१ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

बालबालिकालाई व्यायाम किन ?

शरीरलाई जति चलायमान राख्यो त्यति शरीर बलियो र फुर्तिलो हुन्छ। जति आराम गरायो त्यति आलस्य हुन्छ। रोग र अरू समस्या आउँछन्। भाइबहिनी हो ! हामीले खाएको खानाले हाम्रो शरीर निर्माण गर्दछ भने नियमित व्यायामले शरीरलाई लचिलो, फुर्तिलो र बलियो बनाउँछ। ऊर्जा भरेर शरीरलाई पुनः जागृत गराउँछ। उदाहरणका लागि प्रकृतिमा रहेका सबै जीवजन्तुले जीवन निर्वाहका लागि केही न केही काम गर्नुपर्छ। चुप लागेर बसेमा उनीहरूले केही खान पाउँदैनन्। जस्तै मांसाहारी जनावरले मासु खान अरू जनावरको हत्या गर्न दौडिनु पर्छ। घाँस खाने जनावरले घाँस खान हिँड्नु पर्छ। शरीर चलायमान रहे अंगहरूको  व्यायाम हुन्छ। प्रकृतिले हामीलाई दुई हात परिश्रम गरेर खान र दुई खुट्टा हिँड्नलाई दिएका हुन्। जति परिश्रम ग¥यो र हिँड्यो उति शरीर बलियो हुन्छ।  

अचेल आधुनिक जीवनशैलीले गर्दा धेरैको हिँड्ने बानी छुटेको छ। बालबालिकाको त झन् विकसित प्रविधि– मोबाइल, ल्यापटप, कम्प्युटर, टिभी, इन्टरनेटका कारण दिनभर कोठामै बसेर समय बित्छ। बाहिरी खेलकुद, दौडधुप, हिँड्ने आदि काम हुँदैन। बाहिरी खेलकुदले शरीरको व्यायाम भई जाँगर बढ्ने, शरीर हलुका हुने हुन्छ। त्यसैले शरीरलाई बलियो र लचिलो बनाउन दैनिक २४ घण्टामा १ घण्टा शरीरका सम्पूर्ण जोर्नीहरूको कसरत हुने र शरीरबाट पसिना निस्कने खालका व्यायाम गर्नु पर्छ। यसरी व्यायाम गर्दा शरीरको लचकता बढ्छ, मांशपेशीहरू र हड्डीहरूको व्यायाम भई शरीर दरिलो र बलियो बनाउँछ।

बालबालिकालाशरीर फुर्तिलो बनाउन, सबै जोर्नीहरू बलियो र लचिलो बनाउन व्यायाम गरिन्छ। योगले शारीरिक व्यायामका साथै मनलाई शुद्धीकरण गर्न पनि सहयोग गर्छ। व्यायाम बिहान सबेरै गर्नुपर्छ। साँझ गर्न सकिन्छ तर खाना वा खाजा खाएको करिब ३देखि ४घण्टापछि मात्र गर्नुपर्छ। अर्को कुरा व्यायाम सकिनेबित्तिकै कुनै पनि खाना खानु हुँदैन। व्यायाम सकेको १ घण्टापछि मात्र खान सकिन्छ।

व्यायाम र बालबालिका
दैनिक व्यायामले बालबालिकालाई स्वस्थ र फूर्तिलो बनाउँछ। स्वस्थ भएपछि दिमाग तेजिलो हुन्छ र पढाइ लगायत अतिरिक्त क्रियाकलापमा जाँगर बढ्छ। बाल्यकाल र किशोरावस्था भनेको शरीर वृद्धि हुने र हड्डीको विकास हुने समय हो। यस्तो अवस्थामा व्यायाम गर्दा शरीर र हाडहरूको राम्रो विकास हुनुका साथै शरीर कसिलो र बलियो हुन्छ। रोग– प्रतिरोधात्मक क्षमता पनि बढ्छ। त्यसैले बच्चादेखि विद्यार्थीसम्मलाई अलिअलि गर्दै व्यायाम गराउनु पर्छ।  

सानैदेखि गरिने व्यायामले बालबालिकालाई स्वस्थ बनाई मोटोपन लगायत अरू समस्या आउन दिँदैन। व्यायामले रगत शुद्धीकरण गराउँछ। शरीरबाट पसिना निस्कासन गरेर छालालाई नरम र राम्रो बनाउँछ। बालबालिकामा उचाइ पनि बढाउँछ भने पाचनप्रणाली राम्रो हुन्छ। नियमित व्यायामले शारीरिक र मानसिक थकान, चिढ्चिढ्याहपन र आलस्यबाट मुक्त गराई जाँगरिलो र हँसिलो बनाउँछ। बौद्धिकता बढाउँछ।

व्यायाम कति गर्ने : बालकदेखि वृद्धसम्म सबैलाई व्यायाम आवश्यक पर्छ। तर व्यायाम कति गर्ने भन्ने कुरामा उमेर, स्वास्थ्यस्थिति, काम र परिश्रमको अवस्थामा भर पर्छ। धेरै परिश्रम पर्ने काम गर्नेले धेरै व्यायाम गर्नु पर्दैन। धेरै आराम गर्ने र टेबुलवर्क गर्नेले अनिवार्य व्यायाम गर्नु पर्छ। दुब्लो र पातलो व्यक्तिले पनि शरीरको अवस्था हेरेर व्यायाम गर्नु पर्छ। मोटा व्यक्तिहरूले शरीरको तौल घटाउने र रोग लागेका, दुखाइ भएका व्यक्तिहरूले त्यही हिसाबले व्यायाम गर्नु पर्छ। धेरै स्वास्थ्य समस्या भएकाले भने विज्ञसँग परामर्श लिएर मात्र गर्ने।

कुन समयमा गर्ने : व्यायाम सधैं बिहान सबेरै गर्नुपर्छ। उठ्नेबित्तिकै २ देखि ४ गिलास पानी पिएर दिसापिसाब गरेर खाली पेटमा गर्नुपर्छ। यदि बिहान व्यायाम गर्न नसकेमा साँझ पनि गर्न सकिन्छ तर पेट खाली अवस्थामै हुनुपर्छ। साँझ खाना वा खाजा खाएको करिब ३ देखि ४ घण्टापछि मात्र गर्नुपर्छ। खानेबित्तिकै वा पेट भरिएका बेला व्यायाम गर्दा पेटमा असर पर्छ, पाचनक्रियामा असर पर्छ  र व्यायामले जे लाभ हुनु पर्ने हो त्यो हुँदैन।

बालबालिकाले भने दिनको ३० देखि ६० मिनेट शरीरका सबै जोर्नीहरूलाई लचिलो गराउने व्यायाम गर्नु पर्छ। व्यायाम सकिनेबित्तिकै कुनै पनि खाना खानु हुँदैन। व्यायाम सकेको करिब १ घण्टापछि मात्र खान सकिन्छ।

कस्तो व्यायाम गर्ने : शरीरका सम्पूर्ण जोर्नीहरूको कसरत हुने खालका व्यायाम गर्नु पर्छ। जस्तै, मार्निङवाक, दौडिने, खेल्ने, कुद्ने, ब्याटमिन्टन खेल्ने, पौडी खेल्ने, नाच्ने, जिम गर्ने, साइकलिङ गर्ने लगायत व्यायाम गर्न सकिन्छ। तर एकैचाटि भारी व्यायाम गर्नु हँुदैन। यसले जीउमा आलस्य बढाउँछ। अहिले हाम्रो भारी खानेकुरा खाने र खाना पचाउन भारी व्यायाम गर्ने चलन छ। मोटोपन घटाउन र सुन्दर देखिन व्यायाम गरिन्छ। यसरी भारी व्यायाम गर्दा केही हदसम्म मोटोपन घट्छ तर भारी व्यायामले शरीर र मनलाई नराम्रो गर्छ। त्यसैले ठिक खानेकुरा खाई ठिक व्यायाम गरे मात्र शरीर बलियो हुन्छ।

शरीर बलियो बनाउन मात्र होइन, मनलाई बलियो र शान्त राख्न  पनि व्यायाम गर्नु पर्छ। तर हाल व्यायाम आसन मात्र गर्ने गरिएको छ। वास्तवमा योगले शारीरिक व्यायामका साथै मनलाई शुद्धीकरण गर्न पनि सहयोग गर्छ।

योग के हो ?
धेरैले व्यायाम र आसनलाई मात्र योग भनेर बुझ्ने गरेको पाइन्छ। शारीरिक व्यायामका साथै मनको व्यायाम गर्नुलाई योग भनिन्छ। शरीरको लचकता बढाउन गरिने व्यायामलाई योग व्यायाम आसन भनिन्छ भने मनको लचकता बढाउन गरिने ध्यान तथा प्राणायामलाई योग–अनुशासन। व्यायाम र आसन मात्र गर्दा शरीरको लचकता बढ्छ। शरीर बलियो हुन्छ। योग अनुशासन, ध्यान र प्राणायाम गर्दा मनको चंचलता हटाई मनलाई शान्त र स्थिर बनाउँछ। त्यसैले बालबालिकालाई पनि योग–व्यायामका साथै योग अनुशासन गराउनु आवश्यक छ।

योग अनुशासनमा आठ अंगहरू छन्– यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारण, ध्यान र समाधि। यी मध्ये यम र नियम ५– ५ अंग पर्छन्। अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य र अपरिग्रह त्यसैगरी नियमामा शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्राणीधान। यी यम र नियमका अनुुशासन मात्र सदा जीवनमा लागु गरेमा लोभ, मोह, ईष्र्या, रिस र तनावबाट मुक्त भई मनलाई शान्त र स्थिर बनाउँछ।

जुन योग गर्दा पनि हुन्छ। तर योग तथा ध्यान कति र कति पटक गर्ने भन्ने कुरालाई प्रकृतिप्रेमी समूह, निरोगधामले सजिलो रूपमा एक घण्टे योग सेट ल्याएको छ। यो सेटमा शरीरका सबै अंगहरूलाई चाहिने व्यायाम समेटिएको छ। यसमा वार्मअपदेखि लिएर सूर्य नमस्कार, सुतेर गर्ने आसन, उठेर गर्ने आसन आदि समेटिएको छ। सधैं मनलाई एकाग्र बनाउने सरल प्राणायाम ध्यान समेटिएको छ।

मन स्थिर राख्न प्राणायाम ः  सरल प्राणायाम गर्दा सजिलो  आसनमा बस्ने। सुखासन, ब्रासन, पद्मासन आदिमा। बस्दा मेरुदण्ड, टाउको सिधा राख्ने। आँखा र मुख बन्द गर्ने। बिस्तारै गहिरो श्वास तान्ने १ र बिस्तारै छोड्ने २ गर्दै श्वास गन्ने। श्वास तान्दा छातीमा अप्ठेरो नहुने गरी तान्ने र छोड्दा टाउकोलाई गाह्रो नहुने गरी लामो छोड्ने। सकीनसकी लामो तान्न खोज्दा छातीमा अप्ठेरो हुन्छ भने छोड्दा टाउकोमा। बिस्तारै नियमित गर्दै जाँदा श्वास लामो हुदै जान्छ। जति लामो र गहिरो श्वास हुन्छ त्यतिकै

स्वच्छ अक्सिजन सम्पूर्ण शरीरमा पुग्छ र रगत सफा हुन्छ। तनावबाट मुक्त हुन्छ। यो ध्यान दिनको कम्तीमा ५ देखि १० मिनेट गर्दा मन शान्त हुन्छ। श्वास छोटोछोटो भएमा मन चंचल हुन्छ। हाम्रो मुटुको धड्कन ६० देखि ८० सम्म हुनु पर्छ। ६० हुनु स्वास्थ्य ठिक हुनु हो। सरल प्राणायाम ध्यानले श्वासलाई लामो गर्ने र श्वासलाई ठिक लाइनमा ल्याउन सहयोग गर्छ। यसरी प्राणायाम गर्दा बच्चामा रिस कम हुने, पढाइमा ध्यान केन्द्रित हुने र शान्त हुने हुन्छ। यो जुनसुकै बेला पनि गर्न सकिन्छ। निद्रा नलाग्दा, मनमा धेरै कुरा खेल्दा र थकान हुँदा पनि गर्न सकिन्छ। तर खाना खानेबित्तिकै भने गर्नु हँुदैन।  

सामान्यतः ७ वर्ष उमेरदेखि माथिका बालबालिकाले योग–व्यायाम गर्न सक्छन्। सानाहरूलाई खेलाएर बिस्तारैबिस्तारै व्यायाम गराउनु पर्छ। भाइबहिनी हो, हामीले व्यायामका साथै योग अनुुशासनलाई पनि दैनिक जीवनमा लागु गर्नु पर्छ। शरीरको  लचकतासँगै मनको लचकता जोडिएको हुन्छ। त्यसैले हरेक कुरामा अनुशासित हुनु पर्छ। खाने, बस्ने, उठ्ने, पढ्ने, सुत्ने सबै कुरामा अनुशासित हुनु पर्छ। साना भन्दा सानो चीजमा अनुशासित हुने, जुन बेला जे गर्नु पर्छ त्यो गर्ने, कुनै कुरामा नआत्तिने र जुनसुकै परिस्थितिमा पनि धैर्य हुने गर्नु पर्छ। योगले यही ज्ञान दिन्छ।

त्यसैले शरीरको व्यायामसँगै मनको पनि व्यायाम गरौं। अभिभावकले पनि दिनको १ घण्टा आफ्नोे स्वास्थ्य हेरेर व्यायाम गरौं र आफ्ना बालबालिकालाई पनि व्यायाम गराऔं। त्यसैले योग गरौं, योग अनुशासन पालना गरौं, स्वस्थ रहौं। स्वस्थ रहन व्यायामका साथै खानपान पनि उचित हुनु पर्छ। उचित आहार, विहार र विचारबाट मात्रै निरोगी र आनन्दित रहन सकिन्छ।   ख्याल गरौं : रोग लागेका, ढाड तथा कम्मरमा नसा च्यापिएका, घुँडा दुख्ने वा सुन्निने, प्रेसरसुगर भएकाहरूले व्यायाम गर्दा ध्यान दिएर गर्नु पर्छ। अर्को कुरा महिलाहरूले महिनावारी हुँदा भारी व्यायाम गर्नु हुँदैन। (महर्जन योग प्रशिक्षक हुन्।)

प्रकाशित: २५ जेष्ठ २०७६ ०२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App