६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

लागुऔषधको प्रयोगकर्ता बढ्दै

ताप्लेजुङ– ताप्लेजुङमा पछिल्लो समय लागुऔषधको प्रयोगकर्ता तथा कारोबारी बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ताप्लेजुङमा खैरो हिरोइन, गाँजा जस्ता लागुऔषधको प्रयोगकर्ता बढ्दै गएको पाइएको हो।

प्रदेश १ मा मंगबारदेखि सुरु भएको ‘म अघि बढ्छु’ अभियानको जिल्लास्तरमा अभियान उद्घाटन कार्यक्रममा ताप्लेजुङ प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले पछिल्लो दुई वर्षयता लागुऔषधको प्रयोगकर्ता बढेको बताए। प्रनाउ थापाले आर्थिक वर्ष २०७५/७६ मा मात्रै लागुऔषधको प्रयोगकर्ता तथा कारोबारमा संलग्न रहेका १५ जना युवा पक्राउ परेका जानकारी दिए। सोही आवमा बाँकी तीन जना लागुऔषधका प्रयोगकर्ता फरार रहेका उनले बताए।

यस्तै अघिल्लो आर्थिक वर्ष २०७४/७५ पनि छ जना लागुऔषधको प्रयोग तथा कारोबारमा संलग्न पक्राउ परेका उनले बताए। उनले पछिल्लो दुई वर्षको अवधिमा मात्रै जिल्लामा २५ जना युवा लागुऔषधको प्रयोग तथा कारोबारमा संलग्न रहेको पाइएको बताए। पक्राउ परेकाहरूबाट आव २०७५/७६ मा ३.१३५ ग्राम खैरो हिरोइन र ३.१०० ग्राम गाँजा बरामद भएको उनले जानकारी दिए। थापाका अनुसार अघिल्लो आवमा पक्राउ परेकाहरूको साथबाट ३८.४५ ग्राम खैरोहिरोइन बरामद भएको थियो। हाल लागुऔषधको प्रयोगकर्ता बढेसँगै जिल्लामा कुलतमा फस्ने युवाको संख्या बढ्दै गएको प्रहरीको अनुमान छ।

लागुऔषधको प्रयोग तथा कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरू अधिकांश १८ देखि ३० वर्ष उमेर समूहभित्रका रहेका छन्। यस्तै लागुऔषधसम्बन्धी मुद्दाहरू आधाभन्दा बढी फछ्र्योट भई पक्राउ परेकाहरू कारागार चलान भएका पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लागुऔषध तथा अन्य विकृतिमा युवा पुस्ता नफसून् भन्ने उद्देश्यले ‘किशोर–किशोरी देशका कर्णधार, यिनीहरूको सक्षमता नै समुन्नतिको आधार’ भन्ने नाराका साथ आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ ले म अघि बढ्छु अभियानको सुरुआत गरेको हो।

प्रदेश १ का १४ वटै जिल्लामा सुरु गरिएको अभियानमा १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई नैतिकवान र सिर्जनशील बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने ताप्लेजुङका मुख्य प्रशिक्षक रमेश घिमिरेले बताए। घिमिरेका अनुसार प्रदेश १ का एक सय ४० वटा विद्यालयमा ‘सगरमाथा टिन्स क्लब’ नाम दिएर क्लब गठन गरी अभियान कार्यान्वयनमा ल्याइएको छ।

उक्त टिन्स क्लबमा एक जना शिक्षकलाई ‘शिक्षक नायक’ तोकिएको बरालले जानकारी दिए। उनका अनसार अब विद्यार्थीलाई साताको एक दिन लागुऔषध दुव्र्यसनी, नैतिक शिक्षा, देशभक्ति, स्वयम् सेवा, विपत् व्यवस्थापन, सकारात्मक चिन्तनसहितका विभिन्न विषयमा पठनपाठन गराइने भएको छ।

प्रकाशित: २ श्रावण २०७६ ०६:४६ बिहीबार

लागुऔषध ताप्लेजुङ