमा प्रतिपादन भएका विभिन्न ग्रन्थका बारेमा चर्चा गरी तिनीहरुको इतिहाससँग जनकदर्शनलाई जोड्ने प्रयास गरेका छन्।

यसैगरी, पुस्तकमा जनकदर्शनलाई भारतीय अन्य दर्शन (सांख्य दर्शन, योग दर्शन, न्याय दर्शन, वैशेषिक दर्शन, मीमांशा दर्शन, शांकर वेदान्त दर्शन, रामानुज दर्शन, माध्व दर्शन, निम्बार्क दर्शन, वल्लभ दर्शन, चैतन्य दर्शन, पाञ्चरात्र दर्शन लगायत)सँग तुलनात्मक अध्ययन गरिएको छ।

खण्ड ३ मा जनकदर्शनभन्दा अगाडि र पछाडिको समयमा देखापरेका अद्वैत दर्शनका सन्दर्भमा चर्चा गरिएको छ।

जनकभन्दा पछिल्लो समयमा अद्वैतवादका सिद्धान्तलाई प्रस्ट्याउने क्रममा ब्रह्मसूत्र, विभिन्न पुराणहरू, महाभारत, श्रीमद्भगवद्गीता, तन्त्र, योगवाशिष्ठ, शंकराचार्यपूर्वका अद्वैतवादी दार्शनिकहरू र शंकराचार्यका विभिन्न कृतिमा उल्लेख गरिएका दृष्टान्त सहितका प्रसंग प्रस्तुत भएका छन्।

चौथो खण्डमा जनकदर्शनको स्वरूप विवेचनमा अद्वैतवादको ब्रह्मैकत्ववादलाई व्याख्या र प्रमाण जुटाउन महत्वपूर्ण भूमिका खेल्ने शब्दावलीहरू जस्तैः ब्रह्म, ईश्वर, माया, आत्मा, जीव, मन, जगत्, ज्ञान, कर्म, वैराग्य, मुक्ति आदिको व्याख्यासँगै आश्रम व्यवस्थामा सन्न्यास आश्रमलाई गौण स्थान दिँदै बिट मारिएको छ।

जनक दर्शनमा के छ ?
जनकदर्शन वेदान्त दर्शनको सामाजिक र व्यावहारिक सार हो। यसले एक मात्र परम सत्य उही अद्वितीय आत्मा अथवा ब्रह्म नै हो भन्ने वेदान्त दर्शनको सिद्धान्तलाई स्वीकार गर्छ। आत्मा या ब्रह्मबाहेक अन्य दृश्य–अदृश्य सबै पदार्थ भ्रम हुन्, ब्रह्मज्ञानद्वारा ब्रह्म र ईश्वर अथवा ब्रह्म र जगत्बीच भेद भएको दर्शाउँछ। त्यस्तै, सत्, चित् र आनन्दले युक्त आत्मा मनका तीन अवस्था जागृत, स्वप्न र सुषुप्तिबाट पार गरी तुरीय अवस्थामा पुग्नु, मायारूपी आवरणको चिरफार भई परमसत्य आत्मा नै ब्रह्म हो भनी बोध हुनु नै जनक दर्शनको ध्येय हो।

जनकदर्शन भन्छ– डोरीलाई सर्प देख्नुजस्तै अज्ञानताको कारण दृश्य जगत्लाई सत्य ठानिन्छ, तर आत्मज्ञान प्राप्त भएपछि सत्य बोध हुन्छ। मायावी जगत्लाई सत्य देख्नु दुःखको कारण हो भने परम सुख भनेको आत्मज्ञान वा मोक्ष प्राप्ति हो।

यसरी जनकदर्शनले आत्मज्ञानलाई मानव जीवनको परम लक्ष्य मानेको छ। उक्त लक्ष्य प्राप्तिका लागि भारतीय दर्शनका विविध सम्प्रदायमा भिन्न–भिन्न मार्ग अनुशरण गरेको पाइन्छ। जस्तो ः शांकर वेदान्तले आत्मज्ञान प्राप्त गर्न सन्न्यास मार्गबाट सम्भव देख्छ। तर जनकदर्शनले मोक्ष प्राप्तिका लागि आत्मज्ञान आवश्यक छ, तर सन्न्यास लिन आवश्यक छैन भन्ने बताउँछ।

जनकले पनि गृहस्थाश्रममै रही सम्पूर्ण राजकाज चलाएरै मोक्ष प्राप्त गर्न सफल भएको मानिन्छ। जनकदर्शनका अनुसार, पानीमा नुन घोलिएजस्तै शरीररूपी आवरणले अवरोध नगरी शरीर र शारीरिक कर्मप्रति आशक्ति भाव नराखी कर्म गरेमा जीवनकालमै मुक्ति प्राप्त गर्न सकिन्छ।

राग र द्वेषबाट माथि उठेर सामाजिक एवं व्यावहारिक कर्तव्यहरू निष्काम सम्पादन गर्दै परम लक्ष्य प्राप्त गर्न सिकाउने दर्शन हो, जनकदर्शन।

पूर्वीय दर्शनशास्त्रमा जस्तै पश्चिमा दर्शनशास्त्रमा चेतना र पदार्थको सम्बन्धलाई केन्द्रमा राखेर गरिएका बहसमा अद्वैतवादका संकेत पाइन्छन्। ग्रिकका प्रसिद्ध दार्शनिक क्सेनोफोन, प्लेटो, अरस्तु, फ्रान्सका दार्शनिक डेकार्ट र स्पिनोजाका विचारमा अद्वैतवादको संकेत पाइन्छ। दृक् र दृश्य अर्थात् चेतना र पदार्थको सम्बन्धका बीचमा पूर्वीय दार्शनिकका साथसाथै पश्चिमा दार्शनिकहरू पनि अग्रपंक्तिमा छन्।

हिन्दू दर्शनको चिन्तन प्रणाली मूलतः अद्वैत र द्वैतबीचको सम्बन्धको बहसमा केन्द्रित छ। जीवन र जगतलाई व्याख्या गर्ने क्रममा आध्यात्मिक र भौतिक दुवै दृष्टिकोणलाई केन्द्रमा राख्नु हिन्दू दर्शनको विशेषता हो।

हिन्दू दर्शनका विभिन्न चिन्तनका आधार ब्रह्म, ईश्वर, माया, जीव, जगत, मन, ज्ञान, कर्म, मोक्ष आदि प्रमुख हुन्। विशेषतः ब्रह्म सत्य हो र दृश्यात्मक जगत मिथ्या हो, अर्थात् जीव र ब्रह्म एउटै हो भन्ने भावार्थलाई आदि शंकराचार्यले व्याख्या गरेका छन्। ईश्वर नै एक हुन् दोस्रो छैन भन्ने भावार्थलाई ‘ब्रह्म सत्य जगत् मिथ्या’ भन्ने सूत्रबाट अद्वैतवादको प्रतिपादन भएको छ। अज्ञानताको बादल फाट्नासाथ सच्चितानन्दको बोध हुन्छ भन्ने शंकराचार्यको दार्शनिक भावार्थमा टेकेरै उनीपछिका अन्य दार्शनिकले थप विमर्श गरेका छन्।

रामानुजाचार्यको विशिष्ट द्वैतवादले पनि ब्रह्मलाई नै सत्य मानेको छ। तर, ईश्वर, जीव र जगत्लाई पनि सत्य मान्ने भएकाले उनको दर्शनलाई विशिष्टाद्वैत भनिएको हो। ईश्वर र जीव जगत् एउटै हो पनि, होइन पनि भन्ने दर्शनलाई केन्द्रमा राख्दै निम्बार्काचार्यले द्वैताद्वैत दर्शनको प्रतिपादन गरेका छन्। जीव र जगत् ईश्वरमा आश्रित छन् अर्थात् ईश्वरको कारण नै मायामय जगत्को सृष्टि भएको हो भन्ने व्याख्यामा द्वैताद्वैत दर्शनको भावार्थ झल्किन्छ।

वेद र उपनिषद्का दार्शनिक धारहरूमा जनकदर्शन आश्रित छ। दार्शनिक विमर्शहरूमा जनकले आफूलाई दार्शनिक भन्दा पनि दर्शनको जिज्ञासुका रूपमा प्रस्तुत गरेको पाइन्छ।

चेतना र पदार्थको सम्बन्धको व्याख्यामा उनले अद्वैत दर्शन अर्थात् ब्रह्मतत्वलाई नै पूर्णसत्य मानेका छन्। औपनिषद् अद्वैतवाद र पछि प्रतिपादित शांकर वेदान्तको अद्वैतवादमा जस्तै जनकदर्शनमा पदार्थ अर्थात् जगतलाई भ्रम या छाया भनिएको छ।

समग्रमा उनले व्यवहारवादी अद्वैतवादको सिद्धान्तको अभ्यास गरेर मोक्ष पाउन सक्ने तर्क दिएका छन्। यसर्थ जनकले अलग्गै दार्शनिक सिद्धान्त प्रतिपादन गरेको नभई वैदिक दर्शनका आधारहरूको पुनव्र्याख्या गरेका हुन्।

निष्कर्ष
मिथिला क्षेत्रले नेपाल र भारतबीचको सांस्कृतिक र सामाजिक सम्बन्धलाई अटुट रूपमा जोडेको छ। याज्ञवल्क्य, जनक, अष्टावक्र, न्यायवार्तिकका रचैता उद्योतकर, उदयनाचार्य, गंगेश उपाध्याय जस्ता पछिल्ला चिन्तक जनकपुरमै जन्मेको मानिन्छ। जसले जनकपुरको परिचयमाथि प्रकाश पारेका छन्।

जनकदर्शनको प्रारम्भिक अध्ययन र अनुसन्धान डा. गिरिबाट भएको खोजले नेपालका राष्ट्रिय विभूति जनक र विश्व सम्पदाको सूचीका लागि योग्य जनकपुर/मिथिला क्षेत्र संसारकै वैदिक, दार्शनिक र आध्यात्मिक केन्द्र नेपाल भूमिमा पर्नु अपूर्व संयोग भएको देखाउँछ। जनकदर्शन समग्र भारतीय दर्शनकै विशिष्ट प्रशाखा भएको हुँदा यससम्बन्धी अध्ययनमा भारतीय विद्वान्को पनि उत्तिकै दायित्व हुन जान्छ। जनकपुर क्षेत्रमा दुवै देशको समन्वयमा जनकदर्शनको अध्ययन, अनुसन्धान केन्द्रको स्थापना गर्न उपयुक्त देखिन्छ। मिथिला सभ्यता र अयोध्यालाई जोड्ने सीता र रामबीचको वैवाहिक सम्बन्धले नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई मजबुद बनाएको पौराणिक आधार छ। यस सम्बन्धलाई अझ मजबुत बनाउन जनकपुर र अयोध्याबीच रामायण परिपथको विकासको माध्यमबाट पनि संसारका आध्यात्मिक एवं वैदिक दर्शनका जिज्ञासुलाई यस क्षेत्रमा आकर्षित गर्न सकिन्छ। हाम्रा यी अमूल्य निधिहरूको संरक्षण, संवद्र्धन, प्रचार प्रसार गर्न आवश्यक छ। मिथिला क्षेत्रलाई साझा विश्व सम्पदा बनाउन जनकको अद्वैत दर्शन महत्वपूर्ण छ।

प्रकाशित: २८ मंसिर २०७६ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App