१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

जात होइन, भातको कुरा गरौं

एउटा कोइराला देश चलाउँछ
हाच्छ्यू आउँदा विदेसिन्छ ओखती गर्न।
एउटा कोइराला, वनपाखा घाँस दाउरा गर्छ
भीरमा लडेर बिनासिटामोल मर्छ।।

कमरेड !
जात होइन, भातको कुरा गरौं !

मुलुकमा जातीय विभाजनको कुरा उठ्दै गर्दा २०६५ सालतिर  भक्तपुरका कवि दामोदर सुवालले रचना गरेको यो पंक्ति अहिले पनि उत्तिकै सान्दर्भिक लाग्छ।

‘गर्भिणी युग र कमलका फूलहरू’ पुस्तकमा ‘जातको बीउःमसानको आगो’ शीर्षकमा लेखिएको यो कवितामा एउटै जातको भए पनि राज्यबाट कसरी विभेद हुन्छ भन्ने उदाहरण उनको पक्तिमा देखिन्छ।

‘कविता लेख्दा त्यति बेला कोइराला सरकार भएकाले कोइराला थर आएको हो,’ सुवाल भन्छन्, ‘सरकारमा बस्नेका थर फेरिए। तर, अवस्था अहिले पनि उस्तै छ।’

एउटै जातिभित्र पनि दुई बर्ग हुने भन्दै जातको आधारमा राज्यले विभेद गर्न नहुने उनको बुझाई छ।

भक्तपुरको यालाछेंमा वि.सं. २०१४ मा जन्मेका सुवालले मुलुकका विभिन्न भाग घुमे। पहाड, तराई र हिमालको यात्रा गर्दा त्यहाँ बस्ने सर्वसाधारणको अवस्था नियाले। तराई क्षेत्रमा पनि उनले एउटै जातभित्र दुई बर्गका मानिस देख र लेखे–

एउटा यादव गाई पाल्दैन
र, पनि भातको थुम्को नडुबुन्जेल
दुध खन्याउँछ र डकार्दै खान्छ।
एउटा यादव गाई पाल्छ
र अलिकति सातुमा हरियो खुर्सानी मुछेर
दुध मागिरहेको आफ्नो नानीलाई दिन्छ।
कमरेड !
जात होइन, भातको कुरा गरौं।

‘तराईका गाउँ चहार्दा मैले विद्यालय नगएका कलिला नानीहरू, भैँसी चराउँदै गरेका युवा र खेतमा काम गरिरहेका वृद्धवृद्धा भेटेँ,’ उनले भने, ‘त्यही समयमा राज्यका विभिन्न ठूला पदमा भने त्यही समुदायका मानिसको प्रतिनिधित्व पनि थियो।’ त्यतिबेला र अहिलेका व्यक्ति फरक परे पनि अवस्था उस्तै रहेको उनले दोहो-याए।

नेवार समुदायमा जन्मेका उनले आफ्नो समुदायको अवस्था लेख्न पनि छुटाएनन्। ‘मेरोचाहिँ किन नलेख्ने ?,’ उनले भने, ‘ कविले जे देख्छ, त्यही लेख्छ।’  झण्डै चार दशक शिक्षण पेशमा विताएका उनलाई  सु्रुवाती दिनमा खर्पन बोकेको याँद छ। खर्पन बोक्ने र महँगा गाडी कुदाउनै दुवै खाले मानिस रहेको उनले सुनाए, अनि लेखे–

एउटा नेवार दरवार–दरवार चहार्छ
खर्पनभरि पसिना बोकेर, बजारमा बेच्न हिँडेको अर्को नेवारको
जिउभरि हिलो छ्याप्दै ‘ल्याण्ड कुजर’ सुंइक्याउँछ।

उनलाई थाहा छ– जातीय लडाईले निम्ताएको नरसंहार। जातको कुरा अगाडि बढ्दै गर्दा यसले नरभक्षी रूप लिने उनले बुझेका छन्। ‘कपिलवस्तुमा भएको घटनापछि मेरो मन डरायो,’ उनले भने, ‘त्यसपछि मैले तलको पक्ति लेखे।

जातको बोक्सी लाग्दा, मान्छेहरूमा सिङ पलाउँछ
सिंङ चिल्लाएपछि, मान्छे मान्छे होइन, राँगो बन्छ
र, जहातही आगो झोसेल्दै
भष्मासुरलेझैं तिमीलाई लखेट्छ
मान्छेहरूलाई त्राहिमाम त्राहिमाम पार्छ।
कमरेड जातको होइन, भातको कुरा गरौ।

अहिलेको अवस्थामा आफ्नो चिन्ता व्यक्त गर्ने यी कवि  अवस्था फेरिनेमा भने उत्तिक्रै आशाबादी छन्। ‘यो एउटा रोग हो, निको नगराई अगाडि बढ्न सकिन्न,’ उनले भने, ‘सवैले जात छाडेर  कसले खान पायो कसले खान पाएन भनेर भातको कुरा गर्ने हो भने मुलुकमा कोही भोको रहने छैनन्।’

उनी कवितामार्फत् मात्र हैन, विभिन्न व्यंग्य चित्रमार्फत् पनि मुलुकमा देखिएको विसंगतिलाई सुधार्न लागिपरिरहेका हुन्छन्। अहिले भक्तपुरबाट प्रकाशित हुने ‘मजदुर’ दैनिकमा कार्टुन बनाउँदै आएका उनले विगतमा मातृभूमि साप्ताहिक र पुनर्जागरणमा नियमितरूपमा कार्टुन बनाउँदै आएका थिए।

वामपन्थी विचारधारा बोकेका सुवाललाई प्रजातान्त्रिक धारको मानिने पत्रिकाले नियमित रूपमा कार्टुन छाप्नुले पनि उनको कला कति सशक्त रहन्छ भन्ने देखाउँछ।‘म कसैप्रति ‘बायस’ नभई आफ्नो बिचार प्रस्तुत गर्छु,’ उनले भने, ‘त्यसैले मेरा कुरा धेरैले सुन्ने गरेका छन्।’

उनी डिजाइन पनि निकै राम्रो हुन्छ। कवि भए पनि उनले डिजाइनिङ गर्छन्। भक्तपुरबाट प्रकाशित हुने एक पत्रिकामा भक्तपुरलाई कलात्मक ढंगले लेखेकोमा सवैले तारीफ गर्ने गरेका छन्। औजारको सहराले लेखिएको भक्तपुर नाम निकै चर्चित छ।‘डिजाइन पनि एउटा कला हो,’ उनले भने, ‘मानिसलाई जातसँग होइन,  उसको विचार र कामसंग जोडेर हेरे त्यो समाज सफल हुन्छ।’

प्रकाशित: ४ श्रावण २०७६ ०५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App