गत माघ १८ गते सर्लाहीको कविलासी नगरपालिका–७ सिरसियाकी १५ वर्षीया संझाकुमारी मुसहरको बलात्कारपछि हत्या भएको अभियोगमा स्थानीय विनय राय र चुनचुन रायविरुद्ध मृतककी आमा फूलकुमारीले माघ २६ गते इलाका प्रहरी हरिपुरमा जाहेरी दिएकी थिइन्। पीडकलाई अझै पक्राउ गरिएको छैन।
मंलगवामा राष्ट्रियसभा सांसद् रामपृत पासवान दलित युवतीमाथि सार्वजनिक रूपमा सामूहिक बलात्कार गर्ने पंचायतको निर्णयको विरोध गर्दा कुटिए। गैरदलित युवती स्थानीय दलित युवासँग भागेको आशंकामा बसेको पंचायतले केटा पक्षले दुई दिनमा केटी र केटालाई उपस्थिति नगराए केटाकी अविवाहित बहिनीलाई सार्वजनिक रूपमा सामूहिक बलात्कार गर्ने निर्णय गरिएको थियो। त्यस्तो अमानवीय तथा कानुन विरोधी निर्णयको सांसद् पासवानले विरोध गर्दा उल्टै घरेलु हतियारले ज्यान मार्ने उद्देश्यसहित प्रहार गरेका थिए। सांसद् कुटिँदा पनि पीडक कानुनको घेरामा आएका थिएनन्।
उल्लेखित दुइटा प्रतिनिधिमूलक घटनाले खासगरी नेपालको तराई–मधेसमा दलितविरुद्ध हत्या, उत्पीडन र बलात्कारका घटना सधैँ हुन्छन् भन्ने देखिन्छ। तर, त्यस्ता घटनालाई लिएर यथार्थपरक सिनेमा नेपालमा बनेको देखिँदैन। वर्षमा १०० को संख्यामा बन्ने फिल्ममध्ये अधिकांश लगानी पनि उठाउन नसक्ने हुन्छन्। त्यति हुँदाहुँदै पनि फरक र यथार्थपरक घटना समेटेर मौलिक फिल्म किन बन्न सक्दैनन् ?
कुनै बेला बलिउडमा गोविन्द निहलानी, सत्यजित रे जस्ता निर्देशकले बनाउने चलचित्रलाई अलग धारको भनिन्थ्यो र त्यसका सीमित दर्शक हुन्थे। त्यस्ता चलचित्रले राष्ट्रिय पुरस्कार त थुप्रै पाउँथे। तर, व्यावसायिक हिसावले त्यति सफल हुँदैनथे, अतः मूलधारको बलिउडले त्यस्तो सिनेमा कमै बनाउँथ्यो। अहिले फेरिएको परिस्थितिमा निर्माण भएको सिनेमा हो– आर्टिकल १५। भारतका संविधान निर्माता तथा दलित नेता डा. भीमराव अम्वेडकरवाट प्रतिपादित सो संविधानको धारा १५ ले कसैलाई पनि जातजाति, रंग, भाषा आदि कुनै पनि आधारमा भेदभाव गर्न नपाइने यदि गरेमा कानुन बमोजिम सजाय हुने भनेको छ।
केवल कथा, पटकथा तथा प्रस्तुति र मौलिक कथाको भरमा यदि बलिउडमा फिल्म हिट हुन सक्छ भने नेपाली दर्शकले हाम्रो नेपालमा हुने हजारौं घटनाबाट प्रेरित भएर त्यस्तो फिल्म निर्माण गर्न किन सक्दैनन् ?
के त्यो धारा व्यवहारमा लागू भएको छ त ? के भेदभाव, उत्पीडन तथा हत्या जस्ता जघन्य अपराधबाट पीडित हजारौं दलितले न्याय पाएका छन् भन्ने कुरा उधिन्न निर्देशक अनुभव सिन्हाले फिल्म निर्देशन गरेका छन्।
अहिले बलिउडमा फिल्म चल्न कथावस्तु तथा त्यसले उठाएका विषयमा केन्द्रित यथार्थपरक भए पनि दर्शकले साथ दिन्छन् भन्ने देखिएको छ। प्रदर्शनको तेस्रो हप्तामा रहँदा सो फिल्मले ६० करोडभन्दा बढी कमाई गरेको छ र आफूलाई हिट फिल्ममा दर्ता गराइसकेको छ। आखिर त्यसमा के छ र दर्शकले किन मन पराए भन्ने जान्न नेपालका फिल्म निर्मातालाई पनि अनुरोध गर्छु।
सिनेमाको कथा सन् २०१४ मा उत्तरप्रदेशको वडाउं भन्ने गाउँमा भएको सामूहिक बलात्कार तथा उना भन्ने ठाउँको गाइको मासु खाएको अभियोगमा सन् २०१६ मा चमारहरूलाई पिटिएको घटनाबाट प्रेरित छ। हिन्दू अतिवादी जागरुक भइरहेको अवस्थामा मरेको त्यसमा पनि गाईको छाला काड्ने चमारहरूलाई गाई मारेको अभियोगमा सार्वजनिक ठाउँमा मरणासन्न हुने गरि पिटिन्छ। तर, त्यहाँको प्रहरी–प्रशासनले पीडितलाई न्याय दिँदैन। यिनै दुइटा घटना जोडेर कथा अघि बढाइएको छ। दुई बालिकालाई सामूहिक बलात्कारपछि रुखमा झुण्ड्याएर सार्वजनिक गरिन्छ। स्थानीय प्रहरी जसमा एक जना दलित पनि सहायक इन्सपेक्टर हुन्छन्, त्यसले पीडक को हुन् भन्ने थाहा हुँदाहुँदै पनि उल्टै मृतकका बाबुहरूलाई अनर किलिङको आरोप लगाउँदै जेल हालेको हुन्छ। ती बालिकाको अपराध गाउँको जमिनदारको कारखानामा दैनिक ज्याला २५ रूपैयाँबाट बढाएर २८ रूपैयाँ पु-याउने माग हुन्छ।
त्यसरी ज्याला बढाउने मागलाई जमिनदारहरूले विद्रोहका रूपमा लिन्छन् र सबै दलितको औकात देखाइदिन सामूहिक बलात्कार गरी हत्या गरिन्छ। गाउँको प्रहरी चौकीमा आइपिएस अफिसर आयुष्मान खुराना आउँछन्। उनकी श्रीमती, जो पत्रकार पनि हुन्छिन्, तिनले यस्ता सामाजिक मुद्दामा लेख लेख्छिन्। उनले श्रीमानलाई केही गिज्याउँदा ती हाकिमले अनुसन्धान गर्छन्। अनुसन्धानमा उनलाई आफ्नै टिमदेखि लिएर उपल्ला निकायले समेत असहयोग गर्छन्। आफ्नै सहायक (मनोज पाह्वा)ले त केसलाई अगाडि बढ्न नदिन अनेक व्यवधान खडा गर्छन्, किनभने त्यो हत्या तथा बलात्कार केसमा उनी लगायत अन्य प्रहरी पनि प्रत्यक्ष संलग्न हुन्छन्।
त्यो अपराध गर्ने जमिनदार यति अभिमानी छ की ती हाकिमसामु बयान दिँदा ‘हो मैले उनीहरूको औकात देखाइदिन हत्या गरेको हुँ’ भनी स्वीकार गर्छ। ऊ सजायबाट डराउँदैन र उल्टै त्यहाँबाट तुरुन्तै सरुवा गराई दिने धम्की दिन्छ। यी सबै कुराबाट नडराइकन हाकिमले अनुसन्धान अघि बढाउँछन्। अपराधीको पहुँचका कारण अनुसन्धान गराउने नाउँमा त्यो घटनालाई कमजोर पार्दै अपराधीलाई छुटाउने प्रपञ्च हुन्छ। तर, ती हाकिम आफ्नो इच्छाशक्तिलाई दृढ राख्दै अनुसन्धानको कपीलाई गृहमन्त्रीसम्म पु-याएर निलम्बित हुँदाहुँदै पनि अनुसन्धान जारी राख्छन्। ती हाकिम जातीय व्यवस्था अनुसार अति उच्च स्थानमा हुने ब्राह्मण हुन्छन्। भन्छन्– यस्तो जातीय व्यवस्थारूपी फोहर सफा गर्न हामी आफै ब्राह्मणहरू त्यसमा उत्रिनुपर्छ।
बलात्कार गरिएका ३ जनामध्ये एक बेपत्ता हुन्छिन् र उनलाई खोज्न ठूलो दलदलयुक्त तलाउ तथा जंगलमा सारा पुलिसको दल र आफै पनि त्यसमा पस्छन्, अन्त्यमा ती बेपत्ता बालिका एउटा ह्युमपाइपभित्र अधमरो अवस्थामा हुन्छिन् र उनको अनुसन्धानको अन्तिम सफलता त्यही हुन्छ। त्यसबीचमा माथि बस्ने सबै खराब हुँदैनन् भन्ने सन्देशसहित ती निलम्बित अधिकृतलाई अनुसन्धान जारी राख्न अनुमति दिएका कारणले वास्तविक अपराधीलाई न्यायको कठघरामा ल्याउँछन् र हत्या तथा बलात्कारमा संलग्न आफ्नै अधिकृतलाई पनि जेल सजाय गराउँछन्। यसरी फिल्म संयोगान्तमा टुगिन्छ।
यो फिल्मवाट नेपाली सिनेकर्मीले सिक्नु पर्ने धेरै कुरा छन्। सामान्यतया नेपाली फिल्ममा शत्रुबाट प्रेरित हुन्छन्, जसले गर्दा सबै सिनेमा उस्तैउस्तै लाग्छन् र दर्शकले विविधता पाउँदैनन्। तर, यो फिल्म अत्यन्त यथार्थपरक छ। २ घन्टा ४ मिनेटको फिल्ममा कुनै चल्तीको गीत छैन। प्रेमी र प्रेमिका बीच रोमान्टिक सिन पनि छैन न त नायकलाई सुपरम्यान देखाउने कुनै द्वन्द्वको दृष्य नै छ। अर्थात् फिल्मलाई मनोरञ्जनात्मक बनाउने चल्तीका कुनै पनि सूत्र त्यसमा छैनन। चल्तीका नायक भनेको आयुष्मान खुराना मात्रै छन्, मनोज पाहवालाई छोड्ने हो भने अरु चल्तिका कलाकार छैनन्। केवल कथा, पटकथा तथा प्रस्तुति र मौलिक कथाको भरमा यदि बलिउडमा फिल्म हिट हुन सक्छ भने नेपाली दर्शकले हाम्रो नेपालमा हुने हजारौं घटनाबाट प्रेरित भएर त्यस्तो फिल्म निर्माण गर्न किन सक्दैनन् ?
फिल्म ‘प्रसाद’ले त्यस्तो विषयवस्तु उठाउन खोजे पनि न्याय र अन्यायमा आधारित फिल्म अत्यन्तै कम देखिन्छन्। भारतमा सरकारले पनि अलग धारका फिल्ममा लगानी गर्ने गरेको छ। सरकारले दिने राष्ट्रिय पुरस्कारको त्यहाँ बेग्लै महत्व छ। यसबाट नेपाली सिनेकर्मी तथा सरकारले पाठ सिक्न सके न्यायको विषयमा यथार्थपरक फिल्म बन्न सक्ने थिए।
प्रकाशित: ११ श्रावण २०७६ ०४:५८ शनिबार