१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘प्रतिभाशाली बसेन भने देशको कहिल्यै विकास हुँदैन’

तस्बिरः कृष्पा श्रेष्ठ

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुन त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा रहेको आविष्कार केन्द्र पुग्दा १० मिनेट पर्खन लगाए । त्यतिञ्जेल हामीले आविष्कार केन्द्र अवलोकन गर्‍यौँ ।

करिब ११/१२ जनाको सङ्ख्यामा रहेका विद्यार्थी काममा घोत्लिरहेका थिए । केहीबेरमा नीलो टिसर्ट र खैरो ट्राउजरमा बदाम खाँदै आइपुगे पुन । उनले काममा मग्न युवाहरुलाई एकपछि अर्काे गर्दै हेर्दै गए । राम्रोसँग काम गर भन्नलाई छुटाएनन् । उनले मुसुक्क हाँस्दै हामीलाई भने, ‘म यिनीहरुको गोठालो हुँ ।’

म्याग्दीको नाङ्दीमा जन्मेका महावीर पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातकोत्तर गरेका हुन् । २५ वर्ष विद्यालय शिक्षकका रुपमा काम गरेका पुनले ७ वर्षअघि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरे । वायरलेस प्रविधि प्रयोग गरेर गाउँगाउँमा इन्टरनेट सुविधा पुर्‍याएका कारण एसियाको नोबेल पुरस्कारका रुपमा लिइने म्यागासेसेबाट सम्मानित भए ।

राष्ट्रिय आविष्कार केन्द्रले अहिले नयाँ नयाँ आविष्कारका काम गरिरहेको छ । पुनकै भाषामा भन्दा अहिले आविष्कार प्रयास भइरहेको छ । युवाहरुको आकर्षण पनि बढेको देख्छन् उनी । दिनहुँ यही आविष्कार केन्द्रको व्यवस्थापन गरिरहेका पुन समृद्धि हासिल गर्न विज्ञान र प्रविधिको विकास बिना असम्भव देख्छन् । विविध विषयमा केन्द्रित रही ‘परिवार’कर्मी प्रजु पन्तले पुनसँग गरेको कुराकानीः

हिजोआज तपाईंको दैनिकी कसरी चलेको छ ?
यहाँ देखिहाल्नुभयो । शब्दमा त के भनौँ र ? (मुसुक्क हास्दै) दिनदिनै आयो, आविष्कार केन्द्रको गतिविधि हेर्‍यो । विद्यार्थीले सहयोग मागे सहयोग गर्‍यो । यसरी दैनिकी चलिरहेको दुई वर्ष भयो । मेरो सोचाइ, विचार भनेकै कसरी राष्ट्रिय आविष्कार केन्द्रलाई अघि बढाउने भन्ने हो । कसरी नयाँ प्रतिभाहरुलाई कुन मन्त्र लगाएर अगाडि ल्याउने भन्ने हो । फकाएर हुन्छ कि, हप्काएर–दप्काएर हुन्छ कि, नेपालमै बसेर काम गर्ने वातावरण बनाउने प्रयास गरिरहेको छु । मेरो जिम्मेवारी भनेको आविष्कार केन्द्रको गोठालो हो ।

केन्द्रले के–के काम गरिरहेको छ त ?
अध्ययन–अनुसन्धानका काम भइरहेका छन् । केन्द्रमा हिजो सुरु गरेर आजै पूरा हुने काम हुँदैनन् । वर्षाैं लाग्छ आविष्कार गर्न । बुझ्न के जरुरी छ भने, अनुसन्धान गरेका सबै काम सफल हुन्छन् भन्ने हुँदैन ।

अहिले चितवनमा झिँगा पाल्ने काम भइरहेको छ । जसमा प्राउन पाल्ने काम भइरहेको छ । कुखुराको दाना र झिँगे माछाको प्राउन बनाउने प्रयोजन हो । माछा पाल्नेहरुलाई प्राउनको खेतीमा आकर्षण गर्नु हाम्रो उद्देश्य हो । नेपालमा सबै प्राउन बाहिरबाट आउँछ । नेपालमा नै उत्पादन गर्न सकिन्छ भन्ने हो । काठमाडौँ युनिभर्सिटीमा सोलार टेक्नोलजीको  काम भइरहेको छ । जनकपुरमा अगरबत्ति बनाउने मेसिन बनाउने काम भइरहेको छ । ठाउँ अनुसारको प्रस्ताव आउँछन् र सोहीअनुसार काम भइरहेको छ ।

आविष्कार गर्न खोज्नेले प्रस्ताव लिएर आउँछ र हामीले आविष्कार गर्न वातावरण तयार गर्छौं । धरानको इञ्जिनियरिङ कलेजमा कृषि औजार निर्माणको काम भइरहेको छ । काठमाडौँमा १०/१२ वटा काम भइरहेको छ । जसमा  इलोक्ट्रोनिक सामान, इलोक्ट्रोनिक मेडिकल इन्सट्रुमेन्ट, मोबाइल एप, पुराना सवारीलाई इलोक्ट्रोनिक भेहिकलमा कन्भर्ट गर्ने, अर्गानिक फुडहरु, सस्तो मूल्यमा बनाउन सकिने कोल्ड मेसिनहरु, अटोमेटिक माइकजस्ता कुरामा अध्ययन अनुसन्धान भइरहेका छन् ।

अघि भन्नुभए जस्तै कतिपय आविष्कार असफल हुन पनि सक्छन् । तपाईंहरु अहिले आविष्कार गर्ने चरणमा हुनुहुन्छ । सफल–असफलको के सम्भावना देख्नुहुन्छ ?
धेरै परिक्षण सफल हुन पनि सक्छन् र नहुन पनि सक्छन् । आविष्कार भनेकै कन्फर्म नहुने काम हो । परिक्षण सफल हुन धैर्य, परिश्रम र लगानी चाहिन्छ । यो हाम्रोमा छ छैन अलग पाटो हुन सक्ला । हामीले अनुसन्धान, परिक्षण गरेका कामहरु सफल भए भने हाम्रो देशलाई दीर्घकालीन फाइदा हुन्छ । अनुसन्धानको चरणमा महँगो भए पनि पछि आविष्कारले दिगो विकासमा फाइदा पुर्‍याउँछ ।

तपाईंले विज्ञान र प्रविधि अनि देशको समृद्धि जोड्न खोज्नुभएको हो ?
विज्ञान प्रविधि बिना दिगो विकास हुन्छ भन्ने कसैले सोचेको छ भने त्यो मनको लड्डु घिउसित खानु भनेजस्तै हो । यो बिना समृद्धिको सपना पूरा हुँदैन । विज्ञान प्रविधि बिना केही हुन्न । समृद्धिको चाहना पूरा गर्न विज्ञान प्रविधिको विकास आवश्यक छ ।

त्यही भएर सरकारले चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान खोल्न  खोजेको होला नि ?
हुन सक्छ । यो काम स्वागतयोग्य हो । अहिले यसबारे केही नबोलौँ । कामैले बताउला ।

किन ?
काम कसरी हुन्छ ? कति बजेट आविष्कारका लागि सरकारले छुट्टयाउँछ ? यी कुरा प्रमुख हुन् । प्रतिष्ठान बनाउनु ठूलो कुरा भएन । बनाइसकेपछि के–के काम हुन्छ र गर्छ भन्ने चाहिँ प्रमुख हो ।

सरकारप्रति त पूरै उदासीन देखिनुहुन्छ त !
मैले हिजोआज सरकारको कुरा गर्न छाडिदिएको छु । मेरो काम समुदायलाई चनाखो बनाएर आविष्कारमा ध्यान दिनु हो । मैले उठाएका कुरा सरकार र समाज सबैले बुझ्नपर्ने कुरा हो । तिनले समृद्धि भने पनि, दिगो विकास भने पनि र अन्य भाषामा जे–जे भने पनि विज्ञान र प्रविधिको विकास बिना केही सम्भव छैन ।  

दिगो विकासका लागि विज्ञान र प्रविधिको के भूमिकाबारे बताइदिनु न ?
संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यहरु छन्, जसमा विज्ञान र प्रविधिको विकासले पनि प्रमुखताका साथ स्थान पाएको छ । कुनै पनि देश समृद्ध बनाउन अविष्कार र अनुसन्धान नगरी हुँदैन । हाम्रो गरिबी हटाउन सरकारले भौतिक पूर्वाधार निमार्णमा जोड दिइरहेको छ तर के बुझ्न आवश्यक छ भने भौतिक निर्माणका सबै सामानहरु बाहिरबाट ल्याएर गरिएको विकास दिगो हुँदैन । यहीँ आविष्कार गर्न सकिएन भने हामी कहिल्यै धनी हुन सक्दैनौँ ।

कसरी ?
विज्ञानले कुन भूमिमा के बनाउने रु कस्तो भौतिक निर्माण कहाँ बनाउने ? पर्यावरणीय  सन्तुलन मिलाउन कहाँ कस्तो बनाउने भन्ने बारेमा पनि शोध हुन जरुरी छ । भौतिक निर्माण गर्ने तर देशमा नै विज्ञान प्रविधि विकास नहुने हो भने हामी पंगु सिवाय केही बन्दैनौैँ  ।

किन ?
भौतिक निर्माण गर्ने भनेर बाहिरी देशले सहयोग गरे । सहयोग आयो, हाइवे बन्यो । त्यो हाइवेमा कुद्ने गाडी बाहिरको । मोबाइल आयो, टावर बन्यो । यहाँ प्रयोग हुने सबै मोबाइल आयात गर्नुपर्छ । यहाँ प्रयोग हुने इलोक्ट्रोनिक सामानहरु सबै आयात हुन्छ । यहाँँ प्रयोग हुने कुनै पनि सामान यहीँ उत्पादन हुँदैनन् । विकसित देशले विकासोन्मुख देशलाई यसै सहयोग गर्दैनन् । उनीहरु बजार स्थापना गर्न सहयोग गर्ने हुन् ।

सरकारको अनुसन्धानमा चाख देखिन्न । समुदायलाई भने कत्तिको चाख भएको पाउनुभएको छ ?
सरकार पनि त्यही समाजबाट आएको हो । नेपाली समाज भनेको वैज्ञानिक तरिकाले विकास गर्ने चेतना नै शून्य भएको मुलुक हो । चेतना छैन । अहिले नेपालीहरु विदेश गएर देखेको सुनेको २०/२५ वर्ष भयो । अधिकांश नेपाली साधारण जीविकाका लागि खेतीपाती गरेर गुजारा गर्ने परिपाटीमा हुर्केको हो । पहिलेदेखि नै अनुसन्धानमा लगानी गरेको देखिदैन ।

कुनै उत्पादन निकालेको देखिदैन । नेपालीको संस्कार उत्पादनमुखी छँदैछैन । किन गरेन ? किनभने संस्कार नै छैन । हामी व्यापारीको वस्तुको क्रेता मात्र बनिरह्यौँ सधैँ । वैदेशिक सहयोग त आयो तर त्यसले हामीलाई उनीहरुको उपभोक्ता मात्र बनाइदियो ।  उत्पादक भइएन, उपभोत्ता मात्र भइयो । गएको २५/३० वर्षभित्र हाम्रो संस्कार उपभोक्तावादी मात्र भयो ।

हामीकहाँ अनुसन्धानमा किन चासो नभएको होला ?
दिमागमै नभएको कुरामा कसरी आउँछ त ? ऋषिमुनिको पालादेखिको विकास गर्ने भन्ने कुरा त बस्दै बसेन । अनुसन्धान र विकास भनेको सहज कुरा होइन । हामी असहज कुरामा अभ्यस्त नै छैनौँ । विज्ञान र  प्रविधिको विकास छिट्टै आयो तर आफैँले नयाँ केही गरौँ भन्ने भावना आएन ।

आविष्कार केन्द्र खोल्ने हुटहुटी कसरी जाग्यो ?
गाउँगाउँमा बसेर २५ वर्ष काम गरेँ । समाज विकासको मूल विधा शिक्षा र स्वास्थ्यमा काम गरेँ । त्यहाँ काम गर्दा आम्दानीको बाटो पनि खुलोस् भन्ने लागिरहेको थियो । २५ वर्षसम्म त्यहाँ काम गर्दा के लाग्यो भने यस्तो काम देश गरेर उँभो लाग्दैन । त्यतिबेला म्याग्दी, कास्की, पर्वत, लमजुङ, गोरखा लगायतका जिल्लामा शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, प्रविधिको क्षेत्रमा काम गरिरहेको थिएँ । जबसम्म हामीले आविष्कार गर्दैनौँ, हामी उँभो लाग्दैनौँ भन्ने भित्रैबाट लाग्यो र आविष्कार केन्द्र खोल्नुपर्छ भन्ने चेत पलायो । त्यसपछिका कथा त मिडियामा भनेकै छु ।

किन त्यस्तो लाग्यो ?
केही काम गरेर मात्र हुन्न । आफैँ प्रोडक्ट गर्न पर्छ । पैसा दिनु ठूलो कुरा हैन, सीप सिकाउनु ठूलो कुरा हो । आफूले त्यहाँ बनाइदिने हैन, नयाँ कुरा बनाउने सीप सिकाउने हो । भौतीक विकास हुनु भनेको आर्थिक रुपमा सबल हुनु हो । अरु कुराको विकास छोडौँ  अहिलेको विकास भनेको उत्पादनमा आधारित हुन जरुरी छ । अहिलेको विकासले कहीँ पुगिदैन ।

उत्पादनमा आधारित अर्थतन्त्र, त्यो पनि विज्ञान र प्रविधिमा आधारित विकासको कुरा गर्नुभयो । यस्तो अर्थतन्त्र बनाउन के गर्नुपर्छ ?
मानव संशाधन प्रमुख कुरा हो । विकास हुन मानव संशाधनलाई देशमै बस्ने वातावरण सिर्जना गर्नुपर्‍यो । आविष्कार गर्ने दिमाग भएको व्यक्ति देशमा बस्न आवश्यक छ । कुनै पनि देशमा प्रतिभा भएको मान्छे बसेन भने त्यो देशको कहिल्यै विकास हुँदैन । हाम्रो देशले आयात गर्नुपर्ने दक्ष मानव संशाधान निर्यात गरेका छौँ र उपभोग्य वस्तु आयात गरेका छौँ । यसरी पनि विकास सम्भव हुन्छ ? यहाँ कुनै पनि किसिमको अनुसन्धान विकास नहुने भयो । जसका कारण आर्थिक इन्डिकेटर उस्तै रहने भए ।
नेपालमा केही गर्छु भन्ने हो भने मेनपावर छैन । आर्थिक रुपमा विकास गर्न लिनुपर्ने महत्वपूर्ण कदम भनेको लगानी गर्नुपर्‍यो । त्यो पनि छैन ।

ब्रेनड्रेन रोक्न के गर्नुपर्छ त ?
 जसको क्षमता जे छ, सोही अनुसारको काम गर्ने वातावरण बनाउनुपर्छ । आँखा चिम्लेर खर्च गर्नुपर्छ । फकाएर फुल्याएर काम गराउनु पर्छ ।

तपाईंले भनेजसरी मन फुकाएर खर्च गर्न हामीसँग स्रोत छ र ?
एउटा पुल बनाउन १० करोड खर्च हुन्छ । एक किमी बाटो बनाउन ५ करोड खर्च गर्छ सरकारले । त्यो पैसा कहाँबाट आयो ? विज्ञान र प्रविधि प्राथमिकतामा नपरेको हो । विकसित देशले आफ्नो जिडिपीको २–३ प्रतिशत अनुसन्धान तथा विकासमा खर्च गरेका छन् । बाहिर गएकालाई स्वदेश फर्काउने हो । हामीले पनि त्यही गर्न आवश्यक छ । जिडिपीको १ प्रतिशत खर्च गरौँ भनेर मैले धेरैदेखि भनिरहेको छु ।

आफ्नो गाउँको समस्या सामाधानका लागि २–३ प्रतिशत छुट्ट्याउन सरकार सक्छ । एक प्रतिशत जिडिपी छुट्ट्याएर, कोष बनाएर बिना कुनै झन्झट पैसा लगानी गर्ने, ब्रेन ड्रेन रोक्ने भन्दा पैसा छैन भन्छ । यत्तिको राम्रो उपाय मंगल ग्रहमा गएर खोजे पनि पाउनुहुन्न ।

सात वर्ष अमेरिका बसेर पढ्नुभएको तपाईं कसरी यतै बस्नुभयो त ?
नढाँटी भनौँ ? पढाइ सकिएपछि नेपालतिर जानुपर्‍यो भनेर आएको, यतै बसियो । कुनै योजना बनाएर बसेको हैन ।

घरमा को–को हुनुहुन्छ ?
श्रीमती र छोरीहरु । एउटी छोरी स्कुल पढ्दैछ, एउटीले नर्सिङ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
नेपालमा विज्ञान तथा प्रविधि विकास गर्न आविष्कारको संस्कारको विकास गरौँ । काम पनि गरौँ ।

यसको वार्षिक खर्च कति हुन्छ ? कसरी जुटाउनुहुन्छ ?
वार्षिकी खर्च यति नै भन्ने छैन । पोहोर साल एक डेढ करोड भएको थियो । हामीले समुदायबाट पैसा जुटाउने गरेका छौँ । रमाइलो तथ्याङ्क भनाैं? हामीलाई सहयोग गर्ने ९० प्रतिशत निम्न वर्ग आय भएका ७/८ प्रतिशत मध्यम र बाँकी २/३ प्रतिशत धनी वर्गका छन् ।

यस्तो किन होला ?
धनीले लगानी हेरेर रिटर्न खोज्छ । गरिब भने दान गर्नुपर्छ भन्ने भएर हो कि !

प्रकाशित: ६ कार्तिक २०७६ ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App