धेरै वर्षपछि दसैं मनाउन दीपा र दीपक बुबा आमासँगै गाउँ जाने निधो गरे। उनीहरू ४ र ५ कक्षाका लगनशील विद्यार्थी हुन्। सहरमा दसैं मनाएको त राम्रो अनुभव छ। तर गाउँको दसैं के कस्तो हुन्छ ? कसरी मनाउँछन् ? उनीहरूलाई खुल्दुली लागिरहेको थियो।
दीपा र दीपकका हजुरबा आमा गाउँमा नै बस्नुहुन्छ। खेतीपातीको काम गर्नुहुन्छ। आफूलाई चाहिने फलफूल, तरकारी, अन्न, दूध, मासु, घिउ सबै कुरा आफ्नै घर र बारीमा उब्जाउनु हुन्छ। तर यो कुरा दीपा र दीपकलाई जानकारी छैन।
अब भने उनीहरू धेरै कुरा बुझ्ने भइसकेका छन्। त्यसैले गाउँले जनजीवनबारे राम्रो जानकारी लिनेछन्। बुबाले अस्ति नै भनिसक्नु भएको छ– यसपटक दसैंमा गाउँ गएपछि तिमीहरूले गाउँका सबै कुरा हामीलाई सिकाउनुपर्छ है।
भन्दाभन्दै घटस्थापनाको दिन आयो। दीपा र दीपकको विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा पनि सिद्धियो। नौरथाको दोस्रो दिनमा नै उनीहरू गाउँ जाने निधो गरे। दीपा र दीपकले सरले दिनुभएको गृहकार्य गाउँकै बारेमा भएकोले उनीहरूलाई त ‘के खोज्छस् काना आँखो’ भनेझैँ भयो। दुवैले आआफ्नो व्याग ठीक पारे। बुबा आमाले पनि दसैंका सरसामानले भरिभराउ झोला तयार पार्नुभयो।
बिहान सबेरै कोठामै खाना नास्ता खाएर गाउँकै बसमा उनीहरू चढे। केही समयमै बस थानकोटको ओरालो लाग्यो। अनि सुरु भयो दीपा र दीपकको गाउँको यात्रा। नागबेली परेका पहाड, डाँडा, खोला अनि पृथ्वी राजमार्ग माथिबाट हेर्दाको दृश्य सुन्दर र मनोरम थियो। पर देखिएका हिमचुचुरा र वरिपरिका वनपाखा देखेर दीपा र दीपक मनैदेखि फुरुङ्ङ भएका थिए। अझ बढ्ता खुसी त पहिलो पटक आफ्नो रमणीय गाउँ देख्न र हेर्न पाइने थियो।
त्रिशुली नदीको छङछङ आवाजसँगै किनारै किनार गुडेको बस बार बजे कुरिनटारमा पुगेर खानाका लागि रोकियो। त्यहीँबाट बुबा आमाले दीपा र दीपकलाई नेपालकै चर्चित धार्मिक स्थल मनकामना माईको मन्दिर जाने केवलकार पनि देखाउनु भयो। जहाँ केवलकारहरू तारमा झुण्डिएर ओहोरदोहोर गरिरहेका थिए।
अब भने उनीहरूको बस मुग्लिनबाट मस्र्याङ्दी नदीको किनारैकिनार उत्तरतिर लाग्यो। धादिङ, गोरखा र तनहुँ जिल्ला छिचोलेर आफ्नो गाउँ लमजुङ पुगिने कुरा उनीहरूले आज मात्र थाहा पाए। दिउँसो चार बजेतिर उनीहरू गाउँको बजार सुन्दर बजार पुगेपछि गाडी रोकियो। बुबाआमासँगै उनीहरू पनि त्यहीँ ओर्लिए र पैदल हिँड्न थाले। बाटोमा कलकल बगेको पाउँदी खोलाको स्वच्छ पानी देख्दा उनीहरू दङ्ङ परे र एकछिन पुलबाट हेरिरहे।
घर नजिकै डाँडामा पुग्दा घाम अस्ताउनै लागेको रमणीय दृश्य देखेर दीपकले दिदीलाई देखाउँदै भन्यो, ‘आहा, घाम त कति नजिकै !’
घर पुग्नासाथ दीपा र दीपकले हजुरबा आमालाई नमस्कार गरे। बुबा आमाले ढोग गर्नुभयो। दीपा र दीपकलाई देखेर हजुरबा आमा गद्गद् हुनुभयो। अनि काखमा लिँदै भन्नुभयो, ‘यिनीहरू त निकै ठूला पो भएछन्।’
हजुरबाआमाको पहिलोपल्ट काखामा बस्दा दुवै दिदीभाइ मक्ख परे।
एकछिन पछि हजुरआमा घरभित्र पसेर चारै जनालाई एक एक गिलास भरीभरी भैंसीको बिगौती दूध ल्याउनुभो। दीपा र दीपक रमाउँदै स्वादिलो दूध पिउन थाले। दूध पेटभरि पिएपछि हजुरबाले घरबारी घुमाउन दुवैको हात समातेर लानुभयो। बारीमा अम्बा, केरा, मेवा, मौसम, सुन्तला लटरम्म फलेका थिए। हजुरबाले ठूल्ठूला पाकेका अम्बा टिपेर दिदीभाइलाई खाना दिनुभयो। अम्बा कम्ती मिठो थिएन। अझ रमाइलो थियो नजिकै गाउँमा चरर हुइइ गर्दै रोहोटे पिङ र लिङ्गे पिङ खेलेको गाउँले केटोकटी, युवा युवतीहरू। दीपा र दीपकलाई पिङ खेलेको हेर्न कुन बेला पुगूँ जस्तो भयो। बालबालिकाको लागि दसैंको मुख्य आकर्षक नै त्यही हो।
हजुरबाले भोलि बिहानै घरको आँगनमा सानो लिङ्गे पिङ हालिदिने कुरा दीपा र दीपकलाई भन्नुभयो। घरमै पिङ खेल्न पाइने कुराले उनीहरू हुनसम्म खुसी भए।
‘गाउँ त मिठामिठा खानेकुरा, मनोरञ्जन र स्वस्थ वातावरणको भण्डार नै रहेछ है हजुरबा।’ दीपाले कुरै कुरामा भनी। ‘हो त, यस्तो गाउँलाई अहिले सबैले घृणा गरेका छन्।’ हजुरबाले दुखेसो पोख्नुभयो। यही मौकामा दीपा र दीपकले सुटुक्क भने, ‘अब त हामी सधैँ यहीँ बस्ने, यहीँ पढ्ने, हस् हजुरबा !’ उनीहरूको कुराले हजुरबा मुसुक्क हाँस्नुभयो।
प्रकाशित: १८ आश्विन २०७६ ०५:१४ शनिबार