१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

नीरमाया

प्रयाग न्यौपाने

इन्द्रेनीजस्तो सपनाको त्यो बस्ती
न कुनै छलछाम न जालझेल नै छ
निश्छल, निष्पाप त्यो धरा
झरनाको चिसो पानी
उकाली, ओराली, देउराली, भन्ज्याङ
हरेकलाई आँखाभित्र कैद गरेर
हुर्केकी छे नीरमाया।

गरिबी र अभावका रित्ता बिस्कुन सुकाउँदै
अनिश्चितताको भुमरीभित्र
पिसिरहेकी छे कल्पनाको जाँतो
हरेक रातहरू निदाइदिन्छन्
भोक, प्यास नसोधी उसलाई
चोटहरुको ओढारभित्र
बन्दी बनेरै भए पनि
सिकेकी छे ढकमक्क फुलाउन
सयपत्री फूलझैं अनुहारलाई
आँखाभरि सजिएका छन् सुन्दर सपनाहरू।

युद्धभूमिको घोडासरि दौडिँदो छ समय
समयकै अन्तरालमा
जसरी डेरा जमाउँछ कुनै बटुवाले
बाटो किनारामा आगो बालेर यात्राको
मनभरि डेरा जमाइरहन्छ
एक अपरिचित अनुहारले
तान्छ उसको मीठो बोलीको रागले
बढ्दै जान्छ भरोसा
र समर्पण गर्छे आफूलाई
निस्पट्टताको थुम्कोमाथि चढेर
भोलिको सुन्दर बिहानीको खोजीमा
हिड्छन् पाइला उसैका पछिपछि ....।

जब छिचोलिन्छन्
कुइनेटा र थुम्कीहरु
काटिन्छन् समय र सिमानाहरु
र चढ्छन् रेल।
जादुको छडी झैं
अदृश्य हुन्छ नौजवान
देखापर्छ छुट्टै अपरिचित अनुहार
यात्रासँगै बिथोलिन्छन्
दक्षिणतर्फ हुँइकिएका सपना पनि
मान्छेहरूको भीडमा
फगत एक्लो महसुस गर्छे आफूलाई
औंसीको रातजस्तो परिवेशले
सुलुत्त निल्छन् उसका भावनाहरू
साउने झरीझैं
अविरल वर्षिरहन्छन् नयनहरू।
बलेसीको पानीले
हिर्काउँदा आँगनको छातीमा
जसरी गहिँरिदै जान्छन् खोपिल्टाहरू
उसै गरी आफ्नै जिन्दगीका
धाँजा परेका गराहरुमा
असरल्ल छन् दुःखका डोबहरु...।

प्रकाशित: २१ भाद्र २०७६ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App