११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

झोराहाटको झंकार

जननेता मदन भण्डारीको जीवनीमा आधारित नाटक ‘बर्बरिक’ नाट्य क्षेत्रमा चर्चाको शिखरमा पुगेको छ। झोराहाट नाटक घर, मोरङमा केही समय प्रदर्शन गरेपछि त्यहाँका कलाकारहरू गएको माघमा काठमाडौं आएका थिए। उनीहरूले काठमाडौंमा २३ पटक बर्बरिक मञ्चन गरे। एक शो राष्ट्रपति भवन शितल निवासमा र बाँकी कुञ्ज थिएटरमा।
प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’लाई भरत गुरागाइँले नाट्य रूपान्तरण गरेका हुन् भने निर्देशनचाहिँ जीवन बरालले। झोराहाट नाट्यसमूहका अध्यक्ष समेत रहेका गुरागाइँ भन्छन्, ‘नाटकबाट आर्थिक राहत नभए पनि काठमाडौंमा हामीले हाम्रो काम चिनाउन पायौं।’

काठमाडौंबाट फर्केपछि बिर्तामोडमा १९ पटक बर्बरिक देखाइएको गुरागाइँले सुनाए। बिर्तामोडमा मात्रै १२ हजार जनाले नाटक हेरेको उनले बताए। ‘बर्बरिकलाई अभियानकै रूपमा अघि बढाउँदै छौं’, उनी भन्छन्, ‘यही जेठको २६ र २७ गते मोरङ, बयरवनमा पनि बर्बरिक मञ्चन गर्दैछौं।’बर्बरिक समूहको चौंधौं नाटक हो। नाटककै कारण झोराहाटले नयाँ चिनारी पाएको छ। त्यहाँबाट राम्राराम्रा कलाकार जन्मेका छन्। विसं २०१६ देखि नै झोराहाटमा नाटक मन्चन भएको इतिहास छ। बर्माबाट आएका भवानीशंकर पोखरेलले गाउँलेलाई सिकाएर लेखनाथ पौड्यालको ‘लक्ष्मीपूजा’ नाटक देखाएका थिए।

त्यसपछि पनि विजयादशमीका बेला नाटक देखाउने चलन बस्यो। पछि नाट्यकर्मी घिमिरे युवराजको सक्रियता एवं अमेरिकी नागरिक ब्रस पार्डोलको सहयोगमा ०७२ मा नाटक घर बनेसँगै नाट्यसंस्कृतिले गति लियो। नाटक घरमा डेढ सय दर्शक अटाउँछन्। गाउँलेमाझ नाटक हेर्ने संस्कृति विकासमा यसले योगदान पु¥याएको छ। झोराहाटबाट धेरै राम्रा कलाकार जन्मिसकेका छन्। मित्रप्रसाद भट्टराई, महानन्द भट्टराई, छत्रपति लुइँटेल, लक्ष्मण लुइँटेल, हरि लुइँटेल, रामप्रसाद न्यौपाने, डिल्ली लुइँटेल, चुडामणि बाँस्तोला, गण्डकी पुत्र, पशुपति लुइँटेल, दुर्गा घिमिरे, भरत गुरागाइँ, प्रयाग न्यौपाने, मनोज निरौला, ओम निरौला, सुदिप कार्की, अनु श्रेष्ठ, निराशा ढुंगेल, सुनिता कट्टेल, सूरज माझी, प्रदिप सरदार लगायत झोराहाटबाटै चम्केका हुन्।

विराटनगरको राजवंशी चोकबाट ७ किमी दूरीमा छ झोराहाट नाटकघर। भाडामा लिएको जमिनमा समूहले नाटकघर बनाएको। त्यहाँ आधा दर्जन कलाकार आवासीय रूपमा बसेर साधना गर्छन्।   झोराहाट नाट्य समूह जस्ता संस्था आफ्नै बलबुतामा नाटकको उन्नयनमा समर्पित छन्। तर, उनीहरू आर्थिक समस्याको चपेटामा परेका छन्। उनीहरूको होस्टेमा स्थानीय ग्रामथान गाउँपालिका र प्रदेश सरकारले हैसे गर्नु पर्छ। प्रदेश नं १ मा मात्र होइन, सातै प्रदेशमा व्यवस्थित नाटकघर खोलिनु पर्छ।  

बाँच्नै गाह्रो
भरत गुरागाइँ
अध्यक्ष, झोराहाट नाट्य केन्द्र
हामी दुई किसिमले नाटक प्रदर्शन गर्दछौं, एउटा पब्लिक शो र अर्को स्टुडेन्ट शोका रूपमा। पब्लिक शोमा झोराहट र टाढाटाढाका दर्शक आउँछन्। स्टुडेन्ट शोचाहिँ स्कुल तथा कलेजहरूले बुक गर्छन्। हाम्रा नाटकलाई व्यापारिक प्रतिष्ठानहरूले विज्ञापनिक सहयोग नगर्ने हो भने हामी घाटामा जान्छौं। हलमा मञ्चन गरिने नाटकबाट कलाकारले जीवनयापन गर्न सक्ने अवस्था छैन। सडक नाटकको आम्दानीले भने हामीलाई भरथेग गर्छ। हाम्रो गाउँपालिकाले नाटक घरको महŒव बुझेको छैन। प्रदेश सरकारले चाहिँ सडक नाटकमा सहयोग गर्दै आएको छ।

प्रकाशित: २५ जेष्ठ २०७६ ०४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App