सुयोगमानसिंह बस्न्यात
कक्षा ४,
नव अरुणिमा सेकेन्डरी स्कुल, आरुबारी, काठमाडाैं।
गएको जेष्ठ ११ गते शनिबार बिहान सबेरै बाबा, छिमेकी आरक्युट दादा र म सबेरै वसन्तपुर दमकल चोक पुग्यौं। त्यहाँ पुग्नुको कारण साइकलयात्रा थियो। यात्राको विषय थियो ‘अन्तर्राष्ट्रिय महिनावारी दिवस’। जसको आयोजना ‘एक्स–पोज नेपाल’ भन्ने संस्थाले गरेको थियो।
महिनावारी लगायत महिलामाथि हुने, हिंसा र विभेद विरुद्ध जनचेतना जगाउने उद्देश्यले साइकलयात्राको आयोजना गरिएको थियो। म अघिपछि त त्यसै साइकल चढ्न रुचाउने मान्छे। अझ झन् महिलाहरूको सम्मानका लागि नचढ्ने त कुरै भएन। किनकि घरमा मेरो धेरै ख्याल गर्ने, अरूले भन्दा बढी माया गर्ने, अरू कसैले गाली गर्दा बचाइदिने, फकाउने नै मामू , ठूली मामू र हजुर आमा हुनु हुन्छ। उहाँहरूसँगै मेरो बढी समय बित्छ। स्कुलमा पनि बढी गुरुआमाहरूले माया गर्नुहुन्छ। ३ कक्षासम्म त हामीलाई आफ्नो बच्चा जस्तै गरी सिकाउने सबै गुरु आमा नै हुनु हुन्थ्यो। अहिले पनि धेरै त गुरु आमाहरूले पढाउनु हुन्छ। मसँग उहाँहरूलाई दिने केही पनि छैन। मैले उहाँहरूलाई केही दिन नसके पनि उहाँहरू र संसारभरिकै उहाँहरू जस्तो पुजनीय आमाहरूका लागि साइकल चढेर भए पनि सम्मान जनाउन सकूँ भन्ने सोचले पोहोर जस्तै यो पल्ट पनि साइकल चढें।
साइकलयात्रामा विभिन्न कलेजका दाजुदिदीहरू आउनु भएको थियो। बाबा जस्तो उमेरको धेरै अंकलआन्टीहरूले पनि साइकल चढेर यात्राको शोभा बढाउनु भएको थियो। म जस्तै विद्यालयमा पढ्ने उमेरका व्यक्तिहरू पनि थिए। म प्रायः सधैं सबैभन्दा सानो साइकलयात्री हुन्थे। तर, यसपालि एक जना मभन्दा अलि साना भाइ पनि आएको रहेछ।
यस पल्टको यात्रा छोटो थियो। यात्रा वसन्तपुरबाट सुरु भएर दरवार मार्ग हुँदै भद्रकाली, बानेश्वर, बुद्ध नगर, शंखमुल भई मंगल बजारमा पुगेर टुङ्गियो। त्यहाँ सानो भाषणको कार्यक्रम पनि राखिएको थियो। भाषण सकिँदा नसकिँदै साइकलयात्रीहरूलाई नास्ताको प्याकेट बाँडियो। हामीले भाषण सुन्दै नास्ता खायौं। उक्त कार्यक्रममा बोल्न पाउने र मन्त्रीज्युको हातबाट प्रमाणपत्र पाउने २/३ जना व्यक्तिमध्ये आफू परेकोमा गौरव महसुस भयो।
प्रकाशित: ३२ श्रावण २०७६ ०३:०९ शनिबार